स्वास्थ्य, अनुशासन र खेलकुद संस्कृतिको विकास गर्ने उद्देश्यसहित चेल्सी वर्ल्ड स्कुलको विशेष आयोजना
काठमाडौं। चेल्सी वर्ल्ड स्कुलको आयोजनामा आगामी मंसिर १८ गते शुक्रबार ६औँ चेल्सी रोड रेस–२०८३ आयोजना हुने भएको छ।
विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्ने, शारीरिक तथा मानसिक स्वास्थ्यप्रति सचेतना फैलाउने र दौड संस्कृतिको विकास गर्ने मुख्य उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो।
‘Run Today, Inspire Tomorrow’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस प्रतियोगिताले विद्यार्थीहरूमा अनुशासन, आत्मविश्वास, सहनशीलता, नेतृत्व क्षमता र सकारात्मक प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने विश्वास आयोजकले लिएको छ।
प्रतियोगितामा काठमाडौं उपत्यकाका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। यस कार्यक्रममार्फत विद्यार्थीहरूलाई पढाइसँगै शारीरिक तन्दुरुस्ती, स्वस्थ जीवनशैली र खेलकुदको महत्त्वबारे व्यावहारिक ज्ञान प्रदान गर्ने लक्ष्य राखिएको छ।
कार्यक्रमको तालिकाअनुसार सहभागी धावकहरूको रिपोर्टिङ बिहान ६:०० बजे हुनेछ। दौड सुरु हुनुअघि सहभागीहरूलाई शारीरिक रूपमा तयार पार्न ३० मिनेटको जुम्बा तथा वार्मअप सेसन सञ्चालन गरिनेछ। प्रतियोगिताको औपचारिक दौड बिहान ७:१५ बजे सुरु हुनेछ भने समापन तथा पुरस्कार वितरण समारोह बिहान ८:४५ बजे सुरु हुने कार्यक्रम तय गरिएको छ।
प्रतियोगितालाई व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन आयोजकले आवश्यक रुट व्यवस्थापन, स्वयंसेवक परिचालन, धावकहरूको एस्कर्टिङ, हाइड्रेसन पोइन्ट, प्राथमिक उपचार तथा सुरक्षा व्यवस्थापनको तयारी गरिरहेको छ।
चेल्सी रोड रेस केवल एउटा दौड प्रतियोगिता मात्र नभई विद्यार्थीहरूलाई स्वस्थ जीवनशैली अपनाउन, नियमित व्यायाम गर्न र खेलकुदलाई आफ्नो दैनिक जीवनको अभिन्न हिस्सा बनाउन प्रेरित गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको एक महत्त्वपूर्ण खेलकुद अभियान हो।
चेल्सी वर्ल्ड स्कुलले यस प्रतियोगितालाई सफल बनाउन सहभागी विद्यालयका प्रधानाध्यापक, विद्यालय संयोजक, शिक्षक, प्रशिक्षक, विद्यार्थी, अभिभावक, खेलकुदप्रेमी, विभिन्न संघसंस्था तथा सम्बन्धित सरोकारवालाहरूलाई सक्रिय सहभागिता र सहयोगका लागि हार्दिक अनुरोध गरेको छ।
आयोजकका अनुसार यस्ता खेलकुद गतिविधिले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा योगदान पुर्याउनुका साथै विद्यालयहरूबीच आपसी सम्बन्ध, सहकार्य र खेलभावनालाई समेत थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
आयोजक: चेल्सी वर्ल्ड स्कुल











