मेलबर्न — अस्ट्रेलियाको भिक्टोरिया राज्यमा आज, शनिबार नोभेम्बर २८ मा राज्य निर्वाचन हुँदैछ। राजधानी मेलबर्नसहित राज्यभर बिहान ८ बजेदेखि मतदान सुरु भएको छ। मतदान केन्द्रहरू साँझ ६ बजेसम्म खुला रहनेछन्।
निर्वाचनमा सत्तारुढ लेबर पार्टी, विपक्षी लिबरल–नेसनल गठबन्धन र वान नेसन पार्टीबीच मुख्य प्रतिस्पर्धा देखिएको छ। पछिल्लो मत सर्वेक्षणले १२ वर्षदेखि शासन गर्दै आएको लेबर सरकार पराजित हुने र लिबरल नेतृत्वको गठबन्धनले सरकार बनाउने सम्भावना बलियो देखाएको छ।
निर्वाचनअघि नै २२ लाखभन्दा बढी मतदाताले अग्रिम मतदान, हुलाक तथा अन्य माध्यमबाट मतदान गरिसकेको जनाइएको छ। आज मतदान केन्द्रहरूमा मतदाताको उपस्थिति बढ्दै गएको छ।
लिबरल पार्टीकी नेता जेस विल्सन मुख्यमन्त्री पदकी प्रमुख दाबेदारका रूपमा देखिएकी छन्। अपराध नियन्त्रण, रोजगारी सिर्जना, सडक तथा पूर्वाधार विकास र राज्यको आर्थिक व्यवस्थापन उनका प्रमुख चुनावी एजेन्डा रहेका छन्। सर्वेक्षणहरूमा विल्सनले लेबरका नेता बेन क्यारोलभन्दा अग्रता कायम गरेको देखिएको छ।
यता, वान नेसन पार्टीको समर्थन पनि बढ्दै गएको छ। पार्टीले यस निर्वाचनमा उल्लेख्य मत प्राप्त गर्ने तथा केही निर्वाचन क्षेत्रमा जित हासिल गर्न सक्ने अनुमान गरिएको छ। वान नेसनको बढ्दो प्रभावले चुनावी परिणाम र सरकार गठनको समीकरणमा समेत असर पार्न सक्ने विश्लेषण गरिएको छ।
मतदान सकिएपछि साँझ ६ बजेबाट मतगणना सुरु हुनेछ। प्रारम्भिक परिणाम आजै राति सार्वजनिक हुने अपेक्षा गरिएको भए पनि केही निर्वाचन क्षेत्रको अन्तिम परिणाम आउन भने समय लाग्न सक्नेछ। यस निर्वाचनले भिक्टोरियामा आगामी चार वर्षका लागि राज्य सरकारको नेतृत्व तय गर्नेछ।











