शुक्रबार , मंग्सिर १२, २०८३

पोखरा । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको गण्डकी प्रदेश अधिवेशनमा पदाधिकारी चयनको विषयलाई लिएर विवाद र अन्योल देखिएको छ। सभापति पदमा मेषलाल श्रेष्ठ सर्वसम्मत चयन भए पनि उपसभापति, महामन्त्री र सहमहामन्त्रीलगायतका पदमा आकांक्षी धेरै भएपछि कार्यसमिति गठन प्रक्रिया लम्बिएको हो।

शनिबार देउवाले उद्घाटन गरेको अधिवेशनमा निर्वाचन प्रक्रियामा प्रवेश नै नगरी सभापति र महामन्त्रीको नाम घोषणा गरिएपछि विवाद सुरु भएको थियो। निर्वाचन संयोजक वीरेन्द्र केसीले सभापतिमा मेषलाल श्रेष्ठ र महामन्त्रीमा पोषराज शर्माको नाम घोषणा गरेका थिए। तर, निर्वाचन प्रक्रिया पूरा नगरी गरिएको घोषणाको नेता तथा कार्यकर्ताले विरोध गरेपछि उक्त निर्णय फिर्ता लिनुपरेको थियो।

त्यसपछि आइतबारदेखि नयाँ प्रक्रियाबाट निर्वाचन अघि बढाइएको थियो। देउवा समूहका नेता तथा गण्डकी प्रदेश सरकारका अर्थमन्त्री जीतबहादुर शेरचनले सभापतिमा मेषलालसहित सदस्यहरूको नाम घोषणा गरेका थिए। सभापतिमा मेषलालको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत चयन भएका हुन्।

महामन्त्रीमा तीन जनाको दाबेदारी

महामन्त्रीका लागि दुई खुला पदमा तीन जनाले दाबेदारी प्रस्तुत गरेका छन्। कास्कीका पोषनाथ शर्मा, लमजुङका थिरबाबु खाती परियार र पर्वतका मोहन गुरुङ आकांक्षी छन्।

आकांक्षीहरूको व्यवस्थापन गर्न गण्डकी प्रदेशमा चार जना महामन्त्री रहने व्यवस्था गरिएको छ। दुई जना खुला, एक जना समावेशी र एक जना मनोनीत हुनेछन्।

त्यस्तै, पाँच जना सहमहामन्त्री रहने व्यवस्था गरिएको छ। दुई जना खुला, एक जना महिला र दुई जना मनोनीत हुनेछन्। एक जना कोषाध्यक्षसहित कुल १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था मिलाइएको छ।

सबै जिल्लाको प्रतिनिधित्व सुनिश्चित गर्दै नेताहरूको आकांक्षा व्यवस्थापन गर्न पदाधिकारीको संख्या र संरचना निर्धारण गरिएको नवनिर्वाचित सभापति मेषलाल श्रेष्ठले बताए।

उनका अनुसार मनाङ र मुस्ताङबाहेक अन्य सबै जिल्लालाई पदाधिकारीमा समेट्ने प्रयास भइरहेको छ। एउटै जिल्लाबाट धेरै आकांक्षी देखिए सम्बन्धित जिल्लाकै नेताहरूबीच सहमति खोजिने उनले बताए।

उपसभापतिमा ११ र सहमहामन्त्रीमा १२ आकांक्षी

पदाधिकारी चयनमा सबैभन्दा बढी सकस उपसभापति र सहमहामन्त्री पदमा देखिएको छ। चार पद रहेको उपसभापतिका लागि ११ जनाले उम्मेदवारी दिएका छन्।

उपसभापतिका आकांक्षीमा गंगाधर पराजुली, आशिक गुरुङ, उमाकुमारी ठकुरी, राजुराज अधिकारी, नरेश कँडेल, ज्ञानेन्द्र गौतम, विष्णुप्रसाद धिताल, राजकुमार पाण्डे, सञ्जय सिलवाल, राजेन्द्रप्रकाश घिमिरे र चिजा श्रेष्ठ छन्।

त्यस्तै, निर्वाचित हुने तीन खुला सहमहामन्त्री पदका लागि १२ जनाको उम्मेदवारी परेको छ। उम्मेदवारी दिनेमा लोकबहादुर मल्ल, दिवशबाबु भट्ट, महेन्द्र श्रेष्ठ, भक्तबहादुर श्रेष्ठ, इन्द्रप्रसाद पौडेल, उमेश गौतम, नवीन गौतम, राजु पाण्डे, नारायणप्रसाद पन्त, सतिश न्यौपाने, बाबुराम बस्ताकोटी र प्रकाश न्यौपाने छन्।

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि निर्वाचन प्रक्रियामा जानुपरेको उपसभापतिका आकांक्षी गंगाधर पराजुलीले बताए। आफू महामन्त्रीमा उम्मेदवारी दिने सोचमा रहे पनि नेताहरूको आग्रहपछि उपसभापतिमा उम्मेदवारी दिएको उनको भनाइ छ।

सभापतिमा प्रतिस्पर्धाको प्रयास, तर मनोनयन भएन

गण्डकी प्रदेश सभापतिमा मेषलाल श्रेष्ठसँग पर्वतका विश्व प्रसाइँले प्रतिस्पर्धा गर्ने इच्छा देखाएका थिए। तर, उनले औपचारिक रूपमा मनोनयन दर्ता नगरेको निर्वाचन समितिले जनाएको छ।

अधिवेशन उद्घाटनकै दिन निर्वाचन तालिका सार्वजनिक नगरी तथा उम्मेदवारी दर्ताका लागि आवश्यक फारामसमेत उपलब्ध नगराई नाम घोषणा गरिएको भन्दै विवाद उत्पन्न भएको थियो।

उक्त घोषणाको गण्डकी प्रदेशका मन्त्री तथा बागलुङ कांग्रेसका पूर्वसभापति जीत शेरचन, प्रदेश सांसद दीपेन्द्र थापामगरलगायतले विरोध गरेका थिए। विवाद चर्किएपछि निर्वाचन संयोजक केसीसहित केही नेता कार्यक्रमस्थलबाट बाहिरिएका थिए।

कांग्रेस केन्द्रीय सदस्य किरणराज शर्मा पौडेलले निर्वाचन समितिको निर्णय फिर्ता लिएर आइतबार बिहानदेखि शून्य अवस्थाबाट निर्वाचन प्रक्रिया सुरु गर्न निर्देशन दिएपछि प्रक्रिया अघि बढेको थियो।

देउवा समूहको गण्डकी कार्यसमिति १०० सदस्यीय

गण्डकी प्रदेश सभापतिमा निर्वाचित मेषलाल श्रेष्ठ यसअघि शुक्रराज शर्मा नेतृत्वको कार्यसमितिमा उपसभापति थिए। उनी स्याङ्जाका नेता गोपालमान श्रेष्ठनिकट मानिन्छन्।

कांग्रेस विभाजनपछि मेषलालसहित केही पदाधिकारी र सदस्य गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसमा लागेका छन्। देउवा समूहले भने गण्डकी प्रदेशको ६७ सदस्यीय कार्यसमितिलाई विस्तार गरी १०० सदस्यीय बनाएको छ।

पदाधिकारी तथा सदस्यमा सबै जिल्लाको प्रतिनिधित्व गराउने र आकांक्षी नेताहरूलाई समेट्ने प्रयास भइरहे पनि सहमति जुट्न नसक्दा देउवा समूहलाई गण्डकी प्रदेशमा नेतृत्व व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जनसम्पर्क समिति नर्दन टेरिटोरीको देउसी–भैलो कार्यक्रम सम्पन्न

१

नेपालदेखि अस्ट्रेलियासम्मको यात्रा: साज र विनको Unique Auto Tech राष्ट्रिय अवार्डमा फाइनलिस्ट

२

एनटीमा Aged Care सेवा कमजोर बन्दै, संघीय सांसद ल्यूक गोस्लिङले थप लगानीको प्रतिबद्धता जनाए

३

गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ टिम, १९ पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर

४

डार्विनमा दोस्रो ग्रेस दशैं कप: १५ पुरुष टोलीसहित १७ टोली मैदानमा, विजेताले ३ हजार डलर पाउन

५

डार्विनमा ANJA को सामुदायिक परामर्श तथा दसैँ शुभकामना कार्यक्रम सम्पन्न, सहयोगी संस्था र स्वयंसेवकलाई धन्यवाद

६


TOP