शुक्रबार , मंग्सिर १२, २०८३

डार्विन, अष्ट्रेलिया | ७ नोभेम्बर २०२६

नर्दन टेरिटोरीमा नेपाली समुदायको प्रतिनिधित्व गर्दै आएको संस्था नेपाली एसोसिएसन अफ नर्दन टेरिटोरी (NANT) को आज आयोजना गरिएको वार्षिक साधारणसभा (AGM) आवश्यक गणपूरक संख्या (Quorum) नपुगेपछि स्थगित भएको छ।

संस्थाको विधानअनुसार वार्षिक साधारणसभा सञ्चालन गर्न कम्तीमा २५ जना सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ। तर आज आयोजित सभामा जम्मा २३ जना सदस्य मात्र उपस्थित भएपछि आवश्यक गणपूरक संख्या नपुगेको कारण बैठक अगाडि बढ्न नसकेको हो। आवश्यक संख्याभन्दा दुई जना कम सदस्य उपस्थित भएका कारण सभा स्थगित गरिएको हो।

NANT को आधिकारिक वेबसाइटमा उपलब्ध सदस्य विवरणअनुसार संस्थामा कुल ७८८ जना सदस्य रहेका छन्। कुल सदस्य संख्याको तुलनामा आजको साधारणसभामा २३ जनाको मात्र उपस्थिति देखिएको छ।

सन् २००७ मा नेपाली समुदायका सदस्यहरूको सामूहिक पहलमा स्थापना भएको NANT सन् २००८ मा संस्थाका रूपमा दर्ता भएको थियो। त्यसपछि ११ मार्च २०१० मा Northern Territory को Association Act अन्तर्गत औपचारिक रूपमा Incorporated Association का रूपमा मान्यता प्राप्त गरेको संस्थाको वेबसाइटमा उल्लेख छ।

नेपाली समुदायको भाषा, संस्कृति, कला तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्नुका साथै सामाजिक एकता कायम गर्ने उद्देश्यले संस्थाले विभिन्न सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगिता तथा समुदाय केन्द्रित गतिविधिहरू सञ्चालन गर्दै आएको छ। संस्थाले २०० भन्दा बढी स्वयंसेवकको सहयोगमा आफ्ना गतिविधिहरू सञ्चालन गर्दै आएको पनि जनाएको छ।

वार्षिक साधारणसभा संस्थाको विगत वर्षको गतिविधि, आर्थिक प्रतिवेदन, आगामी कार्ययोजना तथा संस्थागत निर्णयहरूबारे छलफल गर्ने महत्त्वपूर्ण अवसर हो। साथै विधानअनुसार आवश्यक प्रक्रियामार्फत संस्थाको नेतृत्व तथा व्यवस्थापनसम्बन्धी विषयहरूमा समेत छलफल हुने गर्दछ।

आजको सभा स्थगित भएपछि पुनः अर्को मिति तोकेर साधारणसभा आयोजना गरिने अपेक्षा गरिएको छ। यद्यपि पुनः बैठक बस्ने मिति र समयबारे संस्थाबाट औपचारिक जानकारी आउन बाँकी छ।

७८८ सदस्य रहेको संस्थाको वार्षिक साधारणसभामा आवश्यक न्यूनतम उपस्थिति समेत नपुग्नुले सदस्यहरूको सहभागिता र संस्थागत गतिविधिमा सक्रिय संलग्नताको विषयलाई पुनः चर्चामा ल्याएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जनसम्पर्क समिति नर्दन टेरिटोरीको देउसी–भैलो कार्यक्रम सम्पन्न

१

नेपालदेखि अस्ट्रेलियासम्मको यात्रा: साज र विनको Unique Auto Tech राष्ट्रिय अवार्डमा फाइनलिस्ट

२

एनटीमा Aged Care सेवा कमजोर बन्दै, संघीय सांसद ल्यूक गोस्लिङले थप लगानीको प्रतिबद्धता जनाए

३

गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ टिम, १९ पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर

४

डार्विनमा दोस्रो ग्रेस दशैं कप: १५ पुरुष टोलीसहित १७ टोली मैदानमा, विजेताले ३ हजार डलर पाउन

५

डार्विनमा ANJA को सामुदायिक परामर्श तथा दसैँ शुभकामना कार्यक्रम सम्पन्न, सहयोगी संस्था र स्वयंसेवकलाई धन्यवाद

६


TOP