शनिबार , मंग्सिर १३, २०८३

पुखाखबर अस्ट्रेलिया

अष्ट्रेलियामा भिसा आवेदन दिने आप्रवासी तथा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि आर्थिक भार थपिएको छ। सरकारले अधिकांश भिसाको आवेदन शुल्कमा २५ प्रतिशत वृद्धि गरेपछि आज, नोभेम्बर २८ देखि अस्ट्रेलियाभित्रै बसेर आवेदन दिने केही निश्चित भिसाका आवेदकले सामान्य शुल्कबाहेक थप १,५०० अस्ट्रेलियन डलर तिर्नुपर्ने नयाँ व्यवस्था लागू गरेको छ।

सरकारले Migration Amendment (Onshore Application Charge and Other Measures) Regulations 2026 मार्फत नयाँ शुल्क व्यवस्था लागू गरेको हो। नयाँ नियमअनुसार अस्ट्रेलियाभित्र रहेर तोकिएका भिसाका लागि आवेदन दिने व्यक्तिले पहिलो किस्ताको भिसा आवेदन शुल्कमा थप १,५०० डलर बुझाउनुपर्नेछ। यो शुल्क आजदेखि आवेदन दिनेहरूमा लागू हुनेछ। यसअघि आवेदन बुझाइसकेका व्यक्तिलाई भने नयाँ शुल्क लागू हुने छैन।

नयाँ शुल्कले विशेषगरी टेम्पोररी ग्राजुएट भिसा (सबक्लास ४८५), विद्यार्थी भिसा (सबक्लास ५००), विद्यार्थी अभिभावक भिसा (सबक्लास ५९०), अस्ट्रेलियाभित्र आवेदन दिइने पार्टनर भिसा (सबक्लास ८२०/८०१) लगायत केही पारिवारिक तथा अभिभावक भिसाका आवेदकलाई प्रभावित पार्नेछ।

नयाँ व्यवस्थाअनुसार अस्ट्रेलियामा आवेदन दिँदा ४८५ भिसाको मुख्य आवेदकले अब सामान्य शुल्क ५,७५० डलरमा थप १,५०० डलर जोडेर कुल ७,२५० डलर तिर्नुपर्नेछ। विद्यार्थी भिसा (५००) को सामान्य शुल्क २,५०० डलर रहेकामा नयाँ शुल्कसहित कुल ४,००० डलर पुग्नेछ। त्यस्तै, अस्ट्रेलियाभित्र आवेदन दिइने पार्टनर भिसाको शुल्क ११,७१० डलरबाट बढेर १३,२१० डलर पुग्नेछ।

नयाँ १,५०० डलर शुल्क मुख्य आवेदकमा मात्रै सीमित नभई नियमले समेटेका आवेदनमा समावेश अन्य आवेदक तथा परिवारका सदस्यमा पनि लागू हुन सक्नेछ। आवेदन दिँदाको अवस्थामा आवेदक वा मुख्य आवेदक अस्ट्रेलियामा रहेको अवस्थालाई आधार बनाइएको छ।

यसअघि पनि अस्ट्रेलिया सरकारले जुलाई १, २०२६ देखि अधिकांश भिसाको आवेदन शुल्कमा २५ प्रतिशत वृद्धि गरेको थियो। विद्यार्थी भिसाको शुल्क २,००० डलरबाट २,५०० डलर पुगेको थियो भने टेम्पोररी ग्राजुएट भिसा (४८५) को शुल्क पनि उल्लेखनीय रूपमा बढाइएको थियो। लगातारको शुल्क वृद्धिले अस्ट्रेलियामा अध्ययन, रोजगारी र स्थायी बसोबासको योजना बनाइरहेका आप्रवासी तथा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप आर्थिक दबाब पर्ने देखिएको छ।

सरकारले नयाँ शुल्क व्यवस्थालाई माइग्रेसन प्रणाली सुधार तथा आवेदन प्रक्रियासँग सम्बन्धित नीतिगत परिवर्तनको हिस्साका रूपमा अघि बढाएको छ। यद्यपि, बढ्दो भिसा शुल्कले अस्ट्रेलियालाई अध्ययन तथा रोजगारीका लागि रोज्ने विदेशी विद्यार्थी र दक्ष कामदारको आकर्षणमा असर पार्न सक्ने भन्दै शिक्षा तथा आप्रवासी क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले चिन्ता व्यक्त गर्दै आएका छन्।

भिसाको प्रकार, आवेदनको अवस्था, नागरिकता तथा अन्य छुटका प्रावधानअनुसार शुल्क फरक हुन सक्ने भएकाले आवेदन दिनुअघि अस्ट्रेलियाको गृह मन्त्रालयको आधिकारिक शुल्क विवरण जाँच गर्न आवेदकलाई आग्रह गरिएको छ।

आधिकारिक जानकारी: https://immi.homeaffairs.gov.au/visas/getting-a-visa/fees-and-charges/current-visa-pricing

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जनसम्पर्क समिति नर्दन टेरिटोरीको देउसी–भैलो कार्यक्रम सम्पन्न

१

नेपालदेखि अस्ट्रेलियासम्मको यात्रा: साज र विनको Unique Auto Tech राष्ट्रिय अवार्डमा फाइनलिस्ट

२

एनटीमा Aged Care सेवा कमजोर बन्दै, संघीय सांसद ल्यूक गोस्लिङले थप लगानीको प्रतिबद्धता जनाए

३

गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ टिम, १९ पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर

४

डार्विनमा ANJA को सामुदायिक परामर्श तथा दसैँ शुभकामना कार्यक्रम सम्पन्न, सहयोगी संस्था र स्वयंसेवकलाई धन्यवाद

५

चाडपर्व र बाढीपहिरोको असर हेरी इन्धनको मूल्य यथावत्, निगमलाई १५ दिनमा ३ अर्ब २० करोडभन्दा बढी घाटा

६


TOP