मंगलबार , असार १६, २०८३

युरोपको भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले प्रवासी नेपालीहरू स्वदेश फर्कँदा विमानस्थलमा रातो कार्पेट बिच्छाएर स्वागत गर्नुपर्ने बताएका छन्। नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलद्वारा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले प्रवासी नेपालीबाट मुलुकले ठूलो अपेक्षा राखेको बताए।

खाडी मुलुकलगायत संसारभरि रहेका नेपालीहरूले पठाएको रकम (रेमिटेन्स) बाट मुलुकको अर्थतन्त्र चलिरहेको तर तिनै प्रवासी नेपालीलाई एयरपोर्ट देखि नै दुःख दिने गरिएको उनले बताए। ‘विदेशमा रहेका नेपालीले हरेक महिना एक खर्ब रुपैयाँभन्दा बढी नेपाल पठाई रहनु भएको छ । त्यसैले मुलुक धानेको छ । तर, त्यसअनुसार उहाँहरूले सम्मान पाउन सक्नुभएको छैन,’– उनले भने ।

साथै, मुलुकमा छिटोभन्दा छिटो आर्थिक परिवर्तन गर्न र बिदेशिएका नेपालीलाई नेपाल फर्काउन पनि नीति र नेतृत्वमा व्यापक परिवर्तन आवश्यक रहेको उनको भनाइ छ । आफू खाडी राष्ट्र, अमेरिका, बेलायत हुँदै युरोपेली मुलुकहरूको भ्रमणमा आइ पुगेको जानकारी गराउँदै घिसिङले जबसम्म नेपाल समृद्ध हुँदैन तबसम्म कसैको पनि इज्जत नबढ्ने बताए।

चिलिमे जलविद्युत आयोजनाको प्रमुख भएर काम गरेको अनुभव साझा गर्दै घिसिङले भने, ‘चिलिमेबाट मलाई सरुवा गरिए पछि स्थानीय जनताले एक महिनासम्म आन्दोलन गर्नु भयो, एक हप्तासम्म त सडक नै बन्द गर्नुभयो। त्यसैले जनताको माया कस्तो हुन्छ भन्ने मैले त्यसै बेला थाहा पाएको हुँ ।’

जनतालाई केन्द्रमा राखेर सामाजिक(आर्थिक रूपान्तरणको लागि काम गर्नुपर्ने उनले बताए। ‘आम जनतालाई सहुलियत दिन विद्युत् महसुल २५ प्रतिशत घटाउँदा पनि प्राधिकरणले अहिले वार्षिक १२÷१५ अर्ब रुपैयाँ नाफा गरिरहेको छ,’– उनले भने, ‘१० वर्षसम्म लोडशेडिङ अन्त्य हुँदैन भनेर हाम्रै एक्स्पर्टहरुले भनेका थिए । तर, अहिले भारत र बङ्गलादेशलाई विद्युत् निर्यात गरिरहेका छौँ। सात हजार मेगावाटका परियोजना निर्माणाधीन छन्,’– उनले भने ।

घिसिङले ५० हजार मेगावाट विद्युत् उत्पादन गर्ने हो भने नेपालले विद्युत् बिक्री गरेर बर्सेनी ३० देखि ४० खर्ब रुपैयाँ आम्दानी गर्न सक्ने बताए । ‘२५ देखि ३० वर्षभित्र ती सबै आयोजना सरकारको स्वामित्वमा आउँछन् । विद्युतबाट प्राप्त आम्दानी शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकासमा खर्च गर्न सकिन्छ,’– उनले भने ।

‘विद्युत् मात्रै हेरेर हुँदैन, नेपालमा सबै क्षेत्र उज्यालो बनाउनुपर्छ’ भन्दै आफूले उज्यालो नेपाल अभियान सुरु गरेको उनले बताए। ‘नेपालमा सही समयमा सही व्यक्ति सही ठाउँमा हुँदैन । त्यसले समस्या आउँछ। राजनीतिमा पनि, हरेक क्षेत्रमा यो लागू हुन्छ,’– उनले भने ।

नेपालको संविधानले दिएको र सर्वोच्च अदालतले दिएको आदेश अनुसार विदेशमा बस्ने नेपालीहरूलाई विदेशमै बसेर पनि भोट हाल्न दिनु पर्ने उनले बताए। त्यस्तै एनआरएन नागरिकता अहिले प्रयोगविहीन अवस्थामा रहेको गुनासो आएको भन्दै जति सक्दो चाँडो कानुन बनाएर एनआरएन नागरिकता कार्यान्वयन गर्नु पर्नेमा उनले जोड दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP