मंगलबार , बैसाख २९, २०८३

विगतमा गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन भनिने मिलन गुरुङलाई प्रहरीले गएराति महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेको छ ।

बाँसबारी रोडमा रहेको होटल साम्बालामा पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति उनलाई पक्राउ गरेको हो ।

काठमाडौं प्रहरीका प्रवक्ता एसपी कुलदिप चन्दले राति गुण्डागर्दी पृष्ठभूमिका केही व्यक्तिहरु पक्राउ परेको पुष्टि गरे पनि विस्तृतमा बताएनन् । ‘राति प्रहरीले त्यससम्बन्धी अपरेशन चलाएको थियो, तर संख्याबारे अहिल्यै भन्न सकिएन’, उनले अनलाइनखबरसँग भने ।

प्रहरी स्रोतका अनुसार, चक्रे मिलनका समर्थकहरुले दुई दिनअघिबाटै जन्मदिन पार्टी मनाइरहेका थिए । त्यसक्रममा बिहीबार दिउँसो उनी पशुपति क्षेत्रमा देखिएका थिए ।

दिउँसो मन्दिर आसपास सहयोग माग्दै बसेका व्यक्तिहरुलाई पैसा बाँड्दै हिँडेका देखिएका उनी ठमेलमा केही र्‍यापरहरुसँग समेत देखिएका थिए । उनको जन्मदिनमा भेला भएका समर्थकहरुसँगै चर्चित र्‍यापरहरु समेत पुगेका थिए । त्यहाँ उनले एकैठाउँमा २० वटासम्म केक काटेको प्रहरी बताउँछ ।

अपराह्न उनको समूहले चक्रे मिलनलाई गाडीहरुको लावालस्करसहित महाराजगञ्जसम्म स्कर्टिङ गरेको थियो । यसको सूचना काठमाडौं प्रहरी र अपराध अनुसन्धान कार्यालय दुवैलाई पुगेको थियो ।

चक्रे मिलनलाई उनका समर्थकहरुले गाडीको लावालस्करसहित गरेको स्कर्टिङ
तर, पछिल्लो समय कुनै आपराधिक गतिविधिमा प्रत्यक्ष संलग्नता नदेखिएका मिलनको गतिविधिमा चासो दिने वा नदिने भन्नेमा अधिकारीहरु अलमलमा थिए ।

त्यस्तोमा मध्यरातिसम्म उनको समूहले होटलमा बसेर होहल्ला गरेको सूचना प्रहरीले पाएको थियो । त्यसपछि काठमाडौं प्रहरीका एसएसपी विश्व अधिकारीले माथिल्लो तहसम्म कुरा गरे । र, सार्वजनिक स्थानमा हल्लाखल्ला गरेको आरोपमा चक्रे मिलन पक्राउ परे । उनीसँगै जन्मदिन पार्टी मनाउन पुगेका करिब ५० जना ‘आपराधिक पृष्ठभूमि’का व्यक्तिहरु पनि पक्राउ परे ।

तर, उनीहरुविरुद्ध के कसुरमा प्रहरीले मुद्दा चलाउँछ भन्ने टुंगो लागेको छैन ।

चक्रे मिलनको बर्थडे पार्टीबाट पक्राउ परेकाहरु
२३ माघ २०८१ मा उपत्यका अपराध अनुसन्धान कार्यालयले सामाजिक सञ्जाल टिकटकमा ‘तरवारले केक काटेको’, ‘खुकुरी, मसल प्रदर्शन गरेको’ भन्दै ७ जनालाई पक्राउ गरेको थियो ।

उनीहरुविरुद्ध प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा कारबाही प्रक्रिया अघि बढाएको थियो । तर, सरकारी वकिलले त्यसमा मुद्दा नचल्ने निर्णय गरिदिएपछि सबै छुटेका थिए ।

२०६२/६३ को जनआन्दोलनपछि महाराजगञ्जमा चक्रे मिलन, ठमेलमा दिपक मनाङे, चाबहिलमा राजु गोर्खाली गुण्डागर्दीमा संलग्न समूहको नाइकेका रुपमा उदाएका थिए । पछि यिनै समूहमा जोडिएर गणेश लामा, दावा लामा लगायतका व्यक्तिहरु समेत गुण्डागर्दीमा जोडिएका थिए ।

भलै मनाङे, लामाद्वय लगायत राजनीतिमा प्रवेश गरेर आफ्नो पृष्ठभूमिलाई ‘शुद्धीकरण’ गर्ने प्रयास गरिरहेका छन् । मनाङे त प्रदेशसभा सदस्य निर्वाचित भएर गण्डकीमा मन्त्री समेत बने । गणेश लामा सत्तारुढ नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् । २०७५ सालसम्म प्रहरीको खोजी सूचनमा रहेको दावा लामा अहिले काभ्रेको भुम्लु गाउँपालिकामा उपाध्यक्ष छन् ।

मनाङे चाहिँ अहिले ३१ वैशाख २०६१ सालमा महाराजगञ्जस्थित चुफाङ रेष्टुरेन्टमा मिलन चक्रेलाई तरबार हानेको कसुरमा डिल्लीबजार कारागारमा छन् ।

पहिले जिल्ला अदालत, काठमाडौंले ज्यान मार्ने उद्योग नभई कुटपिट भएको ठहर गर्दै मनाङेलाई २ वर्ष जेल सजाय सुनाएको थियो । त्यसअनुसार कैद सजाय भोगेर उनी छुटेका थिए ।

तर, पछि उच्च अदालत पाटनले त्यसलाई उल्ट्याउँदै ५ वर्ष कैद सजाय हुने आदेश सुनायो । त्यसविरुद्ध मनाङे सर्वोच्च अदालत गए । तर, सर्वोच्चले पनि २० कात्तिक २०८१ मा उच्चकै आदेश सदर गरिदिएको थियो । त्यसपछि उनी पक्राउ परेका थिए ।

विगतमा चक्रे मिलन ठेक्कापट्टा, टेन्टर र मिटरब्याज असुलीमा सक्रिय थिए । तर, पछिल्लो समय टेन्टर र ठेक्कापट्टामा अनलाइन बिडिङ सुरु भएसँगै यसमा गुण्डागर्दी पृष्ठभूमिका व्यक्तिहरुको संलग्नता घटेको थियो ।

प्रहरीले विगतमा गुण्डा नाइकेका रुपमा चिनिएकाहरुविरुद्ध आक्रामक नीति लिएका कारण पनि कतिपयले आफूलाई परिवर्तन गराएका थिए ।

खासगरी बलियो राजनीतिक संरक्षण रहेका भनिएका गुण्डा नाइकेहरु दिनेश अधिकारी ‘चरी’, कुमार घैंंटे लगायत प्रहरीसँग ‘मुठभेड’मा मारिएपछि उपत्यकामा हुने गुण्डागर्दी घटेको थियो ।

पछिल्लो पटक २०७४ सालमा निर्माण व्यवसायी शरद गौचनको हत्यापछि मनोज पुनको मृत्यु र अरु आरोपीहरुको पक्राउपछि समेत त्यस्ता पृष्ठभूमिका व्यक्तिहरु झस्किएको प्रहरी अधिकृतहरु बताउँछन् । यद्यपि, उपत्यकामा नयाँ प्रहरी अधिकृत नेतृत्वमा आउने वित्तिकै अपराधिक पृष्ठभूमिका व्यक्तिहरुमाथि नजर लगाउने गरेका छन् ।

हालै प्रहरीले सानुभाइ भनिने युवराज गुरुङलाई ठमेलको दोहोरी साँझबाट पक्राउ गरेको थियो । नगरकोट दोहोरी साँझमा झगडा गरेको आरोपमा उनी पक्राउ परेका थिए ।

ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई कुटपिट गरेको आरोपमा समेत उनी २०८० असारमा पक्राउ परेका थिए । त्यसबेला प्रहरीले उनलाई हत्कडीसहित ठमेल क्षेत्रमा हिँडाएको थियो ।

पछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अभद्र व्यवहारको कसुरमा उनलाई १० हजार रुपैयाँ धरौटीमा छाडेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP