डार्विन, अष्ट्रेलिया।
गैरआवासीय नेपाली संघ (NRNA) नर्दन टेरिटोरीको निर्वाचनमा वर्तमान सचिव त्रिलोचन सापकोटा ऐतिहासिक मतान्तरसहित राज्य संयोजकमा निर्वाचित भएका छन्। उनले ३७९ मत प्राप्त गर्दै विजय हासिल गरे भने उनका प्रतिद्वन्द्वी भवानी पौडेलले १८५ मत मात्र पाए।
यस पटकको निर्वाचनमा सापकोटा नेतृत्वको सम्पूर्ण टोलीले पनि उल्लेखनीय मतान्तरसहित विजयी नतिजा ल्याएको छ। यसले समुदायभित्र सापकोटा समूहको सशक्त संगठन र लोकप्रियतालाई स्पष्ट रूपमा देखाएको छ।
विजयपछि पुराखबरका सञ्चालक तथा पत्रकार सबिन बरालसँगको पहिलो कुराकानीमा सापकोटाले भने,
“यो जित व्यक्तिगत नभई सम्पूर्ण नेपाली समुदायको हो। अब हाम्रो पहिलो प्राथमिकता समुदायलाई एकताबद्ध बनाउने र सबैलाई अघि बढाउने हो। बहुसांस्कृतिक समाजमा नेपाल र नेपालीको साख उच्च राख्नेछौं। साथै, यस निर्वाचनमा प्रतिस्पर्धी रहेर उपविजेता बनेको टोलीलाई पनि सम्मानजनक स्थान दिँदै अघि बढ्छौं।”
यस नतिजाले समुदायको एकता, विश्वास र नयाँ नेतृत्वप्रति देखिएको उत्साहलाई थप बलियो बनाएको छ।








