
नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा सांसद राजन दाहालले पार्टी अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच संसद्को गतिरोध हटाउने उद्देश्यले भेटवार्ता भएको स्पष्ट पारेका छन् । ११ महिनापछि पहिलोपटक प्रचण्ड र देउवाबीच द्धिपक्षीय भेटवार्ता भएपछि सांसद दाहालको यस्तो प्रतिक्रिया आएको हो ।
आज (आइतबार) विहान नेपाली रेडियो नेटवर्कसँगको कुराकानीमा उनले देउवा र दाहालबीचको भेटवार्तामा सदनको गत्यवरोध हटाउने विषयमा नै कुराकानी भएको स्पष्ट पारे । उनले भने,‘संसद्को गत्यवरोध कसरी अन्त्य गर्ने, शासन–सत्तामा देखिएका बेथिति, अराजकता, अनियमितता र भ्रष्टाचारलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा हाम्रो तर्फबाट अध्यक्ष कमरेड प्रचण्डले आफ्नो विषयवस्तु राख्नुभएको हो ।’
उनले आफूहरुको लागि मुख्य प्राथमिकतामा अहिले सरकार नपरेको स्पष्ट पारे । उनले भने,‘सरकार हाम्रो प्राथमिकतामा छैन, हाम्रो मुख्य प्राथमिकता भनेको अहिलेको अराजकता, बेथिति र विसंगति नियन्त्रण गर्न सकिन्छ भन्ने हाम्रो कुरा हो । पछिल्लो समय प्रधानमन्त्री ओलीजीले कांग्रेसलाई सत्ता साझेदार दलको रुपमा स्विकार गर्नुभएन । सत्ताको सहयोगी दलको रुपमा स्विकार गर्नुभएको छ ।’
उनले देउवा र दाहालबीच कुराकानी सकारात्मक भएको दाबी गरे । उनले भने,‘माननीय शेरबहादुर देउवाजीपनि गम्भिर बन्नुभएको छ । प्रधानमन्त्री ओलीको शासन प्रक्रियाप्रति शेरबहादुरजीको कहीँ न कहीँ विमति देखिन्छनै । कमसेकम हामीले हाम्रो विषयवस्तु गम्भीरतापूर्वक राखेका छौं ।’