शुक्रबार , जेठ १७, २०८२

गणतन्त्र दिवसकै दिन पारेर राजावादी शक्तिहरू र नेकपा एमालेले एकअर्काविरुद्ध प्रदर्शन गर्ने तयारी गर्दा आमसाधरण तहमै सुरक्षा चिन्ता देखिएको थियो ।

अझ प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले एकअर्का लक्षित सार्वजनिक अभिव्यक्ति दिएकाले सुरक्षा चुनौती बढेको अनुमान गरिएको थियो । प्रधानमन्त्री ओलीले आज ‘काठमाडौं एमालेको कब्जामा’ हुनुपर्ने कार्यकर्तालाई निर्देशन दिएका थिए भने लिङ्देनले ‘प्रधानमन्त्रीलाई भाग्न हेलिकोप्टरको सुविधा दिनसक्ने’ टिप्पणी गरेका थिए ।

तर आज दुवैपक्षको प्रदर्शन शान्तिपूर्ण रुपमा सम्पन्न भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताए । ‘प्रदर्शन सोचेभन्दा शान्त भयो । प्रहरीले सम्झाउनुपर्ने, पानीको फोहरा हान्नुपर्ने अवस्था समेत आएन,’ अनलाइनखबरसँग उनले भने ।

सम्भावित दुर्घटना टार्न बुधबार साँझ काठमाडौं प्रशासनले प्रदर्शनको समय तालिका मिलाइदिएको थियो । प्रशासनले गणतन्त्र उत्सव भनेकाले दिउँसो २ बजेसम्म एमालेलाई र त्यसपछि राजावादीहरूलाई समय तोकिएको थियो ।

समय मिलाइए पनि दुवै पक्षको प्रदर्शनस्थल (रत्नपार्क–भृकुटीमण्डप क्षेत्र) एउटै भएकाले ढुक्क हुने स्थिति थिएन । तर प्रदर्शन सकिँदा त्यो डर पनि हट्यो । ‘प्रधानमन्त्रीज्यूको अभिव्यक्ति अनि २ बजेपछि त्यही ठाउँमा राजावादीको उपस्थित हुने भएपछि ठूलो सुरक्षा चुनौती हुने ठानेका थियौं,’ काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एक अधिकृत भन्छन्, ‘तर दुवैपक्षले तोकेअनुसारकै समयमा प्रदर्शन गर्नुभयो । जसकारण केही दुर्घटना हुन पाएन ।’

राजावादी उपस्थित हुने समयमा एमाले कार्यकर्ता पनि रत्नपार्क क्षेत्रमा थिए । तर बीच भागमा सुरक्षाकर्मी बसेर दुई समूह भेट हुने स्थिति बनाइएन । भिड नियन्त्रणका जानकार सशस्त्र प्रहरीका पूर्वडीआईजी माधव थापा सम्भावित दुर्घटना टार्ने यो राम्रो विकल्प भएको बताउँछन् । अर्थात् प्रहरीको रणनीतिले काम गर्‍यो । २ बजेपछि त प्रदर्शन सकेर एमाले कार्यकर्ता फर्किहाले ।

त्यसपछि राजधानीका विभिन्न सात ठाउँबाट राजावादी र्‍याली रत्नपार्क–शान्तिवाटिका क्षेत्र पुग्यो । सबैभन्दा ठूलो र्‍याली राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा मैतीदेवीबाट गएको थियो । लिङ्देनले आफू नेतृत्वको प्रदर्शनलाई संयमित राखेका थिए ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा, जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी लगायतको कमाण्डमा आएको प्रदर्शन पनि मर्यादित नै थियो ।

प्रदर्शनलाई कुनै भड्कावतर्फ जान नदिन नेतृत्व पंक्तिले बारम्बार सचेत गराएका थिए । रत्नपार्कमा जम्मा भएको र्‍याली विद्युत् प्राधिकरण, भद्रकाली, सुन्धारा, टुँडिखेल भएर खुलामञ्चलाई एक फन्को मार्दै कोणसभामा परिणत भयो । भद्रकालीसम्म पुगेको र्‍याली निषेधित क्षेत्र सिंहदरबारतर्फ बढ्न चाहेन ।

अपेक्षा बमोजिमकै सभाबाट उत्साहित लिङदेनले एमालेप्रति खिसिट्युरी नै गरे । ‘राप्रपा लगायत शक्तिहरू एक ठाउँ उभिएर गणतन्त्रको विरुद्धमा प्रदर्शन गर्ने भनेर घोषणा गरेपछि उहाँले (प्रधानमन्त्री केपी शर्मा ओली) पनि गणतन्त्र पक्षधरहरू सडकमा आऊ भन्नुभयो,’ लिङ्देनले भने, ‘देशभरबाट जसरी कार्यकर्तालाई आह्वान गर्‍यौं (हामीले), उहाँहरूले आह्वान गर्नुभयो । राज्य शक्ति प्रयोग गरेर ल्याएको गणतन्त्र पक्षधरको अघिको प्रदर्शन देखिहालियो नि हैन त ?’

कमल थापाले त सडकबाटै संविधान च्योतर अर्को संविधान जारी गर्ने चेतावनी समेत दिए । यद्यपि नवीन समझदारीको ठाउँ बाँकी रहेको उनले बताए । काठमाडौं बाहिरबाट समेत प्रदर्शनमा आउने क्रम जारी रहेको र भोलिदेखि प्रदर्शनको संख्या बढ्ने राजावादीहरूले दाबी गरेका छन् ।

प्रहरीकै रिपोर्ट अनुसार चाहिँ आजको राजावादी प्रदर्शनमा १०–१२ हजार मानिस सकडमा निस्किएका थिए । राजावादीहरूले प्रदर्शन अब निरन्तर चल्ने बताएका छन् ।

छिटपुठ घुसपैठ

सबै हिसाबले शान्त राजावादीको प्रदर्शनमा छिटपुठ घुसपैठ भएको प्रदर्शनकारीहरूले नै बताएका छन् । घुसपैठ भएको आरोपमा प्रदर्शनकारीले नै पाँच जनालाई समातेर प्रहरीलाई बुझाएका छन् ।

जसमा एक भारतीय नागरिक समेत छन् । भारत बिहारका २३ वर्षीय ब्रिज मोहन रायलाई विद्युत् प्राधिकरण अघिबाट नियन्त्रणमा लिइएको थियो । घुसपैठ गर्‍यो भन्दै राजावादी प्रदर्शनकारीहरूले नै उनलाई प्रहरीमा बुझाएका हुन् । उनी अहिले प्रहरी वृत्त सिंहदरबारको हिरासतमा छन् ।

उनी बाहेक डोटीको के. आई सिंह गाउँपालिका–५ राणागाउँ घर भएका २१ वर्षीय पारस राणा, नुवाकोटको बेलकोटगढी नगरपालिका–७ तीनघरे घर भएका २६ वर्षीय आशिष लामा, कैलालीको घोडाघोडी नगरपालिका–१ घर भएका १७ वर्षीय शिवराज जैसी, पर्वतको पैयुु गाउँपालिका–५ का घनश्याम न्यौपानेलाई घुसपैठको आरोपमा नियन्त्रणमा लिइएको छ ।

न्यौपानेलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । जैसीलाई प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ । बाँकी दुई जना लामा र राणालाई प्रहरी वृत्त जनसेवामा राखिएको छ ।

त्यो हिंसात्मक प्रदर्शन

राजतन्त्र र हिन्दू राज्य पुनस्र्थापनाको माग राखेर राजावादीहरूले दुई महिनाअघि, १५ चैतमा पनि प्रदर्शन गरेका थिए । तिनकुनेमा हुने प्रदर्शनका फिल्ड कमाण्डर थिए, दुर्गा प्रसाईं ।

प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानलाई तिनकुने क्षेत्र प्रदर्शनका निम्ति प्रशासनले नै छुट्याएको थियो । तर तीनकुने प्रदर्शन हिंसात्मक बनेको थियो ।

त्यो प्रदर्शनमा कीर्तिपुरका सबिन महर्जन र पत्रकार सुरेश रजकको ज्यान गएको थियो । व्यक्तिका निजी सम्पत्ति तोडफोड र आगजानी भएका थिए । एकीकृत समाजवादीको कार्यालयमा आगजानी र भाटभटेनीमा लुटपाट भएको थियो ।

हिंसात्मक प्रदर्शनमा संलग्न दुर्गा प्रसाई, राप्रपाकै नेताहरू रवीन्द्र मिश्र, धवल शमशेर जबरा पक्राउ परेका थिए । तिनकुने प्रदर्शनमा कमाण्डर प्रसाईं ६ वटा मुद्दा खेप्दै हिरासतमै छन् । अरु ६४ जनाविरुद्ध मुद्दा चलिरहेकै छ । प्रहरीकै तथ्यांकलाई आधार मान्दा पनि तीनकुने प्रदर्शनमा ५८ राउण्ड गोली चलेको थियो भने २० जना घाइते भएका थिए । ७४६ राउण्ड अश्रुग्यास प्रहार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ १७, २०८२ शुक्रबार 113 Views

किन्ने होइन त अस्ट्रेलियामा घर ?

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP