
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । आज (शनिबार) बसेको सचिवालय बैठकले विगतमा हालका गृहमन्त्री लेखकले नै सदनमा ‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ’ भनेको अभिव्यक्ति स्मरण गराउँदै यथाशीघ्र पदबाट राजीनामा दिएर अनुसन्धानमा सघाउन आग्रह गरेको छ ।
‘विगतमा सांसद रमेश लेखकले नै सदनमा ‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ’ भनेर विभिन्न दृष्टान्त सम्झाउनु भएको कुरा आज उहाँलाई नै स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौं,’– बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
साथै, दुई ठूला दलको सरकारले देश र जनताको पक्षमा काम गर्न नसक्दा जनतामा निराशा थपिएको, सुशासनको धज्जी उडेको र काम गर्नेहरूलाई लखेट्ने र हरेक संवैधानिक निकाय र राज्य संयन्त्रलाई दलीयकरण गर्ने गैरराजनीतिक अभ्यास भइरहेको रास्वपाको ठहर छ ।
रास्वापाको सचिवालय बैठकले सर्वोच्च अदालतबाट रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिटमा भएको आदेशको सन्दर्भमा पनि बोलेको छ । ‘सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको हकमा सम्मानित सर्वोच्च अदालतले तुलसीपुर उच्च अदालतको फैसलालाई सदर गर्ने आदेश कानुनी रूपमा स्वीकार गर्दछौं,’– विज्ञप्तिमा भनिएको छ ।