
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब राजतन्त्र इतिहास भैसकेकोले कहिल्यै नफर्कने दाबी गरेका छन् । उनले जनताले मुन्ट्याएर फालिसकेको राजतन्त्र फर्कन नसक्ने ठोकुवा गरेका हुन् । एमालेनिकट युवा संघ नेपालको आजबाट सुरु भएको १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने,‘नेपाली जनताले उल्टाएर राजतन्त्र फालिसक्यो । अर्को संविधान बनिसक्यो । संसद छ । राष्ट्रपति छ । न्यायालय छ । लोकतान्त्रिक व्यवस्था छ । र, हामी छौं, जसले जंगलमा घुमेर जथाभावी जसलाई पायो त्यसलाई समाउँदै, पछार्दै, मार्दै खाँदै गरेको राजतन्त्रलाई समातेर खोरमा हालेर फेरि खोरबाट पनि निकालेर मुन्ट्याएर फालिदएका छौं । फेरि राजतन्त्र ल्याउँदैछौं भन्ने सपना देख्नेहरू पनि छन् ।’
राजावादीहरुले यही जेठ १५ गते काठमाडौंमा आन्दोलन गर्ने तयारी गरेको बेलामा प्रधानमन्त्री ओलीले यस्तो चेतावनी दिएका छन् । हिजोमात्रै सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङले राजावादीहरुको आन्दोलन शाीन्तपूर्ण होस भन्ने सरकारको चाहना रहेको सुनाए । संविधान र कानूनविरोधी गतिविधि भए सरकार अब चुप लागेर नबस्ने र सशक्त प्रतिकार गर्ने उनको चेतावनी थियो ।