
राजसंस्था फर्काउन पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो सक्रियता बढाएका छन् । यसैक्रममा पूर्वराजा ज्ञानेन्द्रले राजावादी नेताहरूसँग विहिबार लन्च मिटिङ गरेका छन् ।
स्रोतका अनुसार काठमाडौंको सोल्टी होटलमा भएको सो भेटवार्तामा ‘संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका प्रमुख केशरबहादुर विष्ट सहभागी थिए ।
यस छलफलको केन्द्रमा जेठ १५ गतेदेखि गर्ने भनिएको राजसंस्थाको पक्षको आन्दोलन भएको बुझिएको छ ।
आन्दोलनको दिन नजिक आउदै गर्दा पूर्वराजा ज्ञानेन्द्रले प्रमुख नेताहरुसँग गरेको यो छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
राजावादी दलहरु राप्रपा, राप्रप्रा नेपाल, राष्ट्रवादी शक्तिसहितका सबै एकै छातामुनि आएर संयुक्त आन्दोलन गर्न लागेकाले पूर्वराजा ज्ञानेन्द्रको चासो बढेको देखिएको छ ।
पूर्वराजा ज्ञानेन्द्र १२ दिनसम्म नगरकोटमा बसेर राजावादी नेताहरूसँग छलफल गरेका थिए । उनले राजेन्द्र लिङदेनसहितका नेताहरुलाई यसअघि वैशाख ५ गते पनि भेटवार्ता गरेका थिए ।
यसअघि दुर्गा प्रसाईसँग झुकाव बढाएका पूर्वराजा ज्ञानेन्द्रले गत चैत्र १५ गतेको घटनापछि उनलाई बेवास्ता गर्न लागेको प्रसाई निकटहरुले बताउदै आएका छन् ।