
नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सरकारका मन्त्रीहरुले प्रधानमन्त्रीकै स्पिडमा काम गर्नुपर्ने बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकारले पनि काम गर्न नसकेको खण्डमा व्यवस्था र अवस्थामा निकै ठूलो असर पर्ने बताएका हुन् । कांग्रेस–एमालेसहितको गठबन्धन २०८४ सम्मै जाने र यसको विकल्प अहिले नरहेको बताए ।
‘कुरा गरेर, भाषण गरेर, सामाजिक सञ्जालमा लेखेरमात्र, उग्र कुरा गरेर मात्र मुलुक बन्दैन । केही न केही सकारात्मक कुराहरु गर्न सिकौं । दुई तिहाइ नजिकको सरकारमा हामी छौं । यो सरकारको विकल्प छैन । यो सरकार पनि फेलियर भयो भने मुलुकको अवस्था र व्यवस्था दुवैमा धेरै ठूलो असर पर्न सक्छ । दुईटा ठूला राजनीतिक दलले पनि काम गर्न सकेनन् भनेदेखि नराम्रो असर पर्छ । यसको विकल्प छैन, अझ सुधार गर्नुपर्छ । सरकारले गियर परिवर्तन गर्नुपर्छ । मन्त्रीहरु प्रधानमन्त्रीकै स्पिडमा जानुपर्यो । कहाँ कुहिरोको कागजस्तो देखेको छु,’– उनले भने ।
साथै, गभर्नर नियुक्तिको विषयमा भने देशभित्र मात्रै नभएर अन्तर्राष्ट्रियस्तरमा समेत बेइज्जती भएको उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवाबीच कांग्रेसले सिफारिस गरेको मान्छे गभर्नर बनाउने सहमति भएको र सोही बमोजिम डा.गुणाकर भट्टलाई प्रस्ताव गरिएको पनि उनले बताए । सोहीअनुसार डा.भट्टले पनि नेपाल राष्ट्र बैंकको निर्देशकबाट राजीनामा दिएको नेता खतिवडाले बताए । कामु गभर्नर डा.निलम ढुङ्गानाले राजीनामा स्वीकृत नगरेको कारण नयाँ नाम प्रस्ताव गरिएको उनले बताए । गभर्नर नै नियुक्ति गर्न नसक्ने सरकारले के गर्ला भन्ने म्यासेज जान थालेकाले छिटोभन्दा छिटो नियुक्ति टुङ्ग्याउनुपर्ने उनले बताए । अहिले विश्व पौडेलको नाम गभर्नरको लागि प्रस्ताव गरिएको र सम्भावना धेरै अगाडि बढेको उनले बताए ।