
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्ता समीकरण शेरबहादुर देउवा र केपी शर्मा ओलीको बुद्धिले नबनेको दाबी गरेका छन् । आज (शनिबार) पाँचथरको फिदिममा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओली–देउवालाई दलाल र विचौलियाहरुले एक ठाउँमा ल्याइदिएको दाबी गरेका हुन् ।
‘पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाउने भनेको कम्तिमा पनि कांग्रेस–एमालेले भन्ने गरेको संसदीय लोकतन्त्रमा त विलकूल हुँदैन । नकारात्मक काम उहाँहरुले गर्नुभयो । तर, त्यो काम उहाँहरुको बुद्धिले गरेको मलाई लाग्दैन । तपाईँहरुलाई कत्तिको थाहा छ, मैले त नजिकबाट हेरेको छु, थाहा पाएको छु । उहाँहरुलाई दलालहरुले आफ्नो ठाउँमा बोलाएर खरिद गरे । दलालहरुले आफ्नो होटलमा मिटिङ बसाएर उनीहरुलाई मिलाइदिए,’– उनले भने ।
साथै, कांग्रेस–एमालेसहितको गठबन्धन सरकार आफ्नै कुकर्मको बोझले ढल्ने उनको दाबी छ । अध्यक्ष प्रचण्डले माओवादीले कहिले एमाले, कहिले कांग्रेससँग मिलेर उनीहरुलाई ठूलो दल बन्न सहयोग गरेको बताए । तर, कांग्रेस–एमालेले भने माओवादीविरुद्ध निरन्तर षड्यन्त्र गरिरहेको उनले बताए । प्रचण्डले कांग्रेस–एमालेलाई बुर्जुवाको संज्ञा दिँदै अब उनीहरुको वैशाखीमा चुनाव नलड्ने बताए ।
‘यो सरकार आफ्नै कुकर्मको बोझले ढल्छ । हामी सरकार ढाल्न अहिले हतारोमा छैर्नौं, जनतासँग ठीक छौं । मैले सुरुदेखि नै भनेको छु– हामीले कहिले कांग्रेससँग कहिले एमालेसँग समीकरण गरेर उहाँहरुलाई ठूलो बनाउन हामी लाग्यौं । हामीलाई सानो बनाउन उनीहरुले षड्यन्त्र गरे । सायद हामी त्यहाँ कहीँ न कहीँ चुक्यौं । त्यसबाट शिक्षा लिएर हामीले संकल्प गर्यौं, अब यी बुर्जुवाहरुको वैशाखी टेकेर चुनावमा गइने छैन । हामी आफ्नै खुट्टामा उभिएर फेरि एकचोटी ०६४ जस्तैगरी निर्वाचनमा जानेछौं,’– उनले भने ।