‘बहुल राष्ट्रिय राज्य स्थापनाका लागि लडाई लड्ने हो । यो देशमा एउटै मात्र काम बाँकी छ, बहुल राष्ट्रिय राज्य स्थापना गर्ने । त्यसैका लागि हाम्रो पार्टीको जन्म भएको हो । त्यसका लागि तराई र मधेश तयार छ । पहाड र हिमालका जनतापनि तयार हुनुपर्यो’ उनले भने ।
केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री भएपछि महतोले बहुल राष्ट्रिय राज्य स्थापना गर्ने भनी अभिव्यक्ति दिँदा उनको भनाइ संविधान विपरीत भएको भन्दै आलोचना भएको थियो र उनले माफी मागेका थिए ।
कार्यक्रममा बोल्दै नेता महन्थ ठाकुरले सांसद रेशम चौधरीलगायतका मधेश आन्दोलनका क्रममा बन्दी बनेका, झूटा आरोप लागेका नेता, कार्यकर्ताहरुको तत्काल रिहाई नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए । उनले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि सरकारलाइ आग्रह गरे ।
अर्का नेता शरदसिंह भण्डारीले वर्तमान सरकार आफूहरुको माग सम्बोधन गर्न गम्भीर नभएको टिप्पणी गरे । मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्नेसरकारले आफूहरुको माग सम्बोधन गर्ला भन्ने आशा नगरेको पनि उनले बताए ।
नेता भण्डारीले आफूहरुले राज्यसँग मधेश आन्दोलनको पीडाबाट आफ्ना पार्टीका नेता, कार्यकर्ताहरुलाई उन्मुक्ति दिन माग गरिरहेको स्पष्ट पनि बताए । मधेश आन्दोलनका क्रममा लगाइएको मुद्धा फिर्ता लिने, बन्दी जीवन बिताइरहेका नेता, कार्यकर्ताहरुको तत्काल रिहाई गर्न पनि सरकारसँग उनले आग्रह गरे ।