डार्विन, अस्ट्रेलिया। गैरआवासीय नेपाली संघ, नर्दन टेरिटोरी (NRNA-NT) को आयोजनामा सम्पन्न NRNA-NT T20 Cup 2026 को उपाधि KBA Cricket Club ले जितेको छ। सोमबार Cazalys Arena मा भएको फाइनल खेलमा Nawalpur Riders लाई ४७ रनले पराजित गर्दै KBA ले ऐतिहासिक उपाधि आफ्नो नाममा लेखाएको हो।
फाइनलमा टस जितेको KBA Cricket Club ले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२८ रन बनाउँदै Nawalpur Riders सामु १२९ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

१२९ रनको लक्ष्य पछ्याएको Nawalpur Riders भने KBA का बलरहरूको कसिलो प्रदर्शन र उत्कृष्ट फिल्डिङअघि टिक्न सकेन। Nawalpur निर्धारित १७ ओभरमै ८१ रनमा अलआउट भएपछि KBA ले ४७ रनको प्रभावशाली जित निकाल्दै च्याम्पियन बन्न सफल भयो।
फाइनलमा विप्लव निरौला KBA का लागि उत्कृष्ट फिल्डर बने। उनले ४ वटा शानदार क्याच लिनुका साथै १ रनआउट गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिए।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो। लिग चरण, सेमिफाइनल र फाइनलका सबै खेलहरू प्रतिस्पर्धात्मक बनेका थिए भने नेपाली समुदायको उल्लेख्य उपस्थिति र उत्साहका बीच प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।
समापन समारोहमा NRNA-NT का अध्यक्ष त्रिलोचन सापकोटा, Nepalese Cricket Association of Northern Territory (NCANT) का अध्यक्ष राजेश भुसाल तथा प्रतियोगिता संयोजक एवं NRNA-NT Youth Coordinator सुमन गैरेले विजेता KBA Cricket Club लाई ट्रफी तथा पुरस्कार प्रदान गरेका थिए।
कार्यक्रममा बोल्दै NCANT का संस्थापक सचिव विप्लव निरौलाले प्रतियोगितामा धेरै नयाँ तथा प्रतिभाशाली खेलाडीहरू देखिएको बताउँदै यसले आयोजकलाई आगामी दिनमा पनि यस्ता खेलकुद कार्यक्रमहरू अझ सशक्त रूपमा सञ्चालन गर्न थप हौसला मिलेको बताए। उनले छिट्टै आयोजना हुन लागेको Oceania Interstate Tournament का लागि नयाँ चयन समिति (Selection Committee) गठन गरी टोली घोषणा गरिने जानकारी समेत दिए।
NRNA-NT ले यस प्रतियोगिताले नर्दन टेरिटोरीमा रहेका नेपाली समुदायबीच क्रिकेटको विकास, खेल भावना, आपसी सद्भाव र एकतालाई थप मजबुत बनाएको विश्वास व्यक्त गरेको छ।










