डार्विन । नेपालमा आएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षतिप्रति अस्ट्रेलियाको नर्दन टेरिटोरी (एनटी)की मुख्यमन्त्री लिया फिनोच्चियारोले गहिरो दुःख व्यक्त गरेकी छन्।
मुख्यमन्त्री फिनोच्चियारोले नेपाली समाज (NANT) कार्यवाहक अध्यक्ष नम्रता शर्मालाई पत्र पठाउँदै बाढीका कारण ज्यान गुमाउनेका परिवार तथा आफन्तप्रति समवेदना व्यक्त गरेकी हुन्। उनले घाइते तथा विस्थापित भएका सबैप्रति पनि सहानुभूति प्रकट गरेकी छन्।
२७ अगस्ट २०२६ मा जारी गरिएको पत्रमा मुख्यमन्त्री फिनोच्चियारोले नेपालमा २६ अगस्टमा आएको विनाशकारी बाढीले ठूलो मानवीय क्षति, घाइते तथा व्यापक विनाश निम्त्याएको उल्लेख गरेकी छन्।
उनले खोज तथा उद्धार कार्यमा खटिएका आपत्कालीन सेवा, उद्धार टोली, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा स्थानीय समुदायको प्रयासको समेत प्रशंसा गरेकी छन्।
“नर्दन टेरिटोरीमा मूल्यवान नेपाली समुदायको बसोबास रहेको छ,” पत्रमा भनिएको छ, “यस त्रासदीले नेपाली समुदाय तथा नेपालमा रहेका परिवार र साथीभाइमा पारेको प्रभावलाई हामीले बुझेका छौँ।”
मुख्यमन्त्री फिनोच्चियारोले कठिन परिस्थितिमा रहेका नेपालका जनताप्रति नर्दन टेरिटोरी सरकार र जनताको तर्फबाट ऐक्यबद्धता तथा समवेदना व्यक्त गरेकी छन्।
उनको यो शोक सन्देश नर्दन टेरिटोरीमा रहेको नेपाली समुदायप्रति प्रदेश सरकारको सहानुभूति र समर्थनका रूपमा आएको हो।











