डार्विन — उत्तरी अष्ट्रेलियाको आतिथ्य क्षेत्रमा नेपाली समुदायको उपस्थिति र सफलताको अर्को उदाहरण प्रस्तुत गर्दै डार्विनस्थित Junoon Restaurant & Bar ले २०२६ को Hospitality NT Gold Plate Awards मा तीन प्रतिष्ठित अवार्ड जितेको छ।
डार्विनको Knuckey Street मा सञ्चालित जुनूनले Restaurant of the Year, Best Steak Restaurant र Stand Alone Restaurant गरी तीन महत्वपूर्ण विधामा गोल्ड प्लेट अवार्ड हात पारेको हो।

Screenshot
नेपाली व्यवसायी किरण ढकालले जुलाई २०२४ मा सुरु गरेको जुनूनले छोटो समयमै डार्विनको चर्चित रेस्टुरेन्टका रूपमा आफ्नो पहिचान बनाउन सफल भएको छ। यसअघि पनि रेस्टुरेन्टले Australian Good Food Guide बाट सम्मान प्राप्त गरिसकेको थियो।
‘Junoon’ शब्दको अर्थ madness and passion अर्थात् ‘उन्माद र जुनून’ रहेको बताउँदै ढकालले आफ्नो खानाको परिकारमा यही भावना झल्काउने प्रयास गरिएको बताएका छन्। आधुनिक अस्ट्रेलियन खानालाई केन्द्रमा राखेको रेस्टुरेन्टमा barra ceviche, bone marrow on toast तथा red wine-braised beef cheek सहित विभिन्न परिकार उपलब्ध छन्।
विशेष कुरा के छ भने, करिब पाँच जनाको सानो टोलीले सञ्चालन गरिरहेको जुनूनले ठूलो प्रतिस्पर्धाबीच यी तीन महत्वपूर्ण अवार्ड जितेको हो। यस वर्षको Hospitality NT Gold Plate Awards मा ९९ वटा नामांकन परेको थियो भने ६०० भन्दा बढी अतिथि सहभागी कार्यक्रममा उत्तरी क्षेत्रको आतिथ्य उद्योगका उत्कृष्ट व्यवसाय तथा व्यक्तित्वलाई सम्मान गरिएको थियो।
Hospitality NT का प्रमुख कार्यकारी अधिकृत Cathy Simmonds ले यस वर्षको प्रतिस्पर्धाले उत्तरी क्षेत्रको आतिथ्य क्षेत्रमा मापदण्ड अझ माथि उठाएको र NT उत्कृष्ट खाना तथा पेय पदार्थको गन्तव्यका रूपमा अघि बढिरहेको बताएकी छन्।
डार्विनमा नेपाली व्यवसायीको मेहनत, लगनशीलता र व्यावसायिक सफलताको प्रतिनिधि बनेको जुनूनको यो उपलब्धि नेपाली समुदायका लागि समेत गौरवको विषय बनेको छ।











