एडिलेड । अस्ट्रेलियाको संघीय सरकारले देशमै रहेका दक्ष आप्रवासी कामदारलाई स्थायी बसोबास (पीआर) प्रक्रियामा प्राथमिकता दिने भएको छ। कुल आप्रवासी संख्या घटाउने सरकारी योजनाअन्तर्गत जारी गरिएको मन्त्रीस्तरीय निर्देशन ११९ ले अनशोर अर्थात् अस्ट्रेलियामै रहेका दक्ष कामदारको आवेदनलाई विदेशबाट आउने आवेदनभन्दा अगाडि राख्ने व्यवस्था गरेको छ।
गृहमन्त्री टोनी बर्कले जनशक्ति अभाव रहेका क्षेत्रमा दक्ष कामदारको आवश्यकता पूरा गर्ने उद्देश्यसहित दक्ष भिसा आवेदनको प्रशोधन प्राथमिकता निर्धारण गरेका हुन्। नयाँ प्राथमिकताअनुसार प्रहरी तथा रक्षा क्षेत्रमा कार्यरत अस्ट्रेलियाभित्रका आवेदकलाई पहिलो प्राथमिकता दिइएको छ।
त्यसपछि सोही क्षेत्रका तर अस्ट्रेलियाबाहिरबाट आवेदन दिने दक्ष कामदारलाई प्राथमिकता दिइनेछ। तेस्रो प्राथमिकतामा अस्ट्रेलियामै रहेका निर्माण, स्वास्थ्य तथा शिक्षण क्षेत्रका कामदारलाई राखिएको छ।
त्यसपछि अस्ट्रेलियामै रहेका अन्य पेशा तथा क्षेत्रका दक्ष कामदारका आवेदन प्रशोधन गरिनेछन्। यी सबै प्राथमिकताका आवेदन पूरा भएपछि मात्रै विदेशबाट पेश गरिएका अन्य दक्ष भिसा आवेदनतर्फ प्रक्रिया अघि बढाइने व्यवस्था गरिएको छ।
सरकारको यो परिवर्तनले अस्ट्रेलियामा बसेर काम गरिरहेका दक्ष आप्रवासीलाई पीआर प्राप्त गर्ने प्रक्रियामा तुलनात्मक रूपमा सहज अवसर दिने अपेक्षा गरिएको छ। विशेषगरी निर्माण, स्वास्थ्य, शिक्षा, प्रहरी तथा रक्षा क्षेत्रमा काम गरिरहेका अनशोर कामदारका लागि नयाँ प्राथमिकता महत्वपूर्ण मानिएको छ।











