यसअघि प्रकाशित यो समाचारमा भुल बस समिर शाहको नाम उल्लेख गरिएको थियो। उक्त समाचार पुराखबर सम्बद्धता मात्र जनाउनुपर्नेमा उहाँको नाम उल्लेख हुन गएको हुँदा उक्त त्रुटि सच्याइएको छ। यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ।
काठमाडौं — द ब्रिटिश कलेज, काठमाडौंले कलेजविरुद्ध सामाजिक सञ्जाल तथा केही आमसञ्चार माध्यममार्फत फैलाइएका भ्रामक, तथ्यहीन तथा बदनियतपूर्ण आरोपहरूबारे स्पष्टिकरण दिँदै प्रेस विज्ञप्ति जारी गरेको छ।
कलेजका अनुसार द ब्रिटिश कलेज नेपालका सम्बन्धित नियामक निकायको स्वीकृतिमा सञ्चालन हुँदै आएको प्रतिष्ठित उच्च शिक्षण संस्था हो। कलेजले अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त विश्वविद्यालयहरूसँग सहकार्य गरी विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको र सबै कानुनी तथा शैक्षिक मापदण्डको पूर्ण पालना गरिरहेको जनाएको छ।
कलेजले दुबईस्थित द वुलविच इन्स्टिच्युट (TWI) संयुक्त अरब इमिरेट्सको कानुनअनुसार सम्बन्धित नियामक निकायबाट मान्यता प्राप्त स्वतन्त्र शैक्षिक संस्था रहेको उल्लेख गरेको छ। हाल उक्त संस्थामा २५ भन्दा बढी देशका ३०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
शैक्षिक कार्यक्रम र अध्ययन प्रक्रिया
द ब्रिटिश कलेजमा सञ्चालन हुने Foundation कार्यक्रमहरू अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त रहेको र यसले विद्यार्थीलाई उच्च शिक्षाका लागि आवश्यक शैक्षिक तथा व्यावसायिक दक्षता विकासमा सहयोग पुर्याउने कलेजको भनाइ छ।
Hospitality Management (HM) Foundation अध्ययनरत विद्यार्थीहरूलाई TWI, दुबईमा Higher National Diploma (HND) अध्ययनको अवसर प्रदान गरिन्छ। HND पूरा गरेपछि विद्यार्थीहरूले शैक्षिक योग्यता, संस्थागत मापदण्ड तथा भिसा नियमअनुसार दुबई, बेलायत वा अष्ट्रेलियास्थित साझेदार विश्वविद्यालयमा Level 6 (Top-Up Bachelor’s Degree) अध्ययन गर्न सक्ने व्यवस्था रहेको कलेजले स्पष्ट पारेको छ।
इन्टर्नसिप र आवास व्यवस्था
कलेजका अनुसार विद्यार्थीको सीप विकासका लागि इन्टर्नसिपको अवसर उपलब्ध गराइन्छ, तर इन्टर्नसिप ग्यारेन्टी नहुने कुरा भर्नाअघि नै स्पष्ट रूपमा जानकारी गराइन्छ।
दुबई जाने विद्यार्थीका लागि प्रारम्भिक आगमन सहज बनाउन तेस्रो पक्ष सेवा प्रदायकमार्फत अस्थायी आवासको व्यवस्था गरिने कलेजले जनाएको छ। यो व्यवस्था छोटो अवधिका लागि मात्र हुने र त्यसपछि दीर्घकालीन आवास विद्यार्थीले स्वयं गर्नुपर्ने अन्तर्राष्ट्रिय अभ्यासअनुसार रहेको उल्लेख छ। विद्यार्थीहरूलाई बेघर बनाइएको वा अलपत्र पारिएको भन्ने आरोप पूर्णतः असत्य रहेको कलेजको दाबी छ।
केही विद्यार्थीको फिर्ता र विवाद
करिब ५१ जना HM विद्यार्थीमध्ये ९ जना विद्यार्थी व्यक्तिगत असन्तुष्टिका कारण करिब तीन महिनापछि नेपाल फर्किएको कलेजले जनाएको छ। ती विद्यार्थीहरूका लागि सन् २०२५ डिसेम्बर १ बाट सुरु हुने गरी इन्टर्नसिपको व्यवस्था गरिएको थियो।
विद्यार्थी फर्किएपछि कलेजले अभिभावक र विद्यार्थीहरूसँग औपचारिक परामर्श तथा छलफल प्रक्रिया अघि बढाएको र छलफलहरू सकारात्मक वातावरणमा सम्पन्न भएको कलेजको भनाइ छ।
सामाजिक सञ्जाल र क्याम्पस अवरोध
कलेजका अनुसार मंसिर २३ गते केही विद्यार्थीहरूले कलेजको अनुमति बिना सामाजिक सञ्जालमा प्रत्यक्ष सामग्री प्रसारण गरेका थिए। पछि पौष ७ र ८ गते बाह्य समूहका केही व्यक्तिहरूले विद्यार्थीको नाम प्रयोग गरी भ्रामक सामग्री, उक्साउने गतिविधि र आधारहीन आरोप फैलाएको आरोप कलेजले लगाएको छ। यस क्रममा कलेजको शैक्षिक वातावरण प्रभावित भएपछि सुरक्षानिकायको सहयोग लिनुपरेको कलेजले जनाएको छ।
मानव तस्करी आरोप अस्वीकार
द ब्रिटिश कलेजले आफूमाथि लगाइएका शोषण वा मानव तस्करीसम्बन्धी आरोपहरू पूर्ण रूपमा अस्वीकार गरेको छ। यस्ता आरोपहरू असत्य, आधारहीन र मानहानीपूर्ण भएको कलेजको स्पष्टिकरण छ।
शैक्षिक गतिविधि नियमित
कलेजले हाल सम्पूर्ण शैक्षिक कार्यक्रमहरू नियमित रूपमा सञ्चालन भइरहेको र पठनपाठन, मूल्याङ्कन तथा परीक्षामा कुनै अवरोध नरहेको जनाएको छ। साथै, अभिभावक र विद्यार्थीलाई अपुष्ट तथा भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ।








