भ्रष्टाचारविरोधी जेनजी प्रदर्शनपछि नेपाली सेनाको मुख्यालय जंगीअड्डामा नयाँ सरकार प्रमुखको खोजी तीव्र भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलसँग औपचारिक वार्ता गर्नुअघि सेनाले जेनजी प्रतिनिधिहरूलाई बोलाएर करिब नौ घन्टा लामो छलफल गरेको हो।
सैनिक उच्च अधिकारीका अनुसार, सो छलफलमा जेनजी प्रतिनिधिहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकार प्रमुखका रूपमा प्रस्ताव गरेका छन्। “उहाँहरूको नाम प्रस्ताव गरिएको छ, तर केही समूहसँग अझै कुरा बाँकी छ,” अधिकारीले बताए। बिहीबार बिहान थप कुराकानीपछि मात्र प्रक्रिया अघि बढाइने बताइएको छ।
बुधबार बेलुकी कार्कीको नाम सार्वजनिक भएपछि जंगीअड्डा बाहिर नाराबाजीसमेत भयो। स्थितिलाई नियन्त्रणमा लिन सेनाले माइकिङ गरेर सचेत गराएको थियो।
सबै पक्षसँग समन्वयको प्रयास
सेनाले कुनै पनि समूह असन्तुष्ट नहोस् भन्ने उद्देश्यले दुर्गा प्रसाईं, धरानका मेयर हर्क साम्पाङलगायतलाई पनि भेट गरेको छ। सैनिक अधिकारीहरूका अनुसार, संवादका लागि सम्पर्क गर्ने प्रतिनिधि धेरै भएपछि प्रारम्भिक चरणमा कुराकानीमै समस्या भएको थियो।
बुधबार बिहान १० बजेपछि २० जनाभन्दा बढी प्रतिनिधि भेला भएपछि प्रधानसेनापति अशोकराज सिग्देलले सबैलाई पहिले छुट्टै बसेर साझा मत बनाएर आउन आग्रह गरेका थिए। त्यसपछि सेनाले उनीहरूलाई छुट्टै हल उपलब्ध गरायो, जहाँ आगामी सरकारको स्वरूपदेखि देशको भविष्य गणतन्त्र वा राजतन्त्रमा जाने हो–नहोसहितका विषयमा बहस भयो।
रक्षा बमसहित केही प्रतिनिधिहरूले “आन्दोलनको न्यूनतम मर्म विपरीत छलफल अघि बढ्न थालेपछि” बाहिरिएको बताए। स्रोतका अनुसार, एक पक्षले संघीयता र धर्मनिरपेक्षता हटाई राजतन्त्र फर्काउनुपर्ने प्रस्ताव राखेको थियो भने अर्को पक्षले गणतन्त्रलाई नै सुधार्दै जाने पक्षमा बोलेको थियो।
नागरिक सरकारबारे सुझाव
गणतन्त्रवादी जेनजी प्रतिनिधिहरूले स्वतन्त्र र स्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकार गठन हुनुपर्ने मत राखेका थिए। सहिद परिवार, आन्दोलनका घाइते जस्ता समूहलाई प्राथमिकता दिनुपर्ने कुरा पनि उठाइएको थियो। केही प्रतिनिधिहरूले संसद्मार्फतै निकास खोज्नुपर्ने मत समेत व्यक्त गरे।
वार्तामा कानुनी पक्षबारे सुझाव दिन काठमाडौं महानगरपालिकाका कानुनी सल्लाहकार ओमप्रकाश अर्याल पनि उपस्थित थिए। दिनभर डिस्कर्डमार्फत जेनजी युवाबीच डिजिटल मतदान र संवाद हुँदै गएको र त्यहीबाट कार्कीको नाम अघि आएको स्रोतले बतायो।
सेनाको सहजकर्ता भूमिका
सेनाले अहिले दुर्गा प्रसाईं, हर्क साम्पाङ, रवि लामिछाने नेतृत्वको रास्वपा लगायतलाई समेत समेट्दै संवादलाई सहज बनाउने प्रयास गरिरहेको छ। “यी पक्षलाई बाहिर राखेर अघि बढ्दा फेरि समस्या हुनसक्छ, त्यसैले सबैको कुरा सुन्न खोजिएको हो,” सैनिक स्रोतले बतायो।
बुधबार दुर्गा प्रसाईं जंगीअड्डा पुगेका थिए। उनले सामाजिक सञ्जालमा प्रधानसेनापतिसँग देशको पछिल्लो अवस्था र आगामी बाटोबारे गहिरो छलफल भएको उल्लेख गर्दै “देशलाई जसरी निकास मिल्छ, त्यही नै मेरो प्राथमिकता हो” भनेका छन्। उनले बालेन शाह वा सुशीला कार्की जसको नेतृत्व पनि स्वीकार्य हुने बताए। त्यसपछि हर्क साम्पाङले पनि सेनापतिसँग भेट गरी नागरिक सरोकार राखेका थिए।
सैनिक अधिकारीहरूले संवादबाटै समस्याको समाधान निकाल्नुपर्ने बताउँदै आफूहरू केवल सहजिकर्ता मात्र भएको दाबी गरेका छन्। छलफलपछि एकमत बनाएर मात्र राष्ट्रपति कार्यालयसँग संवाद गर्ने तयारी गरिएको छ।
आन्दोलन र कर्फ्यू
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मङ्गलबार सामाजिक सञ्जालमार्फत सेना प्रमुखसँग वार्ता गर्न तयार हुन आग्रह गरेका थिए र संसद् विघटन आवश्यक हुनसक्ने बताएका थिए। त्यसपछि राष्ट्रपति कार्यालयले जेनजी समूहलाई वार्तामा आउन आह्वान गर्यो।
भ्रष्टाचारविरुद्ध जेनजीले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेकै बेला सरकारले फेसबुक, एक्ससहित २५ सामाजिक सञ्जाल बन्द गरेको थियो। ‘नेपोनेभिज’ अभियान चलाइरहेका युवाले त्यसपछि सडक प्रदर्शन घोषणा गरेका थिए।
सोमबारको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा कम्तीमा १९ जनाको मृत्यु भएको र २०० भन्दा बढी घाइते भएको थियो, अहिले मृतकको संख्या ३० पुगेको छ। मंगलबार कर्फ्यूबीच प्रदर्शनकारी संसद् भवनभित्र प्रवेश गरी आगजनीसम्म पुगेका थिए। त्यसपछि सिंहदरबार, सर्वोच्च अदालतलगायतका स्थानमा समेत आगजनी भयो। सेनाले बुधबार विज्ञप्ति जारी गर्दै शुक्रबारसम्म कर्फ्यू लगाइने जानकारी दिएको छ।








