२४ औं जन्मदिनको पूर्वसन्ध्यामा पूर्वयुवराज दम्पती पारस र हिमानी शाहका छोरा हृदयन्द्र शाहले सामाजिक सञ्जालमा आफ्नो पहिलो भ्लग सार्वजनिक गरेका छन्। कर्णालीको मुटुमा अवस्थित जुम्ला उपत्यकाको भ्रमणमा आधारित यो १५ मिनेटे भिडियोले न केवल प्राकृतिक सौन्दर्य उजागर गर्छ, बरु हृदयन्द्रको सोच, रुचि र दृष्टिकोण पनि दर्शाउँछ।
अहिलेसम्म सार्वजनिक मञ्चहरूमा कमै देखिएका हृदयन्द्र यो भ्लगमार्फत खुलेर प्रस्तुत भएका छन्। हिमानी फाउन्डेशनको कार्यक्रमको सिलसिलामा जुम्ला पुगेका हृदयन्द्रले त्यहाँको जीवनशैली, संस्कृति, र जनताको भावना भित्रै पसेर देखाएका छन्।
भिडियोमा उनले स्थानीय युवासँग कफीशपमा गफ गरेका छन्, वृद्धवृद्धासँग स्याउ खेतीबारे छलफल गरेका छन्, र कर्णाली शिक्षालयका विद्यार्थीहरूसँग कुराकानी गरेका छन्।
एक स्थानमा स्थानीय युवती पञ्चकली बुढाले सोधेको प्रश्न — “हाम्रो नेपाल समृद्ध कहिले हुन्छ?” — मा हृदयन्द्रले जवाफ दिएका छन्,
“मान्छेले राम्रो काम गर्यो भने, सबै कुरा राम्रो चल्यो भने त अब हुन्छ होला। अलिकति हामी पनि लाग्नुपर्यो। आँट गर्नुपर्यो। हुन्छ होला।”
यो संवादले दर्शकको मन छोएको देखिन्छ। पञ्चकलीले गाएको कर्णाली गीतले झनै भावनात्मक माहोल बनाएको छ।
भ्लगमा हृदयन्द्रले नेपालका धेरै ठाउँ घुमिसकेको, हिमाली क्षेत्रमा अझै घुम्ने इच्छा रहेको उल्लेख गरेका छन्। अमेरिकामा अध्ययनरत हृदयन्द्रले स्नातक सकिएपछि नेपाल फर्कने तयारी गरिरहेका छन् भन्ने खुलासा पनि भिडियोमै गरेका छन्।
उनले आफू वान पिस एनिमे सिरिजको ठुलो फ्यान भएको र कहिलेकाहीँ आफैंले पनि एनिमे बनाउने गरेको जानकारी दिँदा दर्शकले उनको कलात्मक रुचिलाई समेत नजिकबाट चिनेका छन्।
भिडियो सार्वजनिक भएको छोटो समयमा नै सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ। दर्शकहरूले हृदयन्द्रको सरलता, भद्रता र संवाद शैलीको खुलेर प्रशंसा गरिरहेका छन्।
यस भ्लगमार्फत जुम्लाको पर्यटन सम्भावनालाई उजागर गर्दै उनले घुम्न जान सबैलाई आग्रह गरेका छन्। यो समाचार तयार पार्दासम्म भ्लगलाई साढे २ लाखभन्दा बढी पटक हेरिएको छ, र यो संख्या बढ्दो क्रममा छ।








