मंगलबार , बैसाख २९, २०८३

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका विभिन्न राज्य समितिहरुको आयोजनामा अष्ट्रेलियाका विभिन्न पाँच शहरमा नेपाल फेष्टिभल हुँदैछ । मार्च महिनाको ९ तारिख एडिलेडबाट सुरु हुने नेपाल फेष्टिभलको क्रम अप्रिल ६ तारिख ब्रिसबेन पुगेर टुंगिनेछ । नेपाली कला, संस्कृति, भाषा, खाना र संगीतलाई प्रस्तुत गरिने नेपाल फेष्टिभलका सबै आयोजनाअघि नेपाल फेष्टिभल परेड गरिनेछ । नेपाल फेष्टिभल यी शहरका मुख्य केन्द्रहरुमा नै आयोजना हुँदैछ ।

मार्च ९ तारिख आईतबार एडिलेडको एल्डर पार्कमा विहान साढे १० बजेदेखि राति साढे १० बजेसम्म १२ घण्टा नेपालमय बनाउने योजना छ । यस्तै मेलबर्नको मुटु फेडरेसन स्क्वायर, क्यानबेराको स्टेज ८८ कमनवेल्थ पार्क, होबार्टको पार्लियामेन्ट हाउस लन, सालामाङ्का र ब्रिसबेनको मुटु किङ जर्ज स्क्वायरमा नेपाल फेष्टिभल दिनभर चल्नेछ ।

एनआरएन अष्ट्रेलियाका राज्य समितिहरुको आयोजनामा भएपनि स्थानीय नेपाली सामूदायमा आधारित संघसंस्थाहरुले नेपाल फेष्टिभलमा सहकार्य गर्दैछन् । यसैगरी दूतावास, अष्ट्रेलियाका राज्य सरकारहरुले पनि नेपाल फेष्टिभलमा हातेमालो गरेका छन् ।

कन्दरा व्याण्डका गायक विवेक श्रेष्ठ ८ जनाको टोली लिएर नेपाल फेष्टिभलहरुमा सहभागी हुँदैछन् । सन् २०१६ मा पाँचवटा नेपाल फेष्टिभलमा आफ्नो संगीतमार्फत धमाका मच्चाएको कन्दराले ९ वर्षपछि फेरि अष्ट्रेलियाको नेपाल फेष्टिभलमा आफ्नो प्रस्तुति दिँदैछ । उनलाई ड्रममा सुनील थापा, गिटारमा देव लामा, बेस गिटारमा दयाबाबु झा, मादलमा अविनाश गायक, किबोर्डमा उमेश थापाले साथ दिनेछन् । व्याण्डको क्यामेरा र ग्राफीक्स नवीन थापाले हेर्नेछन् भने निरब श्रेष्ठ साउन्ड ईन्जिनियरको रुपमा सहभागी हुँदैछन् । गायक श्रेष्ठ भन्छन् – “नेपाल फेष्टिभलको आफ्नै गरिमा छ, दर्शक उपस्थितिको हिसाबले विशाल कार्यक्रम मध्ये पर्छ । फेरि हाम्रो गीत भुरादेखि बुढासम्म सबै जेनरेसनलाई मनपर्ने भएकोले कन्दरालाई नेपाल फेष्टिभल पर्फेक्ट हुन्छ भनेर नै हामीले सहभागिता निश्चित गरेका हौं ।”
अष्ट्रेलियाको नेपाल फेष्टिभलमा सहभागी भएपछि कन्दराले आफ्नो वल्र्ड टुरलाई निरन्तरता दिँदै अमेरिका र क्यानडा जाने तयारी छ ।
यसपटक अष्ट्रेलियाका नेपाली दर्शकले कन्दराबाट के फरक पाउँछन् त ? विवेकले थपे, “हामीले हाम्रो प्रस्तुतिलाई स्टेजमा हेर्नेसँगै झुम्ने, नाच्ने र सँगसँगै गाउने गीत बनाएका छौं । नेपाली भीरपाखामा गुञ्जिएको मेलोडीलाई विश्वमञ्चमा दमदार रुपमा उभ्याउनेछौं ।”

एनआरएन अष्ट्रेलियाका प्रवक्ता बबिन मिश्र सबै ठाउँमा कन्दरा व्याण्डले आफ्नो भव्य प्रस्तुति दिने भएपनि अन्य कलाकारको हकमा राज्य समितिहरुले नै निर्णय लिएको बताउँछन् । कलाकारहरुको व्यवस्थापन लगायतमा आर्थिक मितव्ययीताका कारण एकपछि अर्को लगातार नेपाल फेष्टिभलहरु गरिएको उनको भनाई छ । नेपालमा चर्चित विभिन्न व्याण्डहरुसँग लामो छलफलपछि कन्दरासँग नेपाल फेष्टिभलका पाँचै शहरमा प्रस्तुति दिने कुरा टुंगो लागेको थियो ।

एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल नेपाल फेष्टिभलले नेपाल र नेपाली पर्यटन, नेपालको खाना, गीत संगीत र संस्कृतिको मात्र प्रबद्र्धन गर्ने नभई अष्ट्रेलियालाई पनि आर्थिक गतिशीलता दिइरहेको बताउँछन् ।
अध्यक्ष पोखरेलले भने, “आर्थिक रुपमा कुरा गर्दा डार्विनको मलाई याद आउँछ, त्यतिबेला स्टेजमा मैले त्यहाँ पुगेका एनआरएनका डाईरेक्टरहरुलाई बोलाएँ । उनीहरु कहाँबाट आएका हुन् भन्ने पनि बताएँ । त्यहाँको चिफ मिनिष्टर यो देखेर आश्चर्यचकित भए । हामी त्यहाँ बोर्ड मेम्बर मात्र थिएनौं कैयौंको संख्यामा अरु पनि पुगेका थियौं । यसले आन्तरिक पर्यटनमा लाखौं डलरलाई चलायमान बनाएको छ ।”
नेपाल फेष्टिभल भइरहँदा त्यहाँ आउने हजारौं दर्शकले वरिपरिको व्यपार व्यवसायमा दिने योगदानको पाटो झन् विशेष भएको उनको भनाई छ ।

अध्यक्ष पोखरेलले थपे, “अष्ट्रेलिया आफैंमा मल्टिकल्चरल कन्ट्री, यहाँको सुन्दर बगैंचामा नेपाली समूदाय पनि एउटा आकर्षक पूmल हो भनिन्छ । तर, हामीले जति योगदान दिएका छौं त्यतिमात्रामा हामीलाई सम्बोधन गरिएको छैन भन्ने कुरा सत्य हो । नेपाल फेष्टिभलहरुले यहाँको राजनीतिक तहलाई, कर्मचारी र प्रशासनिक मात्र होइन व्यवसायिक संघसंस्थालाई पनि नेपाली समूदायको उपस्थिति बोध गराउँछ । यसले पक्कै पनि भोलिका दिनमा उनीहरुले हामीलाई हेर्ने नजर फेरिँदै जान्छ जस्तो लाग्छ ।”

अध्यक्ष पोखरेलले हालै सिड्नीमा सम्पन्न भएको नेपाल फेष्टिभलको प्रसंग सम्झँदै भने, “सिड्नीको नेपाल फेष्टिभलमा नेपाली विजनेसले मुख्य प्रायोजन गरेको थियो । को हो यो ग्रेसको मुख्य मान्छे म भेट्न चाहन्छु भनेर त्यहाँका मन्त्रीहरुले भन्दैगर्दा पक्कै पनि यो हामीलाई गौरवकै विषय भयो जस्तो लाग्छ ।”
अष्ट्रेलियाका विभिन्न राज्य सरकारहरुबाट नेपाल फेष्टिभलका लागि अनुदान आएको र यी राज्यमा सरकारी तहबाट आउने आर्थिक अनुदान ट्रेजररीले रेकर्डमा राख्ने पोखरेलको भनाई छ ।
“कार्यक्रम सकेर रिपोर्ट बुझाएपछि सरकारी निकायले अर्को बजेटमा नेपाली समूदायलाई त्यति बराबरको रकम छुट्याउँछ । केही हजारको अनुदानबाट अहिले हामी एक लाखभन्दा माथिको रेन्जमा पुगेका छौं यसले आर्थिक सहयोगसँगै नेपाली समूदायको मूल्यांकन पनि पनि बढाउँदै लैजान्छ भन्ने लाग्छ ।” उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP