शुक्रबार , भाद्र १२, २०८३

हामीले भर्खरै ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ सम्पन्न गर्‍यौँ । यसको अर्थ, उद्देश्य र प्रभावका बारेमा स्वयंं हामी रंगकर्मीले समीक्षा गर्नुपर्छ र मिडियाले यसको समीक्षा गरिदिए अझ राम्रो हुने थियो । नाटक कसरी तयार गरिन्छ, रिहर्सल कसरी हुन्छ, नाटक मञ्चनको समग्र प्रक्रियालाई हेरेर मिडियाले समाचार, समीक्षा लेखिदिने हो भने रंगमञ्च क्षेत्रलाई टेवा पुग्ने हाम्रो अपेक्षा हो । मञ्चमा मञ्चित नाटक मात्रै हेरेर नाटक बुझ्न सहज हुँदैनजस्तो मलाई लाग्छ ।

यस महोत्सवले हामीलाई सबैभन्दा बढी सकारात्मक ऊर्जा प्रदान गरेको छ । महोत्वसमा सहभागी देश–विदेशका नाट्यकर्मीको भनाइ नै यो थियो कि यस्तो काम पनि सम्भव हुँदो रहेछ । एउटा साधारण संस्थाको कामलाई उहाँहरूले प्रशंसा गर्नुभयो ।

महोत्सवका लागि हामीलाई आर्थिक चुनौती थियो । यसपालि हामीले धेरै सरकारी निकायसँग पनि समन्वय गर्ने कोसिस गर्‍यौँ । हाम्रो प्रयास देखेर उहाँहरूले कम्तीमा कान ठाडो गर्नुभएको छ । हामीले अलि छिटो प्रस्ताव लगेको भए धेरैले हामीसँग सहकार्य गर्ने थिए भन्ने हामीलाई लागेको छ ।

नेपाली रंगमञ्चको उत्थानमा सबैभन्दा ठूलो भूमिका मिडियाकै छ । मञ्चित नाटकका बारेमा समीक्षा वा समाचार दिएर मिडियाबाट सहयोग पाइरहेका छौँ । अहिले समग्रमा मिडियाले मञ्चित नाटकलाई प्रचारमा ल्याउन सहयोग गरिरहेका छन् । अब मञ्चित नाटकका बारेमा मिडियाले गुणदोषसहित समीक्षा लेखिदिनुपर्छ । हाम्रो कामको गुण पनि भनिदिनुपर्छ र दोष पनि औँल्याइदिनुपर्छ ।

रंगमञ्च क्षेत्रलाई व्यावसायिक बनाउने वा सामाजिक दायित्व वहन गर्ने बनाउने भन्ने प्रश्न प्रमुख रूपमा छ । यी दुवै कुरा सँगसँगै अगाडि बढ्ने र बढ्नुपर्छ भन्ने मलाई लाग्छ । अधिकांश नाटकले व्यक्ति वा समाजको कथा भन्ने नै हो । ती कथामा न्याय र अन्यायका मुद्दा आएका हुन्छन् । न्याय र अन्यायलाई बुझेर नाटक गरियो भने त्यसले सामाजिक दायित्व वहन गर्छ । यसरी गरिएको नाटकलाई दर्शकले टिकट काटेर हेरिदिनुभयो भने रंगमञ्च व्यावसायिक हुने हो ।

एउटा कलाकारले एउटा नाटकका लागि तीन महिना जति समय दिनुपर्छ । तर, एउटा नाटकबाट कलाकारले पाउने पारिश्रमिक भनेको बढीमा २०–२५ हजार रुपैयाँ हो । यति पैसाले काठमाडौंमा कसरी टिक्ने ?

रंगकर्मीलाई रंगमञ्चमै टिकाउन दर्शक, सरकार, नाटकघर, मिडिया– सबैको सहयोग आवश्यक छ । कम्तीमा वर्षमा दुई–चारवटा नाटक सरकारी वा गैरसरकारी संघ–संस्थासँगको सहकार्यमा नाटकघरहरूले गर्न पाउँछन् भने कलाकारलाई केही सहज हुने थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP