शनिबार , बैसाख २७, २०८२

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिलाई लिएर नेकपा एमालेको प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसभित्र अनेक आशंका उब्जिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई चिर्ने प्रयास गरेका छन्।

खासगरी कांग्रेसभित्र प्रधानमन्त्रीकै कारण गभर्नर नियुक्तिले निकास नपाएको गुनासो र आशंकाका बीच प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग तीनवटा विकल्प प्रस्ताव गरेका हुन्।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउन ओली र देउवा यसअघि नै सहमत भएका थिए। सोहीअनुसार भट्टले पनि वैशाख ५ गते आफ्नो राजीनामा बुझाएका थिए।

तर कायममुकायम गभर्नर डा. नीलम ढुंगानाले कार्यकारी निर्देशकबाट भट्टले दिएको राजीनामा स्वीकृत गर्न मानेकी छैनन्। उनी पनि गभर्नरकै प्रत्याशी हुन्। सरकारले कायममुकायमको जिम्मेवारी दिएपछि आफैँ बन्ने आशमा थिइन्। तर माहोल अर्कैतिर मोडिएपछि उनी असहयोगी बनेको धेरैको आकलन छ।

यसअनुसार गत बुधबारसम्म राजीनामा स्वीकृत गराएर बिहीबार नियुक्त नै गर्ने पछिल्लो वचन देउवालाई ओलीले दिएका थिए। तर वचनअनुसार ओली असफल भए।

यसलाई कांग्रेस नेताहरुले ओलीकै आडभरोसामा ढुंगानाले त्यसो गरेको हुन सक्ने भन्दै आन्तरिक विमर्श गरेपछि ओलीले सत्ता सझेदार कांग्रेसलाई त्यसबारे प्रष्ट हुने गरी देउवासँग छलफल गरेर विकल्प दिएका हुन्।

बिहीबार साँझ समेत बालुवाटारमा सभापति देउवासहित अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखकसँग प्रधानमन्त्री ओलीको छलफल भएको थियो।

उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सभापति देउवालाई तीनवटा विकल्प दिएका छन्–

पहिलो, कामु गभर्नर नीलम ढुंगानालाई जसरी पनि ‘कन्भिन्स’ गरी गुणाकर भट्टको राजीनामा स्वीकृत गराउने र, भट्टलाई गभर्नर नियुक्त गर्ने।

दोस्रो, नीलमले राजीनामा स्वीकृत नगरे पनि गुणाकरलाई गभर्नर नियुक्त गर्ने र, कुनै कानुनी समस्या आए सामना गर्ने।

र तेस्रो, गुणाकर भट्टको विकल्प खोज्ने।

गठबन्धनलाई तलमाथि हुन नदिन कांग्रेस कोटाबाटै गभर्नर बनाउन तयार रहेको प्रष्ट सन्देश दिन ओलीले नयाँ प्रस्तावसहितको विकल्प दिएका हुन्।

ओलीले दिएको पहिलो विकल्पअनुसार गभर्नर नियुक्ति अघि नबढ्ने लगभग निश्चित भइसकेको छ। किन कि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्देशन नै दिँदा पनि कामु गभर्नर ढुंगानाले त्यसलाई नमानी बसिरहेकी छिन्। भट्टको राजीनामा स्वीकृत गर्ने मानेकी छैनन्।

राष्ट्र बैंक स्रोतका अनुसार उनी भट्टको राजीनामा स्वीकृत नगर्ने बरू राष्ट्र बैंक नै छोड्ने तयारीमा छिन्।

‘म अन्तिमसम्म लड्छु तर राजीनामा स्वीकृत गर्दिनँ’, ढुंगानाले आफूनिकटसँग भनेकी छन्।

यही अडान उनले प्रधानमन्त्री ओलीसमक्ष समेत राखेकी छिन्।

कांग्रेस सभापति देउवाले डा. भट्टलाई गभर्नर बनाउन वैशाख ३ गते नै ओलीलाई नाम दिएका थिए। सोहीअनुसार ५ गते राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट भट्टले राजीनामा दिएका थिए।

गभर्नरकै प्रतिस्पर्धामा सामेल हुन अर्का कार्यकारी निर्देशक एवं राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाश श्रेष्ठले दिएको राजीनामा पनि कामु गभर्नरबाट ‘होल्ड’ भइरहेको छ। श्रेष्ठले फागुनमै राजीनामा बुझाएका थिए। उनलाई राष्ट्र बैंकले विदा पत्र थमाइदिएको छ।

‘३ विकल्प छन्, जुन सहज हुन्छ त्यही गरौँ’
राजीनामा स्वीकृत नहुँदा राष्ट्र बैंकले गभर्नर पाउन नसकेपछि कांग्रेसका नेताहरूले प्रधानमन्त्रीसँग असन्तुष्टि जनाउन थालेका थिए।

सोही कारण ओलीले यसबारे देउवासँग नयाँ प्रस्ताव गरेका हुन्। उनी दुईदिन यता निरन्तर छलफल गरिरहेका छन्।

‘गभर्नर कांग्रेसलाई नै दिएको हो तर केही समस्या आइपरेका छन्’, देउवासँगको भेटमा ओलीले राखेको भनाइ उद्धृत गर्दै एक नेताले नेपालखबरसँग भने, ‘अब तपाईँसँग तीनवटा विकल्प छन्, जुन सहज हुन्छ, त्यही गरौँ।’

यसअनसार ओलीले देउवासँग पहिलो प्रस्तावबारे कुरा राखेको ती नेताको भनाइ छ।

‘अहिले कायममुकायम गभर्नर नीलम ढुंगानाले गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न मान्नुभएको छैन’, ओलीले भने, ‘अझै केही दिन पर्खेर, अझै कन्भिन्स गरेर भट्टलाई नियुक्त गर्ने कि!’

त्यसपछि उनले देउवालाई दोस्रो विकल्पबारे प्रस्ताव गरेका थिए–

‘यदि नीलमले राजीनामा स्वीकृत नगरे पनि भट्टलाई गभर्नर नियुक्त गरेर जाने। पछि जे पर्छ, सोहीअनुसार मिलाउँला।’

देउवासँग बालुवाटारमा पटक–पटक भएका भेटमा प्रधानमन्त्री ओलीले तेस्रो विकल्प पनि दिँदै आएका छन्।

‘उहाँले दुई दिनयता नयाँ विकल्प दिनुभएको छ’, प्रधानमन्त्री ओलीनिकट स्रोतले भन्यो, ‘नीलमले भट्टको राजीनामा स्वीकृत नगर्ने भएपछि बाहिरको एक जना व्यक्तिको नाम दिनुस्, कांग्रेसकै कोटाबाट गभर्नर नियुक्त गर्न तयार छु भन्ने प्रस्ताव दिनुभएको छ।’

गभर्नर नियुक्तिको विषयले कांग्रेस–एमालेबीच तनाव बढ्न थालेपछि प्रधानमन्त्री ओलीले यी विकल्पहरु प्रस्तुत गरेका हुन्।

‘प्रधानमन्त्रीले गभर्नर नियुक्तिको विषयमा कांग्रेसमा कुनै आशंका नरहोस् भनेर विकल्प पनि दिनुभएको छ, तपाईँ जे भन्नुहुन्छ त्यही गर्छु भन्नुभएको छ’, स्रोतले थप्यो, ‘अब बल कांग्रेस सभापतिकै कोर्टमा छ।’

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पनि प्रधानमन्त्रीबाट प्रस्ताव आएको स्वीकारे।

‘प्रधानमन्त्रीले दिएको विकल्पको कुरा भइहाल्यो, त्यसैलाई मध्यनजर राखेर हामीले आफ्नो दृष्टिकोण बनाएर चाँडै निर्णय गर्छौँ’, महतले नेपालखबरसँग भने, ‘गुणाकर भट्टको विकल्पमा जाने सम्भावना अहिले तत्काल छैन। तर, जे सहज हुन्छ त्यही गरौँ। जसरी गर्दा ‘प्रोफेसनल’ राम्रो मान्छे आओस्, परिणाममा पुगोस् भन्ने छ। त्यसलाई मध्यनजर गरेर यी कुरा हुन्छ।’

शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकमा यस विषयले प्रवेश पाएको छ। सभापति देउवाले पनि प्राविधिक समस्या देखिएको भन्दै छिट्टै समाधान हुने जवाफ दिएका छन्।

कांग्रेसका प्रकाशन एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्मा भने गुणाकर भट्टको नामबाट पछि हट्ने सम्भावना नरहेको बताउँछन्।

‘प्रधानमन्त्रीलाई पनि आफ्नै निर्वाचन क्षेत्रको भएको हुनाले नीलमलाई भन्न अप्ठ्यारो परेको होला, उहाँले भनेपछि नीलमले नमान्ने कुरै छैन। पछि हटिहाल्नुहुन्छ तर प्रधानमन्त्रीले अलिअलि यस्तो कठिन गरी मिलाएँ भन्ने बनाउन पनि होला’, विश्वकर्माले भने, ‘गुणाकर भट्ट भनेको कांग्रेसको भागमा परेजस्तो मात्र हो, उहाँ तटस्थ, निष्पक्ष, योग्य र लोकप्रिय व्यक्ति भएको अर्थविद्हरू बताउनुहुन्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP