
आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले काठमाडौंका सुकुम्वासी वास्तीमा सरकारले खानेपानी नदिएको भन्दै प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भने,‘काठमाडौंको सुकुम्वासी बस्तीमा खानेपानी छैन, म सरकारलाई सोध्न चाहन्छु कि सुकुम्वासी बस्तीमा खानेपानी किन रोक्नुभयो ? खानेपानी त दुश्मनलाई पनि रोक्ने गरिँदैन्, तर, सरकारले आफ्नै देशका नागरिकलाई खानेपानी रोकेको सुन्दा असाध्यै दुःख लागेको छ ।’
खानेपानी त नागरिकको मौलिक हक भएको उल्लेख गर्दै साहले त्यो हक सुकुम्वासी बस्तीमा नागरिकको लागि प्रत्याभूति हुँदैन र भन्ने प्रश्न गरे । उनले भने,‘सुकुम्वासीहरुको भोट लिने, श्रम पनि लिने, उनीहरुसँग कर पनि लिने, अनि उनीहरुलाई खानेपानी पनि नदिने, यो सामान्य अपराध होईन । यो सरकारले मानवताविरोधी अपराध गरेको आभास हुन्छ ।’
उनले आजको २१औं शताब्दीमा शुद्ध पिउने पानीबाट नागरिकलाई बञ्चित गरिनु कुनैपनि बहानामा उचित कार्य नभएको भन्दै निन्दा गरे । उनले यो विषयमा सरकारलाई सभामुखले रुलिङ गर्नुपर्ने पनि उनको माग छ । काठमाडौंका सुकुम्वासी बस्तीमा खानेपानीमात्रै नभएर विद्युतको पहुँचपनि नपुगेको उनको टिप्पणी छ । उनले भने,‘के सरकारमा मानवता मरेकै हो र ? होईन भने यसरी खानेपानी र विद्युतको पहुँच सुकुम्वासी बस्तीमा किन पुर्याईन, उनीहरु पनि हाम्रै दाजुभाई तथा दिदिबहिनी हुन, नेपाली नागरिक नै हुन् । नेपाली नागरिकलाई यी सुविधाबाट बञ्चित नै गर्ने हो भने उनीहरुबाट कर किन लिनुहुन्छ ? करको दायराबाट पनि बाहिर गरिदिनुहोस ।’ उनले राज्यको सुविधा सुकुम्वासी बस्तीमा पनि पुग्नुपर्ने आवश्यकत्ता औंल्याए ।
उनले भारतको ओडिसा राज्यस्थित भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा निधन भएकी पर्सा वीरगञ्जकी प्रिसा साहको निधन भएको घट्नाप्रति दुःख व्यक्त गर्दै मृत्तकप्रति श्रद्धाञ्जली अर्पण गरे । साथै, पूर्वमन्त्री साहले उक्त घट्ना कसरी भएको हो ? त्यसको छानबिन कहाँ पुग्यो ? भन्नेबारे सरकारसमक्ष जवाफ पनि मागे ।