
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले शारीरिक र बौद्धिक श्रम गर्ने सबै खाले श्रमिकको श्रमलाई उच्च सम्मान गर्नुपर्ने बताएका छन् । आज (बिहीबार) १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल समाजवादी टे«ड युनियन महासङ्घ र नेपाल समाजवादी नेवा सङ्घले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै श्रमिकको हकहितको कुरा गर्ने कम्युनिष्ट पार्टीका नेताहरु नै सत्तामा पुगेपछि मजदुरका हकहितका विषयलाई बेवास्ता गर्ने गरेको बताए ।
‘मजदुरले लडेर ल्याएको आठ घण्टा काम आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको अधिकार व्यवहारमा अझै लागू हुन सकेको छैन, अहिले श्रम गरेर खानेभन्दा बिचौलिया र कमिसनखोरको बिगबिगी भएको छ,’– उनले भने ।
मजदुरहरु र आम नेपाली जनताको सङ्घर्षका कारण देशमा सङ्घीय लोकतान्त्रिक व्यवस्था, स्थापना भए पनि मजदुरका समस्या समाधान हुन नसक्नु दुःखद पक्ष भएको उनले भनाइ छ । उनले लामो सङ्घर्षबाट राजतन्त्र हटाए पनि राजनीतिक दलका नेताको कार्यशैली राजाको जस्तै भएको उल्लेख गर्दै ती दलहरुकै कारण जनतामा असन्तुष्टि सृजना भएको दाबी गए ।
अध्यक्ष भट्टराईले देशमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसद् हुनुपर्नेमा जोड दिँदै पुराना दलले मजदुर र आमजनताका समस्या समाधान गर्न नसक्ने भएकाले आफूले अग्रगामी र वैकल्पिक एजेण्डासहित नेसपा नयाँ शक्ति अगाडि बढाइएको बताए । उनले आफूले भारत भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध सुमधुर बनाउने काम गरेको बताउँदै नेपालमा राजावादी भन्नेले फैलाएको भ्रमबाट भ्रमित नहुन आफूले भारतका विभिन्न पार्टीका नेतालाई भनेको पनि सुनाए ।