
नेकपा (एमाले) का बागमती प्रदेश इन्चार्ज डा.राजन भट्टराईले नेपाली कांग्रेसले सरकारबाट बाहिरिन चाहेको हो भने उसले निर्णय गर्न सक्ने बताएका छन् । (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता भट्टराईले कांग्रेसले सरकार छाड्न चाहेको हो भने आफूहरुको भन्नु केही पनि नरहेको बताएका हुन् । तर, कांग्रेसले सरकार नछाड्नेमा उनले विश्वास व्यक्त गरे ।
अस्थिरता कारण मुलुक अन्यौलग्रतस्थितिमा पुग्यो भनेर नै वर्तमान सरकार बनाएको स्मरण गराउँदै उनले कांग्रेसको तर्फबाट सरकार ढाल्नेसम्मको गैरजिम्मेवार अभिव्यक्ति नसुनेको बताए । कांग्रेस महामन्त्री गगनकुमार थापाले भने मौसम र बजारअनुसार सरकारको बारेमा बोल्दै हिँडेको उनको टिप्पणी छ । गगनले सुरुवाती दिनदेखि नै गठबन्धन नचाहेको नेता भट्टराईको टिप्पणी छ । गगनले भन्नेबित्तिकै सरकार नढल्ने पनि उनले बताए ।
‘दुई वर्ष नेकपा (एमाले) ले नेतृत्व गर्ने र बाँकी समय शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने सम्झौता भएको छ । आउने चुनावसम्म यही गठबन्धन लानुपर्छ । सरकार धेरै अस्थिर भयो, अन्यौलग्रस्त स्थिति उत्पन्न भयो । राजनीतिक स्थायित्व दिनका लागि गर्नुपर्छ भन्ने समझदारी भएको हो । हामी समझदारी र त्यो वचनमा पक्का छौं । कांग्रेस त्यसबाट ब्याक हुन चाहन्छ भने त हाम्रो भन्नु केही पनि हुँदैन । कांग्रेस छुट्टै पार्टी हो, उसले आफ्नो निर्णय गर्न सक्छ । तर, त्यस्तो गैरजिम्मेवार चर्चा मैले सुनेको छैन,’– उनले भने ।