
नेपाली कांग्रेसका नेता एवं पूर्व राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न लागिपर्ने बताएका छन् । आज (शुक्रबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले भने, ‘म सरकार ढाल्ने कोशिस गर्छु ।’
साथै, उनले थाइल्याण्डको बैंककबाट फर्किएका पार्टी सभापति शेरबहादुर देउवासँग आज कुराकानी भएको पनि उनले बताए । सभापति देउवासँग संसद् बैठकमा सहभागी हुन आउने क्रममा १२ः ५६ बजे फोनमा कुराकानी भएको नेता तामाङले बताए । ‘१२ बजेर ५६ मिनेटमा मैले फोन गरेँ । फोन दुई घण्टीमा उठाउनुभयो । यहाँहरुलाई स्वागत छ, धन्यवाद छ । पशुपतिको मन्दिर अगाडि मैले क्रश गरेँ । म संसद् जान्छु है, तपाईँहरु निवास जानुुस् मैले भनेँ,’– उनले भने ।
नेता तामाङले प्रधानमन्त्री ओली जनजातिविरोधी रहेको बताए । गत महिना नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरेको, वैशाखमा आफूलाई बखास्त गरिएको र अब जेठको लागि ओलीले कुनै अर्को जनजातिलाई बर्खास्त गर्न ठीक पारेर राखेको उनले आरोप छ ।