
नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई एक दिन पनि सत्तामा बस्ने नैतिक अधिकार नरहेको बताएको छ । आज (बुधबार) समसामयिक विषयवस्तुबारे पार्टीको धारणा सार्वजनिक गर्नका लागि आयोजित पत्रकार सम्मेलनमार्फत् माओवादी केन्द्रले सरकार प्राविधिक रुपमा अस्तित्वमा रहेपनि राजनीतिक वैधानिकता गुमाइसकेको बताएको हो ।
माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘वर्तमान सरकार प्राविधिक रुपमा त अस्तित्वमा छ । राजनीतिक रुपमा आफ्नो वैधानिकता गुमाइसकेको छ । आफ्नो औचित्य स्थापित गर्न पूर्णतः असफल भएको यो सरकारलाई एकदिन पनि सत्तामा रहने नैतिक अधिकार छैन । वर्तमान सत्ता गठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकताविपरीत बनेकाले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न सकेको छैन ।’
साथै, सत्ता गठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकताविपरित बनेको र अहिलेसम्म देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न नसकेको माओवादीको निष्कर्ष छ । माओवादीले काठमाडौं केन्द्रीत आन्दोलनमा रहेका शिक्षकहरुको माग तुरुन्त सम्बोधन गर्न सरकारको ध्यानाकर्ष गराएको छ ।