
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले माओवादी र मधेशी दलहरुलाई साथमा नलिइ संविधान संशोधन गर्न नसकिने बताएका छन् । आज (सोमबार) गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले कांग्रेस–एमालेसँग दुवै सदनमा दुईतिहाइ बहुमत हुँदापनि माओवादी, मधेशवादी दल र सरोकारवाला निकायलाई साथमा नलिइ संविधान संशोधन गर्न नहुने बताएका हुन् ।
‘संविधानमा अहिले चेन्ज गर्ने भन्नुभयो । फेरि ओलीजीले भन्दिनुभयो–०८७ मा चेन्ज हुन्छ संविधान । संविधान चेन्ज गर्ने त नेपाली कांग्रेस र एमालेले मात्रै गरेर पनि हुँदैन । दुई तिहाइ हाम्रो छ, ल राष्ट्रिय सभामा पनि हाम्रो दुई तिहाई भयो रे । अनि संविधान चेन्ज गर्दिने ? माओवादीसित पनि कुरा गर्नुपर्छ, मधेशका दलहरुसित पनि कुरा गर्नुपर्छ, सरोकारवाला निकायहरुसित पनि कुरा गर्नुपर्छ । अनिमात्रै संविधानमा के–के चेन्ज गर्ने हो ? त्यसरी जानुपर्छ,’– उनले भने ।
उनले संविधान संशोधनमार्फत निर्वाचन प्रणालीमा महिला, दलित आदिको सिट सुनिश्चित गरेर प्रत्यक्ष निर्वाचित प्रणालीमात्रै राखिनुपर्ने बताए । महिला–महिलाबीचमा र दलित, दलितको बीचमा चुनाव गराएर अगाडि बढ्नुपर्ने उनले बताए । संविधानको समानुपातिक समावेशी चरित्रलाई चुनावबाटै ल्याउनुपर्ने उनले बताए ।