
नेकपा (एमाले) का नेता महेश बस्नेतले जनमत पार्टीका अध्यक्ष सिके राउतले नै मधेश प्रदेशको मुख्यमन्त्री फेर्न चाहेको बताएका छन् । मधेशमा जनमत पार्टीको नेतृत्वमा प्रदेश सरकार रहेको छ । सतिश कुमार सिंह जनमतको तर्फबाट अहिले मुख्यमन्त्री छन् । सतिशको भूमिका विवादास्पद देखिएको कारण राउतले उनलाई मुख्यमन्त्रीबाट हटाउन चाहेको नेता बस्नेतले बताए ।
सतिसले विभिन्न विद्रोही शक्तिहरुसँग मिलेर संविधान संशोधनको विरुद्धमा अभियान चलाउने भूमिका खेलेको, जनमत छाडेर महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टीतिर जाने खोजेको कारण सिके राउतले उनलाई हटाउन खोजेको नेता बस्नेतको दाबी छ ।
‘अहिलेका मुख्यमन्त्री चाहीँ त्यति सफल हुनुभएन भन्ने कुरा आइरहेको छ । अहिलेका मुख्यमन्त्रीले मधेशका विभिन्न विद्रोही शक्तिहरुलाई समेटेर संविधान संशोधनविरुद्ध अभियान चलाउने भूमिका खेल्नुभएको छ भन्ने कुरा पनि आइरहेको छ । उहाँले सिके राउतको पार्टी छाडेर महन्थ ठाकुरको पार्टीमा जाँदै हुनुहुन्छ भन्ने कुरा पनि आएको छ । धेरै कुरा आएको, उहाँको छवि विवादित भइरहेको र सिके राउतले पनि उहाँलाई फेर्न चाहिरहेको बेलामा दलहरुको बीचमा समझदारी बनाएर फेर्न कुरा हो,’– उनले भने ।
मधेशमा अहिलेको आवश्यकताअनुसार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको नेतृत्वमा सरकार बन्नसक्ने उनको संकेत छ ।