मंगलबार , बैसाख २९, २०८३

स्वर्णलक्ष्मी सहकारीको हिसाबकिताब रहेको जिसिएस बैंकिङ सफ्टवेयर सिस्टममा रास्वपा सभापति रवि लामिछानेको खाता रहेको भन्ने अभियोजन पक्षको दाबीलाई खण्डन गर्ने विभिन्न आधार भेटिएका छन् । सिस्टममा जिबी राई र रवि लामिछानेको नाम उल्लेख गरिएको सवारीसाधन किन्नका लागि खोलिएको ऋणी खाता देखिएको थियो । संयुक्त खातामा ‘फोर ह्विलर लोन र इको सेभेन सिटर भ्यान’ रिमाक्र्स राखेर ४६ लाख ९८ हजार र ४६ लाख ४८ हजार ऋण प्रवाह भएको पनि देखाइएको छ । तर, सहकारीको सदस्य नै नरहेका लामिछानेले कसरी ऋणी हुने हैसियत प्राप्त गरे भन्ने मात्रै होइन, उनको नागरिकताको प्रमाणपत्र र हस्ताक्षर पनि नभएकाले खाता नै नक्कली भएको प्रश्न उठेको छ ।

यो आरोपमा लामिछानेले इन्कारी बयान दिएका छन्, ‘मेरो उक्त स्वर्णलक्ष्मी सहकारी संस्थामा एकल वा संयुक्त कुनै पनि खाता छैन, खाता खोल्न एकल वा संयुक्त रूपमा कहिल्यै निवेदन दिएको पनि छैन । मैले निवेदन दिएको, हस्ताक्षर गरेको, औँठाछाप गरेको वा कुनै किसिमको फाराम भरेकोसमेत छैन । म उक्त स्वर्णलक्ष्मी सहकारीको बचतकर्ता, सदस्य, ऋणी, कर्मचारीलगायत कुनै पनि जिम्मेवारीमा रहेको व्यक्ति होइन ।’

दुईवटा सवारीसाधन खरिदका लागि स्वर्णलक्ष्मीमा खोलिएको भनिएको संयुक्त ऋण खातामा ऋण प्रवाह भएपछि जिबी वा रवि दुईमध्ये एकजनाको हस्ताक्षर गरी सहकारीबाट प्रदान गरिने चेकमार्फत पेमेन्ट हुनुपथ्र्यो । तर, गाडी बिक्री गर्ने नारायणी अटो बिजनेस प्रालिलाई स्वर्णलक्ष्मीको नेपाल इन्भेस्टमेन्ट बैंकको चेकबाट १४ लाख नौ हजार चार सय र ३२ लाख ८८ हजार ६ सय रुपैयाँ भुक्तानी भएको मिसिलमा संलग्न चेकको प्रतिलिपिबाट देखिन्छ ।

लामिछानेको इन्कारी बयानलाई खण्डित गर्न राख्नुपर्ने प्रमाण पनि अभियोगपत्रमा राख्न सकेको देखिँदैन । उनले बयानमा थप भनेका छन्, ‘उसकै सहकारी, उसैको सफ्टवेयर, उसैका कर्मचारी, उसैको सिस्टम भएपछि सहकारी सञ्चालकहरूले जसको नाम राख्न पनि सक्ने होला । कुनै पनि सहकारीमा खाता खोल्न वा सदस्य हुन निश्चित विधि अनिवार्य हुन्छ भन्ने मेरो बुझाइ हो । तर, विनाहस्ताक्षर, विनाऔँठाछाप, विनाकेवाइसी फारम, विनाउपस्थिति, विनाधितो खोलिएको ऋण खाता प्रथम दृष्टिमै फर्जी हुन आउँछ । विभिन्न अनुसन्धान र प्रतिवेदनहरूले उल्लिखित सहकारीलगायत गितेन्द्रबाबु राई संलग्न रहेको सहकारी संस्थाहरूमा किर्ते गरी विधि प्रक्रिया नपुर्‍यार्ई सयौँ मानिसको नाममा नक्कली खाता खोली उनीहरूलाई नक्कली ऋणी बनाइएको भनी सार्वजनिक भएको सुनेको हुँ । तसर्थ, मेरा सन्दर्भमा पनि फर्जी खाता खोलिएको हो भन्ने कुरामा कुनै द्विविधा छैन । सहकारीसँग मेरो कुनै पनि किसिमको साइनो तथा कारोबार थिएन, छैन ।’

स्वर्णलक्ष्मीबाट ऋण लिएर किनेको भनिएका दुईवटै गाडीको ऋण चुक्ता भइसकेको अभियोजनमा देखाइएको छ । आफैँ किस्ता तिर्न चेकमा हस्ताक्षर गर्ने अनि थाहा छैन भन्ने प्रश्न लामिछानेमाथि उठाइएको छ । तर, लामिछानेले चेकमा हस्ताक्षर आफ्नो भए पनि हस्तलेखन आफ्नो नभएको दाबी गरेका छन् । ‘कम्पनीमा विभिन्न कर्मचारीको आ–आफ्नै भूमिका हुन्छ र आर्थिक कामकारबाहीका लागि लेखा अधिकारी नियुक्त हुन्छ । लेखाले अध्यक्षको आदेशमा सबै काम गर्छ । सोहीअनुसार उसले आफैँले चेक तयार गरी लामिछानेको हस्ताक्षर गराएको हुन सक्ने देखिन्छ । वा विश्वासमा हस्ताक्षर गरी छाडिएको चेक आफैँले आवश्यकताअनुसार भरिदिएको हुन सक्छ,’ उनको बयान छ । चेकमा लेखिएको हस्तलेखन कसको छ भन्ने फरेन्सिक जाँच गरिए प्रस्ट हुन्छ ।

लामिछानेको नामबाट रेमिट्यान्समार्फत ७५ लाख रुपैयाँ विदेशमा किन पठाइयो ?
नेपालमा रेमिट्यान्समार्फत रकम भित्र्याउन सहज भए पनि विदेश पठाउन भने सहज छैन । नेपाल राष्ट्र बैंकको अनुमति लिएर मात्र त्यसको प्रक्रिया अघि बढ्छ । रवि लामिछानेको नामबाट रेमिट्यान्समार्फत ७५ लाख रुपैयाँ विदेश पठाइएको भेटिएको भन्दै अभियोजन पक्षले ठगीमा उनको संलग्नता दाबी गरेको छ । यसमा पनि लामिछानेले बयानमा प्रतिवाद गरेका छन् ।

‘गोर्खा मिडिया नेटवर्कले अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरू, स्याटेलाइट कम्पनीलगायतका कम्पनीहरूसँग सम्झौताहरू गरेको थियो । तिनैमध्येका प्रयोजनका लागि गोर्खा मिडिया नेटवर्कको ग्लोबल आइएमई बैंकमार्फत भुक्तानीहरू गरेको हुनुपर्छ,’ उनको बयानमा छ, ‘लाओ एसिया प्यासिफिक स्याटेलाइट कम्पनी लिमिटेड गोर्खा मिडियाले सम्झौता गरेको स्याटेलाइट कम्पनी हो । प्रक्रिया पूरा गरी तिर्नुपर्ने दस्तुर तिर्ने दायित्व निर्वाह गरिएको हुनुपर्छ ।’

सांसद सूर्य थापा नेतृत्वको संसदीय विशेष समितिले सहकारीबाट गोर्खा मिडियामा रकम ल्याउनमा लामिछानेको संलग्नता नदेखिएको, तर गोर्खा मिडियामा आइसकेको रकम परिचालनको सवालमा जिम्मेवार हुनुपर्ने प्रतिवेदन तयार पारेको थियो । लामिछानेले यो प्रतिवेदनसमेत उल्लेख गर्दै प्रहरीलाई बयान दिएका छन् । उनले भनेका छन्, ‘मलाई केन्द्रविन्दुमा राखेर सहकारी ठगीमा मेरो संलग्नता छ कि भनी छानबिन गर्न राज्यका सम्पूर्ण निकाय सम्मिलित छानबिन समितिसमेत बन्यो । उक्त समितिमा सम्बन्धित बैंकहरू, राष्ट्र बैंक, सहकारी बोर्ड, सहकारी विभाग, सहकारी मन्त्रालय, विभिन्न चार्टर्ड एकाउन्टेन्ट, कारागारमा समेत रहेका मानिसहरू, नेपाल प्रहरी, संघीय सांसदहरूलगायत सम्पूर्ण निकायहरू सहभागी भई आफ्नो सम्पूर्ण स्रोत, साधन, विज्ञता, क्षमता लगाएर १२०० पृष्ठको प्रतिवेदन निकालियो । त्यसको निष्कर्षले समेत प्रस्ट पार्‍यो र भन्यो कि सहकारीको रकम गोर्खा मिडियामा ल्याउने सम्पूर्ण प्रक्रियामा मेरो संलग्नता छैन । न कहीँ प्रमाण छन्, न प्रतिवेदनमा उल्लेख छ, न मलाई सहकारीमा गएको देख्ने–भेट्ने कोही एकजना भेटिन्छन् ।’

गर्दै नगरेको अपराधको आरोपमा आफ्नो प्रतिष्ठा नै धूलिसात् पार्ने काम निरन्तर चलिरहेको लामिछानेको गुनासो छ । ‘झन्डै डेढ वर्षदेखि आफूले नगरेको अपराधको आरोपमा मेरो प्रतिष्ठा धूलिसात् पार्ने काम निरन्तर चलिरहेको छ । म यो आरोपको कुन मानसिकता र मनोबलका साथ सामना गरिरहेको छु भन्ने कुराको अन्दाज मलाई नै छैन । त्यसैले म निर्दोष छु,’ उनले बयान दिएका छन् । उनले सहकारी ठगीमा दोषीहरूलाई कानुनी दायरामा ल्याएर उनीहरूबाटै असुलउपर गरी पीडितको रकम फिर्ता गर्नुपर्ने माग पनि गरेका छन् ।

इन्कारी बयानमा के भने रविले ?
मेरो स्वर्णलक्ष्मी सहकारी संस्थामा एकल वा संयुक्त कुनै पनि खाता छैन । खाता खोल्न एकल वा संयुक्त रूपमा कहिल्यै निवेदन दिएको पनि छैन । मैले निवेदन दिएको, हस्ताक्षर गरेको, औँठाछाप गरेको वा कुनै किसिमको फारामसमेत भरेको छैन ।

म स्वर्णलक्ष्मी सहकारीको बचतकर्ता, सदस्य, ऋणी, कर्मचारीलगायत कुनै पनि जिम्मेवारीमा रहेको व्यक्ति पनि होइन । उसकै (जिबी) सहकारी, उसैको सफ्टवेयर, उसैका कर्मचारी, उसैको सिस्टम भएपछि सहकारी सञ्चालकहरूले जसको नाम राख्न पनि सक्ने होला ।

कुनै पनि सहकारीमा खाता खोल्न वा सदस्य हुन निश्चित विधि अनिवार्य हुन्छ भन्ने मेरो बुझाइ हो । तर, विनाहस्ताक्षर, विनाऔँठाछाप, विनाकेवाइसी फाराम, विनाउपस्थिति, विनाधितो खोलिएको ऋण खाता प्रथम दृष्टिमै फर्जी हुन आउँछ ।

विभिन्न अनुसन्धान र प्रतिवेदनहरूले उल्लिखित सहकारीलगायत गितेन्द्रबाबु राई संलग्न रहेको सहकारी संस्थाहरूमा किर्ते गरी विधि प्रक्रिया नपुर्‍यार्ई सयौँ मानिसको नाममा नक्कली खाता खोली उनीहरूलाई नक्कली ऋणी बनाइएको भनी सार्वजनिक भएको सुनेको हुँ । तसर्थ, मेरा सन्दर्भमा पनि फर्जी खाता खोलिएको हो भन्ने कुरामा कुनै द्विविधा छैन । सहकारीसँग मेरो कुनै पनि किसिमको साइनो तथा कारोबार थिएन, छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP