शनिबार , बैसाख ६, २०८२

एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम नेकपा एकीकृत समाजवादी (नेकपा एस) मा जाने भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग बेलाबखत संवादमा रहेका उनी पछिल्लो पटक भने नेकपा एसमा जाने अन्तिम तयारीमा छन् ।
‘जसले अध्यक्ष पद दिन्छ, म त्यतै जान्छु’ भन्दै आएका गौतमले नेकपा एसको वरिष्ठ नेता स्वीकार गरेका छन् । उनी नेकपा एसमा अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरीयतामा रहनेछन् । त्यसपछि वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे चौथो वरफयतामा हुनेछन् ।

‘नेकपा एकता राष्ट्रिय अभियान’ गठन गरेका उनी नेकपा एससँग औपचारिक र अनौपचारिक वार्तापछि गौतम वरिष्ठ उपाध्यक्ष बन्न तयार भएका हुन् । तत्कालीन नेकपा सरकार (केपी शर्मा ओली मन्त्रिपरिषद्) को सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई २०७७ असोजमा राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी थिइन् ।

नेकपा एसको महाधिवेशनले पारित गरेको ‘नेपाली विशेषताको समाजवादी कार्यक्रम’ मानेर अघि जान पनि गौतम सहमत भएका छन् । गत असारमा भएको नेकपा एसको महाधिवेशनले नेपाली विशेषताको वैज्ञानिक समाजवादको कार्यदिशा पारित गरेको थियो । गौतम भित्रिएपछि एमालेका पूर्व अध्यक्ष खनाल, पूर्व महासचिव माधवकुमार नेपालबीच फेरि एक पटक राजनीतिक सहकार्य हुने भएको छ । ०७८ भदौ १८ गते गौतमले नेकपा (एमाले) छाडेपछि नेपालका कम्युनिस्ट पार्टीबीच एकता हुनुपर्ने अभियान गठन गरेका थिए ।

गौतम वरिष्ठ उपाध्यक्ष हुन तयार भए पनि उनीसँग रहेका नेताहरूको कार्यविभाजनमा छलफल भइरहेको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र गौतमसहित बुधबार भएको छलफलमा नेताहरूको जिम्मेवारी बाँडफाँट मिलाउन बाँकी रहेको नेकपा एसका उपाध्यक्ष बेदुराम भुसालले बताए । ‘वामदेवजीको नेकपा एकता राष्ट्रिय अभियान नेकपा एकीकृत समाजवादीमा समाहित हुने भन्ने छ,’ उपाध्यक्ष भुसालले भने, ‘पार्टीको नाम एकीकृत समाजवादी र महाधिवेशनले पारित गरेको विचार र सिद्धान्तमा तलमाथि हुँदैन ।’
गौतमको अभियानका नेताहरूको व्यवस्थापनबारे भन्ने के गर्ने भन्ने विषयमा सहमति भइसकेको छैन । एकता अभियानका नेताहरूलाई क्षमताका आधारमा जिम्मेवारी दिइने भुसालले बताए । गौतमले संविधान संशोधनका विषयमा पनि स्पष्ट धारणा बनाएर जानुपर्ने धारणा राखे पनि नेकपा एसका नेताहरूले हालै संविधान कार्यान्वयनमा देखिएका समस्यासम्बन्धी अध्ययन गर्न बनाएको कार्यदलको सुझाव स्वीकार गर्न सहमत भएको उनले बताए । ‘हामीबीच राजनीतिक, वैचारिक र सैद्धान्तिक विवाद छैन । धेरै विषय मिलिसकेको छ,’ उनले थपे, ‘हामीबीच एकताका लागि अन्तिम चरणमा पुगेको छ । अब अर्को चरणमा छलफल भएपछि टुंगोमा पुग्न सक्छ ।’

गौतमले भने एकताका लागि छलफल जारी रहेको उल्लेख गर्दै नेताहरूको कार्यविभाजन बाँकी रहेको बताए । ‘एकताका लागि छलफल भइरहेको छ,’ उनले भने, ‘नेताहरूको जिम्मेवारी बाँडफाँटका केही विषय बाँकी छन् ।’ दुई पक्षबीच राजनीतिक, वैचारिक र सैद्धान्तिक ठूलो विवाद नभएको उनको भनाइ छ । ‘समाज निर्माणका लागि मैले नै विकास गरेको समाजवादी कार्यदिशा मिलाएर कार्यदिशा बनाउनुपर्छ भन्ने प्रस्ताव छ,’ उनले भने, ‘पार्टीमा त्यो लागू गर्नुपर्छ भन्ने छ ।’

नेकपा एसका सम्मानित नेता झलनाथ खनालले वैचारिक कार्यदिशा मिलेपछि मात्र गौतमसँग एकता हुने बताए । एकताका लागि आफूसँग छलफल नभएको भन्दै वैज्ञानिक समाजवादको कार्यदिशामा सहमत भए मात्र गौतमको अभियानसँग एकता हुने बताए । ‘पहिले वैचारिक कार्यदिशा मिल्नुपर्‍यो । हामी वैज्ञानिक समाजवाद भन्छौँ । मान्नु भयो भने एकताको सम्भावना छ,’ उनले भने, ‘वैज्ञानिक समाजवाद मान्नु भएन भने एकता हुन्न । मुख्य कुरा विचार मिल्नुपर्छ ।’

नेकपा एसभित्र गौतमको प्रवेशपछि अन्तरसंघर्ष बढ्ने आकलन भइरहेका बेला खनाल त्यसलाई अस्वीकार गर्छन् । ‘नेताहरूको विचार मिल्ने हो भने अन्तरसंघर्ष भए पनि केही फरक पर्दैन,’ उनले भने, ‘तर वामदेव गौतमसँग एकता गर्न मसँग छलफल भने भएको छैन ।’उनले महाधिवेशनले तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारी र महासचिव मदन भण्डारीको नेतृत्वले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको औचित्य सकिएको बताए । ‘पुँजीवादी जनवादी क्रान्ति भएसम्म बहुदलीय जनवाद कार्यक्रम सही थियो । अब त्यो क्रान्ति सकियो,’ उनले भने, ‘अब समाजवादी क्रान्तिको चरण सुरु भएको छ । त्यसैले वैज्ञानिक समाजवादको बाटोमा अघि बढ्नुपर्छ ।’

नेकपा एसको गत साता बसेको स्थायी समिति बैठकले एकताका लागि गौतमसँग छलफल गर्ने निर्णय गरेको थियो । त्यसपछि एकपटक औपचारिक र तीन, चरणमा अनौपचारिक छलफल भइसकेको छ । गौतमले भने समाजवाद जहिले पनि वैज्ञानिक हुने भएकाले त्यसमा विवाद नभएको बताए । ‘अवैज्ञानिक समाजवाद कहाँ हुन्छ र ?’ उनले भने, ‘समाजवाद आफैमा वैज्ञानिक र व्यवहारिक हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP