मंगलबार , बैसाख २९, २०८३

विशेष अदालतले नेपाल वायुसेवा निगमको दुई वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै तत्कालिन अध्यक्ष सहित चार जनालाई दोषी ठहर गरेको छ ।

विहीबार अवेर फैसलाको संक्षिप्त आदेश सार्वजनिक गर्दै विशेष अदालतले तत्कालीन अध्यक्ष शंकरप्रसाद अधिकारी, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, सञ्चालक समितिका सदस्यहरू बुद्धिसागर लामिछाने र शिशिरकुमार ढुंगानालाई दोषी ठहर गरेको हो ।

विशेष अदालतले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही सहित अरु सबै आरोपित नेपाली नागरिकलाई सफाइ दिएको छ । विमान खरिद प्रक्रियामा संलग्न एस्क्रो कम्पनी र तिनका प्रतिनिधि बाहेक विदेशी आरोपितहरू भने दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर सहित सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले एक अर्ब ४७ करोड रुपैंया नै भ्रष्टाचार भएको ठहर गरेको छ । अख्तियारले आरोपपत्रमा दावी गरेकै अंक भ्रष्टाचार भएको ठहर भएको यो दुर्लभ घटना हो । विशेष अदालतले कसुरदारहरूबाट दामासाहीले बिगो असुल्ने फैसला गरेको छ ।

विशेष अदालतले निगमका महाप्रवन्धक कंसाकारलाई २ वर्ष ६ महिना कैद सजाय सुनाएको छ ।

विशिष्ट पदमा रहेकाले उनलाई थप ३ महिना कैद हुनेछ । तर जेष्ठ नागरिक भएकाले शुरुमा तोकिएको कैदमध्ये आधा मिनाहा हुनेछ । विशेष अदालतले आरोपितहरूलाई १२ करोड २४ लाख रुपैंयाका दरले जरिवाना सुनाएको छ ।

विशेषले तत्कालिन पर्यटन सचिव शंकर अधिकारीलाई एक वर्ष छ महिना अनि थप तीन महिना गरी एक वर्ष ९ महिना कैद सजाय तोकेको छ । सहसचिवहरू शिशिर ढुंगाना र बुद्धिसागर लामिछानेलाई डेढ÷डेढ वर्षका दरले कैद सजाय हुने भएको छ । तत्कालिन सहसचिव ढुंगाना पछि सचिव भएर अवकाश पाएका थिए । लामिछाने भने भ्रष्टाचारको आरोप लाग्नुअघिसम्म पर्यटन मन्त्रालयमै कार्यरत थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भनी तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले २४ जना नेपाली नागरिक र ८ जना विदेशीलाई प्रतिवादी बनाएको थियो ।

विशेष अदालतले बेलायती नागरिक दीपक शर्मालाई दोषी ठहर गरेको छ । उनी अमेरिकाको एएआर कर्पोरेसनका अध्यक्ष हुन् । नेपाल वायुसेवा निगमका लागि वाइडबडी विमान आपूर्ति गर्न छनोट भएको उक्त कम्पनीले पछि अरू दुईवटा कम्पनी जोडेर खरिद सम्झौता गरेको थियो ।

दोषी ठहर भएका जर्मन नागरिक क्रिश्चियन न्ह्युलेन वाइडबडी विमान बिक्री प्रक्रियामा जोडिएका तीनवटा कम्पनीसँग आबद्ध छन् । रोमानियाका नागरिक ओलेग कालिस्त्रुलाई विशेष अदालतले कसुरदार ठहर्‍याएको छ ।

यो समूहले आयरल्याण्डमा हाइफ्लाई एक्स नामक डलर पूँजीको कम्पनी स्थापना गरेको थियो । उक्त कम्पनी जहाज बिक्रीकै लागि खडा गरिएको भेटिएको छ ।

१० फागुन २०७३ मा स्थापित उक्त कम्पनीले एयरबस कम्पनीबाट दुईवटा वाइडवडी विमान खरिद गरी २४ अर्ब रुपैयाँमा नेपाल वायुसेवा निगमलाई बेचेको थियो ।

अख्तियारले उनीहरूमाथि नेपाल वायुसेवा निगमलाई नोक्सान हुने गरी वाइडबडी विमान खरिद सम्झौता गरेको र त्यसबापत भुक्तानी लिएर भ्रष्टाचारको मतियार बनेको आरोप लगाएको थियो ।

विशेष अदालतले एस्क्रो अकाउन्ट सञ्चालन गर्ने कम्पनी र तिनका प्रतिनिधि बाहेक विमान खरिदमा जोडिएका सबै कम्पनी र तिनका सञ्चालक एवं प्रतिनिधिलाई दोषी ठहर गरेको छ ।

निगमसँग सुरूमा ठेक्का सम्झौता गरेको अमेरिकाको एएआर इन्टरनेसन र त्यसका अध्यक्ष एवं सीईओ जोन होल्मेस थियो । त्यसैगरी जर्मनीको जर्मन एभिएसन क्यापिटल र उक्त कम्पनीका प्रबन्ध निर्देशक आना टोपा, पोर्चुगलको हाइफ्लाई ट्रान्सपोर्ट एरोज र उक्त कम्पनीका अध्यक्ष पाउलो मिरपुरीविरुद्ध पनि दोषी ठहर भए ।

आयरल्याण्डको हाइफ्लाई एक्स, उक्त कम्पनीका निर्देशकहरू गेराल्ड थ्रोन्टन र क्रिश्चियन न्ह्युलेन पनि कसुरदार ठहर भएका छन् ।

वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ चैत, २०८० मा विशेष अदालतमा ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP