आइतबार , बैसाख ७, २०८२

आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको देशको लागि हो कि तीर्थयात्रामात्रै हो ? भन्दै प्रश्न गरेका छन् । आजबाट सुरू भएको पार्टीको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष साहले प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे सिंगो देश र जनतालाई जानकारी गराउनुपर्नेमा त्यसो नगरिएको भन्दै प्रश्न उठाए ।

साहले अहिले विश्वसामू नै नेपालको इमेज खस्किँदै गएको टिप्पणी गरे । उनले भने,‘आज विश्वसामू नेपालको इमेज खस्किँदै गैरहेको छ । यो सरकारको व्यक्तिवादी र निहीत स्वार्थ अनि सोचको कारण यस्तो अवस्था भएको हो । छिमेकीहरुसँगको हाम्रो सम्बन्ध पनि धराशयी हुँदैछ । हामी सुन्दैछौं प्रधानमन्त्री चीन जाँदै हुनुहुन्छ । यो भ्रमणको लागि भ्रमण हो कि तीर्थयात्रा हो ? देशको लागि भ्रमण हो कि व्यक्तिगत भ्रमण हो ? चीन भ्रमणबारे जनतालाई थाहा दिनुपर्ने हो, तर आज हामी अन्यौलमा छौं । प्रधानमन्त्रीको भ्रमण एउटा व्यक्तिगत भ्रमण हुने, निहित स्वार्थमा हुने कि देश र जनताको लागि भ्रमण हुने ? यो गम्भीर प्रश्न खडा छ । अहिले नेपालको विभिन्न देशसँगको कुटनीतिक सम्बन्ध कमजोर हुँदैछ । ध्वस्त हुँदैछ ।’

पूर्वमन्त्री साहले मुलुकमा यतिवेला लोकतन्त्रविरोधी गतिविधि बढेकोमा चिन्ता व्यक्त गरे । देशको बागडोर सम्हालेको सरकार प्रमुखको गतिविधिकै कारण यस्तो अन्यौलपूर्ण अवस्था सिर्जना भएको साहको टिप्पणी छ । उनले भने,‘देशमा यतिवेला लोकतन्त्रविरोधी गतिविधि दिनानुदिन बढ्दो छ । सुरक्षाको जिम्मा पाएको सरकारबाट नै जनता असुरक्षित छन् । अभिव्यक्ति स्वतन्त्रताको अधिकार यतिवेला मजाक बनेको छ । अहिले त सरकारले जे पनि गर्ने तर जनताले विरोध पनि गर्न नपाउने अवस्था बनाईएको छ । सडकमा नागरिकले शान्तिपूर्ण आन्दोलन गर्दा अपराधी हुने, तर प्रधानमन्त्रीले सडकमै मञ्च बनाएर सभा गर्दा महान हुने ?’

साहले सरकारको नेतृत्वमा बसेका दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले) कानूनभन्दा माथि बन्न खोजेको आरोप लगाए । उनले भने,‘अहिले कानूनले एमाले र कांग्रेसलाई छुँदैन् । अस्ति एमालेले त्यत्रो सडकमा फोहोर गर्यो, उसले त्यो सफा गर्ने दायित्वपनि ठानेन । काठमाडौं महानगरपालिकाले कानूनअनुसार जरिवाना तोक्दापनि स्विकार्य भएन । किनकी एमाले र कांग्रेस अहिले कानूनभन्दा माथि छन् भन्ने सन्देश प्रवाह भैरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको, कांग्रेस र एमालेको त आलोचना नै गर्नुहुँदैन्, यदि आलोचना गर्यो भने मुद्दा लागिहाल्छ । साईबर क्राइम थेग्नुपर्छ । प्रधानमन्त्री ओलीको आलोचना गर्दा र प्रश्न उठाउँदा त्यसको छानबिन हुनुपर्ने हो, तर आज कानूनी शासनको उपहास हुँदैछ ।’

साहले वर्तमान कांग्रेस–एमालेको सरकार जग नै अलोकतान्त्रिक भएको टिप्पणी गरे । उनले थपे,‘यो सरकार गैरलोकतान्त्रिक धरातलमा बनेको छ । यो सबै जनतालाई पनि थाहा छ । होईन भने म प्रधानमन्त्रीजीलाई प्रश्न गर्न चाहन्छु–गत चुनावमा तपाईंले कांग्रेससँग प्रतिष्पर्धा गर्नुभएको थियो । कांग्रेससँग चुनाव लड्नुभएको थियो, तर आज कांग्रेससँग सरकार बनाउनुभयो । कुन नैतिकताले बनाउनुभयो ? तपाईं नैतिकवान भएको भए कांग्रेससँग सरकार बन्दैन थियो । कुनैपनि लोकतान्त्रिक देशमा जनादेशविपरित जाने अधिकार हुँदैन्, तर तपाईंले जे पनि गर्न थालिरहनुभएको छ, त्यो अलोकतान्त्रिक छ । अहिले देशको अर्थतन्त्र बर्वाद गर्नुभयो । मनपरी कर असल्नुभएको छ । सरकारपिच्छे करको आतंक छ । तर, सरकारले आफ्नो दायित्व केही पनि बुझेको छैन् । सरकार मातहतका उद्योग बन्द छन् । व्यक्तिगत उद्योग चाहीँ किन नाफामा छन् । सरकारी उद्योग र संस्थानहरु सबै घाटामा छन् । सरकारी अस्पताल, विद्यालय, विश्वविद्यालय सबै अस्तव्यस्त छन् । अब जनतलाई ऋण बोकाउने काम सह्य हुँदैन । अहिले जनतालाई सरकारले आँफै कुट्ने र रुन नदिने अवस्था सिर्जना गरेको छ । यो चिन्ताको विषय हो । आज राष्ट्र नै खतरामा छ । राष्टिय पुँजी विदेश पलायन गरिएको छ । अहिले तमाम बेथिति र बर्वादीको अवस्था सिर्जना गरिएको छ, देशमा लोकतन्त्रको रक्षाको लागि तेस्रो जनआन्दोलनको अवस्था छ । यो बैठकले त्यस दिशामा ऐतिहासिक निर्णय लिने अपेक्षा लिएको छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP