मंगलबार , बैसाख २९, २०८३

नेकपा (एमाले) ले व्यवसायी मिनबहादुर गुरुङबाट दान लिएको १० रोपनी १४ आना जग्गालाई लिएर पार्टी पंतिमा चरम निराशा छाएको छ । पार्टी केन्द्रीय कार्यालय बनाउन दान लिइएको जग्गाको विषयलाई लिएर नेता तथा कार्यकर्ताहरु खुसी छैनन् भन्ने कुरा केन्द्रीय नेताहरुको अभिव्यक्तिले प्रष्ट हुन्छ । यद्यपछि उक्त दाने जग्गाका हक हस्तान्तरण नगर्न भन्दै सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेशसमेत जारी गरिसकेको छ ।

‘सुविधा सन्तुलनको दृष्टिले अन्तरिम आदेशको छलफलबाट टुङ्गो नलागुन्जेलसम्म निवेदन दाबी बमोजिम विपक्षीहरूबिच निवेदनमा उल्लेखित मिति २०८१। ६।२५ मा दान लिएको भनिएको १० रोपनी १४ आना जग्गा दान लिई हक हस्तान्तरण लगायतको काम कारबाही नगर्नु नगराउनु,’– एमालेले दान लिएको जग्गाविरुद्धमा परेको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गर्दैै सर्वोच्चले भनेको छ, ‘….विपक्षी एमाले विगतको आवधिक निर्वाचन मार्फत प्रतिनिधिसभामा दोस्रो ठुलो दलका रूपमा निर्वाचित भई उक्त दलका अध्यक्ष वर्तमानमा प्रधानमन्त्रीका रूपमा मुलुकको प्रमुख कार्यकारी पदमा कार्यरत रहेको समेत देखिएको हुँदा प्रधानमन्त्रीको दलले अर्का विपक्षीसँग जग्गा दान लिएको विषय सार्वजनिक चासो र निवेदक जस्ता आमनागरिकसँग सार्थक रूपमा सम्बन्ध जोडिएको विषय हो भन्नेमा अन्यथा मान्नुपर्ने देखिएन ।’

पार्टी बागमती प्रदेश सम्पर्क समितिले आयोजना गरेको देउसी भैलो कार्यक्रममा सहभागी भएका एमाले उपमहासचिव, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दाने जग्गाबारेमा पार्टीका नेता तथा कार्यकर्ताहरुले बचाउ नगरेको भन्दै आक्रोश व्यक्त गरे । सबै दललले अहिलेसम्म अध्यारो कोठामा बसेर लेनदेन गरी कार्यालय बनाएको दाबी गर्दै उनले एमालेले लिएको सहयोग घामजस्तै छर्लङ्ग रहेको बताए । एमालेले पारदर्शी रुपमा पार्टी कार्यालय बनाउन जग्गा दान लिएपनि नेता तथा कार्यकर्ताले पार्टीको निर्णय सही थियो भनेर सार्वजनिक रुपमा बोल्ने हिम्मत नगरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

उनले दाने जग्गाले पार्टी पंत्तिमा चरम निराशा छाएको तर्फ लक्षित गर्दै भने, ‘हाम्रो पार्टीलाई सहयोग गर्छु भन्नुभयो एक जना समर्थकले । निकै ठूलो रकम सहयोग गर्छु भन्नुभयो । पार्टीलाई सहयोग गर्छु भन्ने कुरा नाराम्रो थिएन । पार्टीले लिनसक्छ, खुल्ला रुपमा, घामजस्तै छर्लङ्ग छ । कुनै अध्यारो कोठामा लेनदेन गरेर त्यो सम्झौता गरेको थिएन । हामीलाई थाहा छ नि यो मुलुकमा जति पनि दलहरुले भवन भनाएको छ, उनीहरुले अध्यारो कोठामा लेनदेन गरेर नै बनाएको छ । व्यवसायीबाटै सहयोग र दान लिएर बनाएको छ । त्यसलाई यति ठूलो विषय बनाइयो, हामीले त्यसलाई कसैले सार्वजनिक रुपमा आएर यो सही थियो भनेर कोही निस्किएन । पार्टीको निर्णय सही थियो भनेर किन कोही ननिस्किएको ?’

त्यस्तै, पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले ओखलढुङ्गा काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा दिएको अभिव्यक्तिले झनै नेता तथा कार्यकर्तामा चरम निराशा छाएको संकेत गर्छ । उनले व्यवसायी गुरुङ विद्यार्थी कालदेखि नै एमालेको राजनीतिमा जोडिएको स्मरण गराउँदै उनले दिएको ‘सहयोग लिने कि नलिने त ?’ भन्दै नेता तथा कार्यकर्तालाई प्रश्न गरे । व्यवसायी गुरुङले पारदर्शी ढंगले एमालेलाई जग्गा दान दिएको बताउँदै यसले पार्टी पंत्तिको अपमान नहुने बताए ।

‘मिनबहादुरजी भनेको को मान्छे हो तपाईँहरु चिन्नुहुन्छ । खोटाङको मान्छे, हिजोदेखि नै उहाँ कुन स्वभावको हुनुहुन्थ्यो, थाहा भएको कुरा हो । तपाईँहरुलाई म एउटा तथ्य बताउन चाहन्छु– २०६४ सालको संविधान सभाको निर्वाचनको बेलामा पार्टीको तर्फबाट समानुपातिक सदस्य बन्नुस् भनेर प्रस्ताव गरिएको मान्छे हो उहाँ । उहाँले भन्नुभयो– म व्यवसायमा छु, म नजाने, अरु पार्टीकै साथीहरुलाई गर्नुस् । किन त्यसो भन्यो त पार्टीले भन्दा उहाँ सुरुदेखि नै विद्यार्थी संगठन, विद्यार्थी आन्दोलनमा लागेको, पार्टीसित सम्बन्धित रहँदै आएको व्यक्ति हुनुहुन्थ्यो । पछि व्यवसायमा लाग्नुभयो । उहाँले पारदर्शी ढंगले आफ्नो जमिन दिन्छु, घर बनाइदिन्छु भनिसकेपछि तपाईँहरु भन्नुस् लिने कि नलिने ? यो कहाँ अपमान भयो पार्टी पंत्तिलाई ? कसैले सहयोग गर्न चाहन्छ भने सहयोग लिने कि नलिने ?’ उनले नेता तथा कार्यकर्ताहरुलाई प्रश्न गर्दैै वरिष्ठ उपाध्यक्ष पोखरेलले भने ।

वरिष्ठ उपाध्यक्ष पोखरेल र उपमहासचिव गुरुङ दाने जग्गाको बचाउनमा लाग्ने प्रतिनिधि पात्रमात्रै हुन् । एमाले केन्द्रीय स्तरका नेताहरुलाई दाने जग्गाको पक्षमा बोल्न धौ–धौ परिरहेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको विश्वास पात्रका रुपमा चिनिएका गोकुल बास्कोटा, महेश बस्नेतलगायतको समेत दाने जग्गाले बोली बन्द गरिदिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP