मंगलबार , बैसाख २९, २०८३

बाहिर भन्नको लागि अहिले कांग्रेस र एमालेको सरकार भन्छन् । तपाईं/हामीले पनि त्यही भन्छौं । भित्री रूपमा तपाईंहरु हेर्नुहुन्छ भने नेपाली कांग्रेस बनाउनेहरु अहिले नेतृत्वमा छैनन् । उता, एमाले बनाउनेहरुपनि अहिले नेतृत्वमा छैनन् । एमाले बनाउनेहरु अहिले उत्पीडित र प्रताडित भएका छन् । कांग्रेस बनाउनेहरुपनि प्रताडित छन् । कांग्रेस र एमालेलाई प्रतिगामी यात्रामा लैजाने र राजासँग मिलाउनेहरु अहिले नेतृत्वमा छन् । जुनबेला नेपालमा लोकतन्त्रको लडाईं चलिरहेको थियो, जनताले लोकतन्त्र खोजिरहेका थिए । त्यतिवेला नेपाली कांग्रेस दुई धार थियो । एउटा धार जो राजाको शासनलाई निरन्तरता दिन चाहन्थ्यो । अर्को धार नेपालमा लोकतन्त्र ल्याउन चाहन्थ्यो । अहिलेको जो नेतृत्व छ- त्यो जनताको धारको पक्षधर नेता होईन । लोकतन्त्र चाहने नेता होईन । नेपाली कांग्रेसलाई राजासँग मिलाउन चाहने नेतृत्व अहिले कांग्रेसको नेतृत्वमा छन् ।

कांग्रेसजस्तै एमालेभित्र पनि दुई धार थियो । एमालेको पनि एउटा धार जनआन्दोलनलाई सहयोग गर्न चाहन्थ्यो । देशमा लोकतन्त्र स्थापना गर्न चाहन्थ्यो । अर्को धार, राजाको शासनलाई स्थायित्व दिन चाहन्थ्यो । राजाको शासनलाई निरन्तरता दिन चाहने र देशमा निरंकुशतालाई बलियो बनाउन चाहने कांग्रेस र एमालेभित्रको त्यो धार अहिले नेतृत्वमा छ । अहिलेको कांग्रेस र एमालेको यो गठबन्धनलाई राजावादी या प्रतिगामी गठबन्धन भनेपनि हुन्छ ।

अहिलेपनि नेपाली कांग्रेसभित्र जो प्रजातन्त्र र अग्रगमनको लागि लडे, तिनीहरु अहिलेपनि दमित छन् । कांग्रेस कांग्रेसजस्तो छैन् । उनीहरुले आफूलाई कांग्रेसी भनेपनि कांग्रेसमा उनीहरुको कुनै महत्व (भ्यालु) छैन् । एमालेभित्र पनि त्यस्तै देखिन्छ । एमालेभित्र जो राजाको सक्रिय शासन चाहन्थे र राजाको शासनको निरन्तरता चाहनेहरु नै अहिले नेतृत्वमा छन् । अहिलेको यी पात्र र प्रवृत्तिलाई हेर्नुहुन्छ भने देशलाई पछाडि धकेल्न चाहनेहरु अहिले देशको नेतृत्वमा छन् । देशलाई पछि धकेल्नको लागि यिनीहरुले अन्तिम प्रयास गर्दैछन् । यी दुईवटै नेतृत्व (शेरबहादुर देउवा र केपी शर्मा ओली) देशलाई पछाडि धकेल्न र देशलाई गुमराहमा पार्न अनि जनतालाई अझै दुःख दिन गठबन्धनको नाममा एउटा अन्तिम प्रयास गर्दैछन् ।

देशले यतिवेला यो संकटको अवस्थामा एउटा ध्रुवीकरण खोजिरहेको छ । अहिले देश र जनतालाई अग्रगामी दिशामा अघि बढाउने एउटा कित्ता छ । अर्को कित्ता देशलाई पछि धकेल्ने छ । कांग्रेस र एमालेको गठबन्धनलाई देशमा दुई ध्रुवीकरणको सुरुवातको रुपमा लिनुपर्छ । यसअघिसम्म देशमा तीन वटा ध्रुव देखिएको थियो । एउटा जनताको शासन चाहने, अर्को दलको शासन र तेस्रो ध्रुव भनेको राजाको शासन चाहने ध्रुव थियो । अब क्रमशः देश दुई ध्रुवमा विभाजित हुँदैछ । एउटा अग्रगामी र अर्को पश्चगामी । जब–जब देशमा प्रतिक्रियावादीहरुले उल्टो बाटो लिने र अधिकार खोस्ने दुष्प्रयास र कुचेष्टा गरेका छन्, तब–तब देशमा विस्फोट भएको छ । हिजोका आन्दोलन हेर्न सक्छौं । जब ज्ञानेन्द्र राजाले सक्रियता देखाए र जनताको भएका अधिकार पनि खोस्ने कोशिस गरे, देशमा दोस्रो जनआन्दोलन भयो । र, आज मुलुक गणतन्त्रमा आयो । आज हिजोको ज्ञानेन्द्रकै जसरी प्रतिक्रियावादीहरुले दुस्साहस गर्दैछन् । कांग्रेस र एमाले मिलेर भएका अधिकार पनि खोस्ने प्रयास गरिरहेका छन् ।

अहिलेको यो कांग्रेस र एमालेको गठबन्धन आज बनेको गठबन्धन होईन, पहिलापनि यी दुई दलले गठबन्धन बनाएका थिए । जहिले जहिले कांग्रेस र एमालेको गठबन्धन बनेको छ, त्यतिवेला नेपाली जनताले दुःख पाएको इतिहास छ । २०६१ सालको ज्ञानेन्द्रको शाहीकालको सरकार यस्तै थियो । त्यतिवेला केपी ओलीजीको पार्टी एमाले शेरबहादुर देउवाजीको सरकारमा थियो । आज ओलीजीको नेतृत्वमा सरकार छ, त्यसमा देउवाजीको पार्टीपनि सहभागी छ । देउवाजीको ज्ञानेन्द्रको शाहीकालको सरकारमा एमालेपनि सामेल थियो, त्यतिवेला जनताले कसरी दुःख पाए भन्ने कुरा हामीले अहिलेपनि बिर्सिएका छैनौं । संविधानसभा भयो, संसद्वादी र माओवादी मिलेर दोस्रो जनआन्दोलन सफल भयो । अन्तरिम संविधान बन्यो । लगत्तै कांग्रेस र एमालेको सहकार्य भयो । त्यसले के गर्यो भन्दा देशमा गणतन्त्रका प्रणेता रामराजा प्रसाद सिंहलाई गणतन्त्रको राष्ट्रपति हुनबाट रोक्यो । हुन दिईएन । दोस्रो कांग्रेस र एमालेले संविधान बन्न दिएनन् । संविधान जसरीपनि बनाउन नदिने अठोटका साथ उनीहरुको गठबन्धन भएको थियो । अन्तमा खिलराज रेग्मीलाई अन्तरिम मन्त्रिपरिषद्को अध्यक्ष बनाएर संविधानसभा समाप्त गरे । दोस्रो संविधानसभाको निर्वाचन भयो, फेरि कांग्रेस र एमाले मिले । उनीहरुले कामै नलाग्ने संविधान बनाए । देशलाई गुमराहमा राख्ने र भएका अधिकार खोस्ने काम गरे । अधिकारविहीन संविधान बनाए । अहिले त्यही संविधानमा भएको अधिकारलाई पनि खोस्ने प्रयास गर्दैछन् । कांग्रेस र एमालेले पहिलो संविधानसभाबाट संविधान बनाउन दिएनन् । दोस्रो संविधान सभाबाट संविधान बिगार्ने काम गरे । र, अहिले तेस्रोपटक उनीहरु भएको संविधानको अधिकार पनि खोस्न खोज्दैछन् । अब त्यतातर्फ हाम्रो नजर हुन जरुरी छ ।

देशमा हामी जनताको शासन चाहन्छौं । हामी जनतालाई मालिक देख्न चाहन्छौं । अहिले देशमा दलतन्त्र छ । जनताको शासन छैन् । जनताबाट चुनिएका जनप्रतिनिधिहरु निरीह छन् । सांसदहरु पार्टीसामू एउटा कारिन्दाको रुपमा देखिएका छन्। उनीहरुको कुनै महत्व छैन् । चुनावकै कुरा गर्नुहुन्छ भने कांग्रेस र एमालेले के भनेर भोट मागेका थिए ? कांग्रेसले एमालेको नेतृत्वमा सरकार बनाउँछु भनेर भोट मागेको त थिएन नि ? अहिले किन बनायो ? प्रदेश सरकारको कुरा गर्दा एमालेले पनि कांग्रेसको नेतृत्वमा सरकार बनाएको छ । एमालेले पनि चुनावमा भोट माग्दा कांग्रेसको नेतृत्वमा सरकार बनाउँछु भनेर त भोट मागेको थिएन नि ? जनतासामू जे भनिएको थियो, त्यही गर्नुपर्दथ्यो । त्यसलाई बास्तवमा लोकतन्त्र भनिन्छ । आज नेताहरुमा इमानदारिताको खडेरी छ । व्यापारीकहाँ जानुहोस, पैसा दिएपछि सामान दिन्छ । चिकित्सककहाँ जानुहोस, विरामी पुर्जा काटेपछि उपचार गर्छ । वकिलकहाँ जानुहोस, सेवा शूल्क (फी) बुझाएपछि अदालतमा बहस गर्छ । तर, यी नेताहरुले त जनताले भोट दिँदापनि उल्टो काम गरेका छन् । जे भनेको हो, त्यसको ठीकविपरित काम गर्छन् । कांग्रेसको सरकार बनाउँछु भन्नेहरुले एमालेको सरकार बनाईराखेका छन्, अनि एमालेको सरकार बनाउँछु भन्नेहरुले कांग्रेसको सरकार बनाईराखेका छन् । कांग्रेस र एमालेले अहिले लोकतन्त्रको भद्दा मजाक गरिरहेका छन् । यिनीहरुले जनतालाई निरीह ठानेका छन् । जनता केही पनि होईन भन्ने ठानेका छन् । हिजो राजाले पनि जनतालाई यति निरीह ठानेका थिएनन् । राजापनि जनतासँग डराउँथे । तर, यी नेताहरु यति निर्लज्ज भैसके कि जसले जनतालाई केही पनि ठानेका छैनन् । अब जनताले आफ्नो तागद देखाउने बेला आएको छ । बास्तवमा जनता निरीह छैनन् । जनताको तागद छ । अहिले जनताले हामी दास नभई मालिक हौं भनेर देखाउने दिन आयो ।

कांग्रेस र एमालेका नेताहरुले अहिले मिलेर सरकार बनाउनुको कारण देशमा स्थिरता र सुशासनको लागि हो भनेर भाषण गरेका छन् । यसको सारमा हेर्नुहुन्छ भने अहिलेसम्म देशमा कुशासन कसले ल्यायो ? अहिलेसम्म भ्रष्टाचार कसले ल्यायो ? अहिलेसम्म देशमा अस्थिरता कसले ल्यायो ? यीनै पार्टी होईनन् ? कांग्रेस र एमालेले नै हो नि अहिलेसम्म सबै सरकारको नेतृत्व गरेका छन् । यो देशमा कांग्रेस र एमालेबिना कुनै सरकार नै बनेको छैन् । २०४६ सालदेखि यताका सबै सरकारमा दुई वटै पार्टी सरकारमा छन् । देशमा जतिपनि काण्ड र महाकाण्ड घटेका छन्, सबैका नाईके यिनीहरु नै हुन् । सबै काण्डमा यीनकै मान्छेहरुको नाम आउँछ । यीनैका नेता मुछिएका छन् । उनीहरुले भ्रष्टाचार हटाउनको लागि मिलेको भनेका छन्। अस्थिरता हटाउनको लागि भनेका छन् । तर, अहिलेको सरकारपनि भागबण्डावाला सरकार हो । हिजो प्रचण्डसँग एमालेले गर्दापनि यस्तै भागबण्डा थियो । अनि प्रचण्डसँग कांग्रेसले गर्दापनि यस्तै भागबण्डा थियो । प्रचण्डसँग सरकार बनाउने संख्या त पक्कैपनि थिएन । उहाँलाई प्रधानमन्त्री बनाउनको लागि कहिले एमाले त कहिले कांग्रेसले नै काँध थापेको थियो नि । जसले काँध थापेर देशलाई अस्थिर बनाए, उनीहरु दोषी हो कि होईन भन्ने पनि प्रश्न आउँछ ।

हामी के हेरिरहेका छौं भने देशलाई प्रतिगमनतर्फ लैजान कांग्रेस र एमालेको नेतृत्व हाबी भएको कारण हामीले छिट्टै ठूलो र निर्णायक जनआन्दोलनको आवश्यकत्ताको बोध गरेका छौं । एउटा ठूलो उथलपुथल र क्रान्तिको आवश्यकत्ता हामीले महशुस गरेका छौं । यदि नेपाली जनताको नेतृत्व हामीले गर्न सकेनौं भने देशलाई बचाउन सक्दैनौं । यतिवेला देशमा आर्थिक रूपमा ठूलो हाहाकार छ । राजनीतिक संकटमात्रै नभएर आर्थिक संकटपनि भयंकर छ । बैंकमा पैसा छैन भनिएको छ । उद्योपति तथा व्यापारीसँग पैसा छैन भनिएको छ । जहाँ जानुहोस, पैसाको ठूलो हाहाकार छ । यो संकटको अन्तर्य खोज्नैपर्छ ।

देशमा व्यापार तथा व्यवसाय हिजोभन्दा धेरै बढेको छ । उद्योग धन्दापनि हिजोभन्दा धेरै बढेका छन् । अहिले वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्यापनि ठूलो छ । हिजो त नेपालीहरु कमाउनको लागि भारतसम्म मात्रै जाने गर्दथे । आजको अवस्था फरक छ । आज नेपालीहरु विश्वका कुना कुनामा पुगेका छन् । काम गरिरहेका छन् । देशमा रेमिट्यान्स (विप्रेषण) पनि बढेको छ । कृषिको दायरापनि बढेको छ । सबै क्षेत्रमा हाम्रो दायरा फराकिलो बनेको छ । तर, आज किन र कसरी देशमा आर्थिक संकट छ ? यो खोजीको विषय हो ।

नेपालमा अहिले भगौडा वर्ग हाबी छ । नेपालमा लुटेर विदेश लैजाने भगौडा दलाल वर्ग हाबी भएको छ । जसरी अंग्रेजहरु इण्डियामा लुटेर बेलायत लैजान्थे । उनीहरु बेलायती थिए र मान्छे चिन्न सजिलो भयो । तर, आज नेपाली टोपी लगाएका मान्छेहरु र नेपाली अनुहारहरु नेपाललाई लुट्ने र विदेशमा पुर्याउने काम गरिरहेका छन् । तिनीहरुलाई चिन्न कठिन छ । छद्यमभेषीहरु हाबी छन् । हामीले सर्वप्रथम यो भगौडा लुटेरा वर्गलाई चिन्न जरुरी छ । हाम्रो पार्टीले भनेको छ–अहिलेको राज्य भनेको मुठ्ठीभर दलको हो । ती दलका पनि मुख्य नेताहरुको हो ।

यो राज्यको चरित्र लुटकारी छ । देशमा लुट्ने र विदेश पुर्याउने वर्गको हाबी छ । लुट्ने र भाग्नेहरु हाबी छन् । अहिले विदेशमा दुई थरि नेपाली छन् । एकथरि छ, जसको शरिर विदेशमा छ तर मन नेपालमा छ । विदेशमा श्रम गरेर कमाएर नेपाल पठाउने नेपाली छन् । उनीहरु बास्तवमै यो देशका सुपुत्र हुन् । गौरव हुन् । देशभक्त हुन् । अर्कोथरि छ, नेपालमै बस्ने त्यो पनि उच्च ओहोदामा बस्ने अनि यहाँ भएभरका पैसा लुट्ने र विदेशको पिआर (स्थायी बसोबास) र ग्रिनकार्ड लिने । तिनीहरुको शरिर नेपालमा छ तर मन भने विदेशमा हुने गरेको छ । यहाँबाट लुटेर विदेश पुर्याउने वर्ग खतरनाक छ । नेपालको राजकाज चलाएकाहरु, जतिपनि रिटार्यड (सेवानिवृत्त) सचिवहरु, न्यायाधीशहरु, माथिल्लो दर्जाका सुरक्षाकर्मीहरु छन्, त्यसमा ८० प्रतिशत विदेश गैसके । उनीहरुले आफ्नो सम्पत्ति बेचेर विदेश लगेका छन् । त्योपनि अवैध ढंगले । नेपालको कानून र संविधानले त्यसलाई बर्जित गरेको छ । नेपालको माया हुनेहरुले अब नेपालको सम्पत्ति बेचेर विदेश पुर्याउने कामलाई तत्काल रोक्नुपर्छ । देश डुबिरहेको छ । हामी यत्तिकै टुलुटुल हेरेर नबसौं । देश बचाउनको लागि धेरै नै ढिलाई भएको छ । देश बचाउनको लागि निर्णायक कदम चालौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP