मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगमा काटिएको बिजुलीको लाइन तत्काल जोड्न निर्देशन दिए पनि नेपाल विद्युत प्राधिकरणले अस्वीकार गरेको छ । प्राधिकरणले लिखित निर्देशन आउनुपर्ने भन्दै काटिएका विजुली जोड्न अस्वीकार गरेको हो ।

प्रधानमन्त्री ओलीले हिजो ऊर्जामन्त्री दीपक खड्का, उद्योगमन्त्री दामोदर भण्डारी, नेपाल विद्युत प्राधिकारणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र उद्योगीसँग बालुवाटारमा छलफल गरी काटिएको विद्युत लाइन जोड्न प्राधिकरणलाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनपछि प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले बोर्डको बैठकले निर्णय गरेर मात्रै लाइन जोड्ने जवाफ दिएका थिए । त्यसपछि प्रधानमन्त्रीले हिजै बोर्ड बैठक बसेर काटिएका उद्योगमा लाइन जोड्न निर्देशन दिएपछि बेलुकी ऊर्जा मन्त्रालयमा प्राधिकरणको बोर्ड बैठक बसेको थियो ।

बैठकले मन्त्रिपरिषद् वा ऊर्जा मन्त्रालयको लिखित निर्देशन नआएसम्म काटिएका उद्योगमा बिजुली नजोड्ने अडान लिएपछि कुनै निर्णय हुन नसकेको हो । प्रधानमन्त्री ओलीले डेडिकेटेड र ट्रंकलाइन विद्युत बक्यौता विवाद समाधानका लागि भएको छलफलमा उद्योगीहरुसँग लिनुपर्ने रकम लिने पनि र लाइन पनि जोडिदिने गरी अघि बढ्न निर्देशन दिएका थिए । ‘प्राधिकरणको बोर्डबाट निर्णय हुने प्रक्रिया पनि पूरा नहुने देखियो । शुक्रबार उर्जा मन्त्रालयबाट पत्र बनाउन कर्मचारी पनि मन्त्रालयमा थिएनन् । त्यसो हुँदा निर्णय गर्न सकिएन,’ उर्जामन्त्री दीपक मन्त्री खड्काले भने ।

तर मन्त्रालय स्रोतका अनुसार यी दुवै कुरा गलत हुन् । बोर्डमा घण्टौंअघि प्रस्ताव जानु नपर्ने स्रोत बताउँछ । बोर्डमा मन्त्रालयले कुनै कागजात पठाउनु पनि पर्दैन । प्रधानमन्त्रीको निर्देशन अनुरुप उद्योगीहरुसँग लिनुपर्ने रकम लिने पनि र लाइन पनि जोडिदिने प्रयास गरेको भए पनि सफल हुन नसकेको मन्त्री खड्काले बताएका छन् ।

प्रधानमन्त्रीसँगको छलफलमै कार्यकारी निर्देशक घिसिङले लाइन जोडिदिने विषयमा आफूले केही निर्णय गर्न नसक्ने बताएपछि प्रधानमन्त्रीले ‘तपाई निर्णय गर्नु हुन्न भने तपाईंका बारेमा हामी निर्णय गर्छौं’ भनेको स्रोत बताउँछ । यसरी प्रधानमन्त्रीले स्पष्ट रुपमा आफूलाई हटाउने संकेत गरेपछि र मन्त्री खड्का समेत शुक्रवार नै बोर्ड बैठक बोलाउन तयार भएपछि बैठक भयो । तर घिसिङले प्रक्रिया देखाएर अड्को थापेको स्रोतले बताएको छ ।

यसअघिको सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षताको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सन्दर्भमा गोलमटोल निर्णय गरेको थियो । पूर्ववर्ती सरकारले २०८० पुस २४ गते डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद अध्ययन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश लालको नेतृत्वमा ‘विद्युत् महसुल विवाद समाधान जाँचबुझ आयोग’ बनाएको थियो । तर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ कुनै पनि हालतमा लाल आयोगको प्रतिवेदन कार्यान्वयन हुन नदिने र महसुल उठाउने पक्षमा छन् ।

पूर्ववर्ती सरकारको पूर्ण समर्थन पाएका घिसिङ नयाँ सरकार बनेसँगै डेडिकेटेड तथा ट्रंकलाइन प्रकरणमा आफ्नो अडानमा कमजोर भएका छन् । विद्युत प्राधिकरणले दुई हप्ताअघि ट्रंकलाइन र डेडिकेटेड लाइन प्रयोगको बक्यौता नतिर्ने ठूला उद्योगको लाइन काट्न शुरु गरेको थियो । प्राधिकरणले बक्यौता नतिर्ने रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, हुलास स्टिल र जगदम्बा सिन्थेटिक्स गरी ६ उद्योगमा बिजुलीको लाइन काटेको छ ।

प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्म ६१ वटा उद्योगले प्रयोग गरेको डेडिकेटेड र ट्रंकलाइनको जरिवानासहित आठ अर्ब २६ करोड बक्यौता तिर्न बाँकी रहेको बताउँदै आएको छ । डेडिकेडेट फिडर र ट्रंक लाइनमार्फत वितरण गरिएको विद्युत् महसुल दरको भुक्तानीलाई लिएर विद्युत् प्राधिकरण र उद्योगीहरूबीच २०७५ सालदेखि नै विवाद हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP