आइतबार , असार १४, २०८३

सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा भएको अपचलनबारे छानबिन गर्न संसदीय समिति बन्ने लगभग पक्का भएको छ । भोलि समिति गठनसँगै संसदको अवरोध पनि हट्ने नेताहरुले बताएका छन् ।

लामिछाने गृहमन्त्री भएसँगै अनुसन्धान रोकिएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लगातार संसद अवरुद्ध गरेपछि सत्तारुढ दलहरु छानबिनका लागि संसदीय समिति बनाउन ५ जेठमा सहमत भएका थिए ।

तर संसदीय समितिको कार्यादेश (टीओआर) मा सहमति जुट्न सकेन । गृहमन्त्री लामिछानेको नाम वा गोर्खा मिडियाका प्रबन्ध निर्देशक पद राख्ने कि नराख्ने भन्ने विवाद कायमै रह्यो ।

कांग्रेसका सांसदहरुको वेल घेराउ र नाराबाजीका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ७ जेठमा विश्वासको मत लिए भने आइतबार बहुमतले सरकारको नीति तथा कार्यक्रम पास भयो । भोलि १ बजे बजेट भाषण छ ।

त्यसअघि सहमति जुटाउने प्रयासमा सोमबार विहान तीन दलको बैठक बसेको थियो भने दिउँसो कांग्रेस पदाधिकारी बैठक बस्यो । साँझ फेरि तीन दलका नेताहरुबीच झण्डै तीन घण्टा छलफल भयो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक लगभग सहमतिमा पुगेको नेताहरुले बताएका छन् ।

बैठकपछि कानुनमन्त्री पदम गिरीले भने, ‘करिब करिब सहमति भयो । भोलि छानबिन समिति बन्छ, कार्यादेश पनि जारी हुन्छ ।’

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले पनि भोलि मंगलबार सहमति जुट्ने दाबी गरे । ‘हामी निष्कर्ष उन्मुख छौं । भोलि कार्यदल बसेर अन्तिम रुप दिन्छौं’, उनले भने ।

स्रोतका अनुसार संसदीय समितिको कार्यादेशमा पोखराको सूर्यदर्शन, चितवनको सहारा, बुटवलको सुप्रिम लगायतका सहकारीसँगै गोर्खा मिडिया नेटवर्कको नाम उल्लेख गरिनेछ ।

उपप्रधान तथा गृहमन्त्री लामिछानेको नाम वा गोर्खा मिडियामा रहँदा उनले सम्हालेको प्रबन्ध निर्देशक पद उल्लेख गरिने छैन । तर गोर्खा मिडियामा बसेर गैरकानुनी काम गर्ने व्यक्तिहरुमाथि छानबिन गर्ने व्यहोरा उल्लेख हुनेछ ।

कानुनमन्त्री गिरीले पनि संसदीय समितिको कार्यादेशमा कसैको पनि नाम उल्लेख नहुने बताए । आफूहरुले सुरुदेखि नै कुनै व्यक्तिको नाम उल्लेख गरेर संसदीय समिति बनाउन हुन्न भनेको र त्यसमा प्रमुख प्रतिपक्ष पनि लचिलो भएको भन्दै उनले भने, ‘निश्चित कम्पनीको नाम उल्लेख हुन्छ । त्यसमा कसैले अपचलन गरेको छ भने जो कोहीमाथि पनि छानबिन हुन्छ । दोषी छ भने कारबाहीको भागेदार हुनुपर्छ ।’

कार्यादेशको व्यहोरालाई भोलि विहान ११ बजे कार्यदलले अन्तिम रुप दिनेछ । कांग्रेस र एमालेका २–२ तथा, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाबाट एक-एक जना सदस्य रहने संसदीय समितिलाई तीन महिनाको समय दिइनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP