मंगलबार , बैसाख २९, २०८३

नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घैबहादुर सोडारीलाई विश्वासको मत नदिए सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । सरकार छाड्ने वा नछाड्ने भन्ने कुरा केन्द्रीय सत्ता समीकरणमा रहेका मुख्य दलहरुको व्यवहार र सुदूरपश्चिम सरकारको निरन्तरताले निर्धारण गर्ने उनले बताए ।

‘सुदूरपश्चिममा नेकपा (एमाले) ले विश्वासको मत दिन्छ भन्ने आजसम्मको हाम्रो विश्वास छ । नदिएपछि त्यसको राजनीतिक प्रतिवाद त्यही प्रकारले हुन्छ । अर्को गठबन्धन बन्नसक्छ । कुनै अनौठो कुरा होईन । त्यसैमा अल्झिएर बस्नुपर्छ भन्ने होईन । सरकार छोड्ने, नछोड्ने भन्ने कुरा केन्द्रीय सरकारसँग कस्तो व्यवहार हुँदैजान्छ त्यसमा भर पर्छ । सुदूरपश्चिममा उहाँहरुले सहयोग गर्नु भएन भने केन्द्रीय सरकारमा पनि समस्या पैदा भइहाल्छ,’– उनले भने ।

सरकारमा बसेका मुख्य घटकले एकीकृत समाजवादीसँग राम्रो व्यवहार गरेको खण्डमा आफूहरुले पनि राम्रो व्यवहार गर्ने उनको भनाइ छ । उनले अविश्वास गर्ने, अपहेलनाको वातावरण निर्माण भएमा त्यही प्रकारले राजनीतिक प्रतिवाद गर्ने बताए । आफूहरुले राजनीतिक अस्थिरताको कारक बन्न हुँदैन भनेर कतिपय कुराहरुमा असहमती हुँदा पनि वर्तमान सरकारलाई समर्थन दिएर बसिरहेको बताए ।

साथै, पछिल्लो समय एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको पनि उनले पुष्टि गरे । तर, बहुमत पुग्ने अवस्था नबनेको कारण त्यो सम्भव नभएको उनको भनाइ छ । वर्तमान सरकारले अविश्वास गर्ने, अपहेलना गर्दै गए भोलि पनि त्यो अवस्था आउनसक्ने उनले बताए ।

‘कांग्रेसले प्रधानमन्त्रीका लागि माधव कुमार नेपाललाई हामी तपाईँलाई विश्वास गर्छौं भनेको थियो । तर, बहुमत पुर्याउन सक्ने उसको परिस्थिति थिएन । यदि बहुमत पुर्यान सक्ने परिस्थिति थियो भने संयुक्त सरकारको प्रधानमन्त्रीको रुपमा माधव कुमार नेपाल धारा ७६ (२) को प्रधानमन्त्री बन्ने परिस्थिति आउँथ्यो होला । तर, त्यो अनुकूल परिस्थिति थिएन । भोलि पनि यस्तो परिस्थिति आउँदैन भन्न सकिँदैन । एउटा पार्टी विभाजन भएको कारणले अर्का समीकरण बन्दैन । यो टिकिरहन्छ भन्ने कुरा परिकल्पनामात्रै हो,’– नेपाली रेडियढो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै खतिवडाले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP