
ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले काठमाडौं उपत्यकामा अब मेट्रो रेल सञ्चालनका लागि आवश्यक तयारी सुरु गर्नुपर्ने बताएका छन् । मोटरसाइकल ल्याएर उपत्यकामा ट्राफिक जाम बढाउनुको सट्टा मेट्रो रेल सञ्चालन अबको आवश्यकता रहेको उनले बताए ।
शनिबार ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसका अवसरमा महर्जनले उपत्यकामा मेट्रोको विकल्प नरहेको भनाइ राखेका हुन् । ‘मेट्रो रेल धेरै महँगो छ भनेर पछि हट्नु पनि भएन,’ उनले भने । अन्तर्राष्ट्रिय अध्ययनअनुसार पनि ३० लाख जनसंख्या भएको ठाउँका लागि मेट्रो अपरिहार्य रहेको भन्दै उनले यसमा ढिलाइ गर्न नहुने बताए । सरकारको अनुहार हेरेर कहिल्यै सम्भव नहुने भन्दै उनले काठमाडौं र ललितपुर महानगरपालिका लगायत उपत्यकाका १८ वटै पालिकाको भूमिका यसमा हुनुपर्नेमा जोड दिए ।
मेट्रो रेल सञ्चालनका लागि विशेषगरी काठमाडौं महानगरपालिकाले प्रमुख भूमिका रहनुपर्ने उनको भनाइ थियो । ‘काठमाडौं उपत्यकामा अब मेट्रोको विकल्प छँदै छैन । मेट्रो चलाउनैपर्छ । आज निर्णय गर्न सक्यौं भने अर्को १० देखि १५ वर्षसम्ममा त्यो सकिन्छ,’ उनले भने, ‘अबको १५ वर्षपछि काठमाडौं उपत्यकाभित्रको जनसंख्या ६० लाख पुग्छ । यसको विकल्प के त ? यही मोटरसाइकल ल्याउने ? यसको निमित्त हामीले मेट्रो नल्याईकन सुखै छैन ।’