
फुड फेस्टिबल आयोजना गरिने स्थान कालिकापथमा सरसफाई गरिएको हो । सरसफाई कार्यक्रमको उदघाटन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले गरेका थिए । त्यसअवसरमा बोल्दै उनले बुटवलमा व्यवसायको प्रवद्र्धन र बिस्तारका लागि रात्रीकालीन बजार चलाउनुपर्ने बताए ।
बुटवलको अमरपथ, ट्राफिक चोक र कालिकापथ क्षेत्रमा कम्तीमा पनि रातीको ११ बजेसम्म व्यवसाय सञ्चालन गर्नुपर्ने र यसो भयो भने मात्रै व्यवसाय चलायमान हुने र बजार बिस्तार हुने बताए ।
सरसफाई कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सात्रिादेवी अर्याल, होटल व्यवसायी संघका पदाधिकारी एवं सदस्यहरु, विभिन्न संघसंस्था एवं स्थानीयको सहभागिता थियो ।
खस्कँदै गएको पर्यटन व्यवसाय माथि उकास्ने लक्ष्यसहित बुटवलमा फुड फेस्टिभल (सडक खाना महोत्सव) गर्न लागिएको संघका अध्यक्ष रामप्रसाद गौतमले जानकारी दिए । होटल व्यवसायी संघ रुपन्देहीले यही पुस १५, १६ र १७ गते अंग्रेजी नयाँ वर्षको अवसर पारेर फेस्टिभल गर्न लागेको हो । पर्यटनको सम्भावनालाई पहिचान गरी लुम्बिनी प्रदेशमा धेरैभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन फुड फेस्टिभलले सघाउ पु¥याउने संघका महासचिव माधवकुमार खनालले बताए ।
फेस्टिभलमा विभिन्न जातीय परिकार प्रदर्शनीमा राखिनेछ । तीन दिनसम्म सञ्चालन हुने फेस्टिभलमा करिब एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । करिब एकसय वटा स्टल फुड फेस्टिभलमा रहने छन् । बुटवलको नयाँ बसपार्कदेखि तीनकुनेसम्म कालिकापथमा सडक खाना महोत्सव हुने भएको हो ।
संघका अध्यक्ष गौतमका अनुसार महोत्सवबारे आवश्यक तयारी र प्रकृया सुरु गरिएको छ । हरेक बर्षहरुमा गर्दै आएको सडक खाना महोत्सवलाइ यसपटक अझै ब्यवस्थित र उत्कृष्ट बनाउने योजना समेत तय भएको उनले बताए । खानाका परिकार, संस्कृति, स्थानीय डिजे ब्याण्डदेखि राष्ट्रिय कलाकारहरूको प्रस्तुतिमा साँस्कृतिक कार्यक्रम समेत गरिने संघका महासचिव माधवकुमार खनालले बताए ।
महोत्सव सम्पन्न गर्न २५ लाख लागत लाग्ने अनुमान गरिएको छ । महोत्सवको आन्तरिक तयारी तीब्र पारिएको र १०१ सदस्यीय मूल आयोजक समिति र २३ वटा उपसमिति निर्माण गरिएको होटल तथा रेष्टुरेन्ट ब्यबसायी संघ रूपन्देहीका कार्यालय प्रमुख टीकाराम ज्ञवालीले बताए ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले २०७५ सालमा पहिलोपटक र २०७६ सालमा दोस्रोपटक बुटवलमा सडक खाना महोत्सव आयोजना गरेको थियो । स्थलको अभाव र कोरोना महामारीका कारण विगत दुई वर्षदेखि बुटवलमा सडक खाना महोत्सव हुन सकेको थिएन । जसका कारण यस क्षेत्रको पर्यटन व्यवसाय फस्टाउनमा बाधा अडचन थपिएको छ । होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण पाटोको रूपमा लिँदै आएको सडक खाना महोत्सव विगत २ वर्षदेखि सञ्चालन गर्नका लागि कोरोना नै वाधक बनेको बताएको छ ।