मंगलबार , बैसाख २९, २०८३

बैतडीको पाटनका शिक्षक धनबहादुर विष्टको, श्रीमतीलाई अँगालो हालेको देखेपछि हत्या भएको खुलेको छ। पुस २ गते बैतडीको पाटन नगरपालिका–६ स्थित कृष्ण माविको छात्रवासनजिकै रम्बासको झाँडीमा सोही विद्यालयका शिक्षक ५५ वर्षीय धनबहादुर विष्टको शव भेटिएको थियो।

बैतडीको सुर्नया गाउँपालिका–२ घरभई पाटन नगरपालिका–६ स्थित कृष्ण माविमा अध्यापन गराउँदै आएका शिक्षक बिष्टलाई सोही विद्यालयकी छात्रा र उनका श्रीमान्ले कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीले बिहीबार जिल्लाको पुर्चौडी नगरपालिका–३ न्वादेउ घर भई कृष्ण मावि मै कम्प्युटर डिप्लोमा चौथो सेमेस्टरमा अध्ययनरत २२ वर्षीया विमला बोहरा र उनका श्रीमान् २५ वर्षीय प्रजा बोहरा हत्यामा संलग्न रहेको भन्दै सार्वजनिक गरेको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले दिएको जानकारीअनुसार पुस १ गते कृष्ण माविका शिक्षकहरूको पिकनिक थियो। एकजना नयाँ शिक्षकको नियुक्तिको खुसियालीमा उनीहरू विद्युत् पोखरी आसपासमा पिकनिक गएका थिए। सो पिकनिकमा मृतक विष्ट पनि थिए।

शिक्षक विष्टको घर सुर्नया गाउँपालिकामा भएकाले उनी विद्यालयको छात्रवासको दोस्रो तल्लाको सरकारी आवासमा बस्दै आएका थिए। हत्यामा संलग्न रहेको आरोप लागेकी विमला बोहरा छात्रवासमा बस्दै आएकी थिइन्। पिकनिक खाएर शिक्षक विष्ट ५ बजे आवासमा पुगिसकेका थिए।

त्यही दिन विमलाका श्रीमान् प्रजा बोहरा छात्रवासमा आएर बसेका थिए। उनी बैतडीकै पुर्चौंडी नगरपालिकामा अहेब पदमा कार्यरत छन्। ‘रातिको साढे ९ बजेको समयमा विमला शौचालय जाने भन्दै कोठा बाहिर आइन्। विमलाले धेरै बेरसम्म कोठामा नफर्केपछि श्रीमान् प्रजा बोहरा उनलाई खोज्न बाहिर निस्के। कोठाकै बाहिर तिरको सिँढीमा उनले शिक्षक बोहराले आफ्नो श्रीमतीलाई अँगालमोमा हालेको देखेपछि घटना भएको हो’, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले भने।

‘बोहराले पहिला मुक्का र त्यसपछि कडा वस्तुले हानेर शिक्षक विष्टको हत्या गरे। त्यसपछि दुवै जनाले बोकेर उनलाई नजिकैको रम्बास (जुटजस्तै डोरी बनाउने बिरुवा)को झाँडीमा फाले, दुवै जनाबीच कसैले सोधेमा, प्रजा बोहरा एक दिनपछि मात्रै छात्रवासमा आएको भनी बताउने सहमति भएर घटना लुकाउने सहमति भयो’, अभियुक्तहरूले दिएको प्रारम्भिक बयान उदृध गर्दै प्रहरी निरीक्षक खत्रीले भने।

पुस ३ गते पक्राउ परेकी बिमलाले बिहीबार मात्रै घटना सकारेकी हुन्। ‘हामीले पक्राउ गर्दै सोधपुछ गर्दै छोडिरहेका थियौं, २०÷३० जनासँग सोधपुछ भइसेकेको थियो, तर अन्तमा उनले आफैंले स्वीकार गरेकी छिन्’, प्रहरी निरीक्षक खत्रीले भने। प्रहरीले विमला र शिक्षको त्यो दिनको भेट पहिलो थियो, वा उनीहरूबीचमा यसअघिदेखि नै कुनै सम्बन्ध थियो भन्ने कुराको अनुसन्धान भइरहेको जनाएको छ।

अभियुक्त दुवैले हत्या गरेको स्वीकार गरेको र अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

अभियुक्त दम्पतीमाथि मुलुकी अपराध संहिता २०७४ को परिक्षेद १२ दफा १७७ बमोजिम ज्यानसम्बन्धी कसूरअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शिक्षक बिष्टका आफन्त र विद्यार्थीहरूले हत्या भएको भन्दै दिनैपिच्छे आन्दोलन गरिरहेका थिए। शिक्षक संघसंगठन र विद्यार्थीहरूले राजमार्ग अबरुद्ध पार्नुका साथै विद्यालयसमेत बन्द रहेका थिए। अभियुक्त सार्वजनिक गरिएसँगै आफन्तले शव बुझेर दाहसंस्कार गरेका छन् भने विद्यालय पनि सुचारु भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP