
नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव र माओवादी केन्द्रका रामकुमार राईले आज प्रतिनिधिसभा सदस्यको शपथ लिँदैछन्।
बिहीबार सपथग्रहण गर्न छुटेका उनीहरूले शुक्रबार बिहान साढे ११ बजे संसद भवन नयाँ बानेश्वरमा ज्येष्ठ सदस्य पशुपति शमशेर राणासमक्ष शपथ लिन लागेका हुन्।
यादव नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर सर्लाही २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् भने राई खोटाङबाट निर्वाचित माओवादी केन्द्रका सांसद हुन्।
संसद सचिवालयका अनुसार उपत्यका बाहिर रहेका यादव र राई दुवै मौसम प्रतिकूलताका कारण हवाइ उडान ढिलो हुँदा बिहिबारको सपथग्रहण समारोहमा सहभागी हुन नसकेका हुन्।
बिहीबार प्रतिनिधिसभाका २७५ मध्ये ४ सदस्य सपथग्रहण गरेका थिएनन्।
नेकपा (एकीकृत समाजवादी) का प्रेमबहादुर आले र नेपाली कांग्रेसकी माया राई पनि सपथग्रहण समारोहमा छुटेका थिए।
आले पारिवारिक शोकमा छन् भने राई सुत्केरी भएकाले अस्पतालमा भर्ना भएकी छन्।
उनीहरूले आफ्नो अनुकूलतामा सपथ लिने संसद सचिवालयले जनाएको छ।