
यो वर्ष धान उत्पादन बढेको छ । नयाँ जातको बिउबिजन, नयाँ प्रविधिको उपयोगसँगै मौसमले पनि साथ दिएकाले गत वर्षको तुलनामा धान उत्पादन बढेको कृषि मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयको प्रारम्भिक तथ्याङ्क अनुसार सबै प्रदेशमा उत्पादन बढेको देखाउँछ ।
‘यसपालि धान राम्रै फलेको छ, उत्पादन बढेको छ,’ मन्त्रालयका वरिष्ठ तथ्याङक अधिकृत रामकृष्ण रेग्मीले भने, ‘प्रारम्भिक तथ्याङ्क अनुसार सबै प्रदेशमा बढेको देखिन्छ । समग्रमा कति बढ्यो भन्नेबारे अध्ययन/विश्लेषण गरिरहेका छौँ, तथ्याङ्क एक/दुई दिनमै सार्वजनिक गर्छाैं ।’
गत आर्थिक वर्ष २०७८/७९ मा १४ लाख ७७ हजार ३ सय ७८ हेक्टरमा धान रोपाई भएको थियो भने ५१ लाख ३० हजार ६ सय २५ मेट्रिक टन उत्पादन भएको थियो । धान उत्पादन अघिल्लो आर्थिक वर्ष २०७७/७८को तुलनामा ८.७४ प्रतिशतले कमी भएको थियो । ‘गत वर्ष असोज ३१ र कात्तिक १/२ गतेको बेमौसमी वर्षाले बाली सखाप पार्यो । मुलुकभरका १ लाख ११ हजार ६ सय ९ हेक्टरमा ४ लाख २४ हजार १ सय १३ मेट्रिक टन धान बाली क्षति पुग्यो,’ रेग्मीले भने, ‘यस वर्ष बर्दिया, लुम्बिनीमा केही नोक्सान देखिए पनि औसत उत्पादन राम्रो छ ।’ रेग्मीका अनुसार उत्पादन बढ्नुको पहिलो कारण उन्नत बिउबिजन हो । ‘अधिकांश किसानले नयाँ जातका धान लगाएका छन्, जसले गर्दा धानको उत्पादकत्व समेत बढेको छ’ उनले भने ।
दोस्रो कारण प्रविधि मैत्री रोपाई रहेको उनले बताए । किसानहरुले मेसिनबाट रोपाई गर्ने, काट्न पनि मेसिन प्रयोग गर्न थालेकाले पनि केही सुधार आएको रेग्मीको भनाइ छ । रासायनिक मलको हकमा खुल्ला सिमाका कारण किसानले अप्ठ्यारोका बाबजुत आफै व्यवस्था गरेका कारण उत्पादन केही बढेको रेग्मीले बताए ।