मंगलबार , बैसाख २९, २०८३

प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट रङ्गशाला निर्माणमा भइरहेको ढिलाइबारे गम्भीर चासो राखेका छन् । रङ्गशाला अन्तरराष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडानकार्य तोकिएको समयमा सम्पन्न हुन नसकेको विषयमा आज सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीलाई डाकेर उनले छलफल गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले काम सुरु भए पनि तोकिएको समयमा काम सम्पन्न हुन नसक्ने स्थितिप्रति गम्भीर चिन्ता व्यक्त गरे । छलफलमा सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उक्त निर्माणकार्यको कार्यान्वयन निकाय सङ्घीय सचिवालय तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कण्ठसहित सङ्लग्न निर्माण व्यवसायी सहभागी थिए ।

प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रूपमा तीन सय दिनभित्र उक्त क्रिकेट मैदानमा अन्तरराष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडान गर्ने घोषणा गरेका थिए । उक्त समयावधि यही वैशाख २४ गते सकिँदैछ । ती दुई कामका लागि फरक फरक ठेकेदार कम्पनीसँग क्रमशः गत पुस १९ र २२ गते सम्झौता भएको थियो ।

प्रधानमन्त्री ओलीले के कति कारणले समयमा काम हुन सकेन र अब कति दिनमा गुणस्तरीय रूपमा काम पूरा हुन्छ भन्ने यकिन गर्न र आगामी दुई महिनाभित्र सम्पन्न गर्न निर्देशन दिए । मन्त्रालयका सचिव, कार्यालयका प्रमुख र निर्माण व्यवसायीले सम्बन्धित निकायबीच समन्वय गर्न समय लागेकाले बोलपत्र आव्हान हुन ढिलाइ भएको, प्राविधिक कारणले डिजाइनमा सामान्य परिवर्तन गर्नुपरेको, वर्षाले केही दिन काममा अवरोध भएको, प्रतीत पत्र अर्थात् एलसी खोल्ने प्रक्रियामा ढिलाइ जस्ता कारणले तोकिएको अवधिमा काम हुन नसकेको बताए ।

अबको एक महिनामा काम सक्ने उनीहरूले प्रतिबद्धता व्यक्त गरे । छलफलमा प्यारापिटतर्फ वित्तीय प्रगति ४५ दशमलव १९ र भौतिक प्रगति ५५ प्रतिशत तथा फ्लडलाइटतर्फ वित्तीय प्रगति २३ दशमलव ८१ र भौतिकतर्फ ३५ प्रतिशत प्रगति भएको प्रधानमन्त्री ओलीलाई जानकारी गराइयो । प्यारापिटका लागि ४९ करोड २५ लाख ६७ हजार ३०२ र फ्लडलाइटका लागि ४७ करोड ३७ लाख ६८ हजार ७७ मा सम्झौता गरिएको थियो । छलफलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP