मंगलबार , असार १६, २०८३

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारले आफ्नै प्रतिबद्धता अनुसार काम गर्न नसकेको बताएका छन् ।

सुशासन दिने, सार्वजनिक सेवा प्रवाहमा चुस्तता ल्याउने, संविधान कार्यान्वयन गर्ने लगायतका प्रतिबद्धता जनाएर संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले सरकार बनाएको उनले स्मरण गरे । तर, त्यसअनुसार काम गर्न नसकेको भनेर उनले आलोचना गरे ।

त्यसक्रममा माओवादी सांसद सापकोटाले सरकारले सुरु देखि नै नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई दुःख दिएको बताए । ‘आएका दिनदेखि कुलमानजीलाई झम्टनुभयो । हुँदाहुँदा त्यसको पराकाष्ठा त अहिले आफ्नै मन्त्रीलाई समेत बर्खास्त गर्नुभयो’, सांसद सापकोटाले भने ।

सरकारको यस्तो व्यवहार बोल्न नपाइने निरंकुश प्रवृति रहेको भनेर आलोचना गरे । ‘बोल्न नपाइने निरकुशता जे छ तपाईंहरू (सत्तारुढ दलहरू)सँग । तपाईंहरू एक पछि अर्को मनलाग्दी गर्ने, कानुन मिच्ने, संविधान मिच्ने, जथाभावी गर्ने यो सबै कुराको हामीले ठीक छ भनिदिनुपर्ने ?’ सापकोटाको प्रश्न छ ।

माओवादी सांसद सापकोटाले यी प्रश्न गरिरहँदा नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम)ले टेबुल ठोकिरहेका थिए । सांसद् तामाङ हालै बर्खास्तीमा परेका निवर्तमान ऊर्जा जलस्रोत तथा सिंचाइ राज्यमन्त्री हुन् ।

माओवादी सांसद सापकोटाले सरकारले आफैंले गरेको प्रतिबद्धता अनुसार काम गरे प्रश्न गर्नेहरू स्वतः कम भएर जाने सुझाए । ‘तपाईंहरु खुरु खुरु संविधान संशोधन गर्ने, राष्ट्रलाई अरु डेलिभरी दिन्छौं भनेर आउनुभएको हो नि !’ सापकोटाले अगाडि प्रश्न गरे, ‘भटाभट हाम्रो मुखमा बिर्को लाग्नेगरी काम गर्नुस् न के ले रोकेको छ तपाईंहरूलाई ?’

प्रतिपक्षको काम नै गलत हुन लागे खबरदारी गर्ने रहेको उनले बताए । प्रतिपक्षले आफ्नो भूमिका निर्वाह गर्दा अनावश्यक प्रश्न गरेर पन्छिने प्रयास नगर्न उनले आग्रह गरे ।

माओवादी सांसद सापकोटा भन्दा अगाडि बोलेका एमालेका सांसद पदम गिरीले शिक्षकको आन्दोलन उक्साउन प्रतिपक्षीले भूमिका खेलेको आरोप लगाएका थिए ।

जवाफमा माओवादी सांसद सापकोटाले शिक्षकले विगतमा भएका सहमति कार्यान्वयन र शिक्षा ऐन मागेर आन्दोलन गरेको बताए । यो विषयलाई प्रतिपक्षसँग जोडेर अनावश्यक आरोप लगाउनु भन्दा समस्या समाधान गर्नेतिर ख्याल गर्न उनको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP