
पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८२ को शुभकामना सन्देश सार्वजनिक गरेका छन् । आज (आइतबार) भिडिओ सन्देश सार्वजनि गर्दै उनले ‘नयाँ बर्षले नयाँ आशा, उमंग र उत्साह ल्याओस्, अनि नेपालीको सुनौलो भविश्यको सुनिश्चिता होस्’ भनी शुभकामना व्यक्त गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्रले नेपाली–नेपालीबीच द्वन्द नहोस्, परस्पर अविश्वास र हिंसाको दुःखद मनोस्थिति नबनोस् भन्ने कामनासमेत गरेका छन् । उनले देशवासीहरु कुनै पनि नाम र निहुँमा धुर्विकृत नबनून् भन्नेतर्फ आफू सदैव सचेत र संवेदनशील रहेको पनि बताएका छन् । नेपालीको एकतामा नै नेपालको भविश्य निहित रहेको भन्दै उनले यही वास्तविकतालाई आत्मबोध गर्नुपर्ने धारणा राखेका छन् ।
साथै, आफ्नो आह्वान कसैको निजी स्वार्थपूर्ति, कुनै खालको सैद्धान्तिकवाद वा विचारको निम्ति नरहेको पनि उनले प्रष्ट पारेका छन् । राष्ट्रको स्वाधीनता, समग्र जनताको सम्प्रभुता तथा नेपाल र नेपालीको सुखमय प्रतिष्ठाको आफ्नो आह्वान गरेको उनले बताएका छन् । उनले नेपाललाई आफ्नै प्रकारको अग्रणी राष्ट्र बनाउन सकिने बताएका छन् । संसार धेरै अगाडि बढिसक्दा पनि नेपाल भने यो ा त्यो वादको चक्रव्यूमा फसिरहेको उनको टिप्पणी छ ।
‘संसार धेरै अघि बढीसक्यो तर हामी यो वा त्यो वादको चक्रव्यूहमा फसेका छौं । नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ, हाम्रा कदम चल्नुपर्छ । हरेक समस्याको समाधान सम्वाद, सहमति, समन्वय र सहकार्यबाट हुनसक्छ,’– उनले भनेका छन् ।